अन्त्येष्टिका लागि घाटमा लगिएको बच्चा चलेपछि...

अन्त्येष्टिका लागि घाटमा लगिएको बच्चा चलेपछि...

चितवन, २६ साउन । अस्पतालमा एक महिलाले जुम्ल्याहा शिशु जन्माइन् । जन्मेका शिशुमध्ये एउटाको मृत्यु भएको र अर्को जीवित रहेको अवस्थामा अस्पतालले घर पठायो । अस्पतालबाट घरपुगेपछि जीवित रहेको शिशुको पनि मृत्यु भएको भनि अन्त्येष्टिका लागि देवघाट लगियो ।

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चलमलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले पोस्टमर्टमका लागि भरतपुर अस्पताल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । गर्भ रहेको सात महिनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख दानबहादुर मल्लले जन्मिएका शिशुमध्ये एक जनाको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको तर घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भन्दै अन्त्येष्टिका लागि देवघाट लगिएको बताए । 

अन्त्येष्टिको लागि खाल्टोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको जानकारी दिए । घटना शंकास्पद देखिएपछि उत्खनन गरी अर्को शिशुको शव पनि पोस्टमार्टमका लागि ल्याइएको बताए ।

जन्मिएका दुईमध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको हो भने ८ सय ग्रामको शिशु जीवित रहेको मल्लले बताए । बिहीबार बच्चा जन्मिएका थिए भने अन्त्येष्टिको घटना शुक्रबार भएको हो ।

अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जानकारी दिँदै उनले घटना शंकास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताए ।