सिंगापुरमा उपचार गरेर प्रम ओली स्वदेश फिर्ता, विमानस्थलमा भएन पत्रकार सम्मेलन 

सिंगापुरमा उपचार गरेर प्रम ओली स्वदेश फिर्ता, विमानस्थलमा भएन पत्रकार सम्मेलन 

काठमाण्डौ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर सोमबार स्वेदेश फर्किएका छन् ।

उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली यही साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । 

उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने कुरा गर्न चाहेनन् । विदेश भ्रमणबाट फर्कँदा पत्रकार सम्मेलन गर्ने गरेका प्रधानमन्त्री ओलीले यस पटक भने पत्रकार सम्मेलन नगरी बाहिरिए । स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए ।