आज बकर इद, प्रदेश २ र ५ मा सार्वजनिक बिदा

आज बकर इद, प्रदेश २ र ५ मा सार्वजनिक बिदा

मुस्लिम धर्माबलम्बीहरुको ठूलो चाड बकर इद आज भब्य रुपले मनाउँदै छन् । बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाउने गरिन्छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । बकरइदलाई बलिदानीको रुपमा लिने गरिन्छ । मुस्लिम पात्रो अनुसार बकर इद  जुल हिज्जाको दशौँ दिनमा पर्छ ।

मुस्लिम जनविश्वास अनुसार हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धर्मको अनिवार्य जस्तै छ । बकर इदका अवसरमा केन्द्रिय सरकारबाट विदा नभएतापनि प्रदेश २ र ५ भने प्रदेशस्तरीय सार्वजनिक बिदा भएको छ ।