सबैलाई समेटिएको छ, नियोजित प्रचार गरियो – लक्ष्मण जोशी, सह इन्चार्ज, सुदूरपश्चिम प्रदेश

सबैलाई समेटिएको छ, नियोजित प्रचार गरियो – लक्ष्मण जोशी, सह इन्चार्ज, सुदूरपश्चिम प्रदेश

 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रदेश नं ७ को पार्टी एकीकरण प्रक्रियामा नसमेटिएको भन्दै गरिएको प्रचारबाजीप्रति प्रदेश पार्टी सह इन्चार्ज लक्ष्मण जोशी ‘सुरज’ले आपत्ती जनाएका छन् ।

पार्टीका केन्द्रीय सदस्य खगराज भट्टले राजीनामा दिएको झूठो तथ्यसहित समाचार सार्वजनिक भएपछि सहइन्चार्ज जोशीले गलत नियतले प्रकाशित समाचारबाट भ्रमित नहुन समेत पार्टी पंक्तिमा अपील गरेका छन् ।

“पार्टी एकताका क्रममा कतिपय पूर्व माओवादीका नेता तथा कार्यकर्ता छुटेको” भन्दै त्यसका लागि कमरेड लेखराज भट्टलाई जोड्ने काम भएको छ ।”

 जोशीले भने, “पार्टी एकता अझै नटुंगिएको अवस्थामा को परे या परेनन भन्ने विषय उछाल्ने काम केही अराजक तत्वहरुले गरेका छन् । यो भ्रममा कोही नपर्न अनुरोध गर्दछु ।”

समयबद्ध साप्ताहिकमा  “खगराज भट्टले यसकारण दिए राजीनामा” भन्ने शीर्षकमा सुदूरपश्चिमका नौ वटै जिल्लामा कतिपय नेता तथा कार्यकर्ता छुटेको भन्दै समाचार लेखे पनि त्यसमा उल्लेख भएका तथ्यहरु सत्य नभएको जोशीले बताए ।

केही व्यक्तिले आफू प्रदेश र जिल्ला कमिटिमा नपरेपछि असन्तुष्टहरुको भेला बोलाएको र पार्टी एकता नटुंगिदै गुटको भेला गरेको जोशीले बताए ।

असन्तुष्ट समूहको भेलामा प्रदेश अध्यक्ष कर्ण थापासमेत सहभागी भएपछि यसको व्यापक बिरोध भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा साविक माओवादी केन्द्रका पाँच सय जना महाधिवेशन आयोजक समिति सदस्य रहेका थिए । एमालेसँग पार्टी एकता नहुँदै नेकपा संयुक्त, माले, नयाँ शक्ति, जनमोर्चालगायत कैयन दलबाट समेत कतिपय नेताहरुले प्रवेस गरेपछि एमालेसँगको एकतामा चुनौती थपिएको थियो । 

प्रदेश कमिटीमा ८३ जना सदस्य माओवादी केन्द्रको भागमा परेको तर ६ सय बढीलाई ८३ मा समेटनु पर्ने बाध्यता आइपरेको थियो । 

“हामीले हिजो महाधिवेशन आयोजक समितिमा रहेका र अन्य समूहबाट आएका साथीहरुमध्येबाट ८३ जना छनौट गरेका हौं ।” जोशीले भने, “प्रदेशमा नपरेकालाई पार्टीको केन्द्रीय निकायहरु जेष्ठ कम्युनिष्ट मञ्च, परिषद, केन्द्रीय आयोगहरु, सल्लाहकार परिषद तथा केन्द्रीय विभागमा सिफारिस गरिएको छ । केन्द्रले यी सबै संरचनाको टुंगो नलगाउँदासम्म यो पर्यो त्यो परेन भन्नु सरासर अराजकता हो ।” 

अहिले केही अराजकले यो विषयको गम्भीरता नबुझेर धमिलो पानीमा माछा मार्न खोजेको बताउँदै जोशीले जिल्ला कमिटिहरुमा दुबै पार्टीको जिल्ला कमिटि नेतृत्वले गरेको सिफारिसलाई नै प्रदेश पदाधिकारीले अनुमोदन गरेको उनले बताए । यो कुरा बुझेर पनि अमुक व्यक्ति या नेताको नाम जोडेर भ्रम छर्नु अनैतिक र बेइमानी भएको बताए । 

नेतृत्वले तलदेखि माथिसम्म छलफल गरेर सबै सक्रिय र पार्टीमा योगदान पुर्याएका साथीहरुको मूल्यांकन गर्दैे एकता प्रक्रिया अघि बढाएको छ ।” उनको भनाई छ, “तर संगठनमा अराजकता मच्चाउने, गुटबन्दी गर्ने र एकता प्रक्रियामा बार्गेनिङमा उत्रिन खोज्ने केही व्यक्तिहरुले गलत किसिमले तथ्यलाई मोड्न खोजेका छन् ।”

पार्टी एकताको प्रक्रियामैं रहेकोले पार्टीमा काम गर्दै आएका कुनै पनि साथी जिम्मेवारीविहीन हुनुपर्ने अवस्था नआउने जोशीले बताए । “तर आफ्नै खुट्टाको भर नहुनेलाई के गर्ने भन्ने विषय पार्टी नेतृत्वको हो,” उनले थपे ।

समाचारमा नेता लेखराज भट्टले खगराज भट्टमाथि अन्याय गरिएको आशय व्यक्त गरिए पनि उक्त तथ्य पूरै पूर्वाग्रही रहेको प्रदेश सचिव नेप बहादुर चौधरीले बताए । यसै साता असन्तुष्ट भनिएका खगराज भट्टलगायतका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेपछि यसको खुलासा भएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले ‘लेखराज भट्टले खगराज भट्टलाई सह संयोजकको भूमिका दिन आग्रह गरेको रहस्योद्घाटन गरेका थिए ।  जबकि असन्तुष्ट तप्काले भने लेखराज भट्टले अन्याय गरेको आरोप लगाउँदै आएका छन् । 

उक्त भेटमा अध्यक्षले व्यक्तिगत विषयलाई संगठनसँग नजोड्न र गुटबन्दीमा नउत्रिई एक ढिक्का भएर वैचारिक संघर्षमा जुटन निर्देशन दिएका थिए । 

कोही छुटेको अवस्थामा पार्टीभित्रै त्यसबारेमा छलफल चलाएर त्यसलाई हल गर्न सकिने विधि र पद्दति हुँदाहुँदै पनि पार्टीकै नेताहरुले गुटबन्दी गर्दै भ्रम सिर्जना गर्नु अनुशासनहीन काम भएको उनको जिकिर छ ।

स्मरणीय के छ भने तत्कालीन माओवादीभित्र बाबुराम भट्टराई समूहमा रहँदै आएका खगराज भट्ट पार्टी विभाजन अघि नेपाली कांग्रेसमा जाने निधो गरेपछि व्यापक आलोचना भएको चर्चा सुदूरपश्चिममा चलेको थियो । अस्थिर चरित्र भएपछि अध्यक्ष प्रचण्डसँगको भेटमा समेत अध्यक्षले ‘विचलन’ले समस्या निम्त्याएको भन्दै पार्टी र राजनीतिप्रति प्रतिबद्ध रहन खगराज भट्टलाई निर्देशन दिएको भेटमा सहभागी एकजनाले बताए । 

“तपाईका स्टेपहरु दायाँ बायाँ भएर समस्या देखिएको हो । तपाईको आफ्नै अडान भएन । यो सच्याउनु पर्यो । पार्टीले तपाईमाथि अन्याय गरेको छैन ।” अध्यक्षले भनेको उनले बताए ।

श्रोतका अनुसार, नेता खगराज भट्टलाई डडेल्धुराको इन्चार्ज बनाउने पार्टीले निर्णय गरेकोमा यसको सबैभन्दा बढी बिरोध नेता लेखराज भट्ट र भीम रावलले गरेका थिए ।

पछिल्लो समयमा सुदूरपश्चिममा भीम रावलका विरुद्ध कस्सिएर लागेका प्रदेश अध्यक्ष कर्ण थापा र खगराज भट्टलगायतका असन्तुष्ट पूर्व माओवादीबीच बाक्लो भेटघाट हुन थालेको छ । श्रोतका अनुसार, थापा आफैले प्रदेश र जिल्ला कमिटीको सूची घोषणा गरे पनि कन्चनपुरका असन्तुष्टसँग महेन्द्रनगरमा भेला समेत गरेका थिए । 

सह इन्चार्ज जोशीले भने– पार्टीको विधि र पद्दति नमान्ने, क्षेत्रमा जान नचाहने, जिम्मेवारी बहन नगर्ने तर फेसबुक र पत्रपत्रिकामा हल्ला गरेर पद खोज्ने ? केही असन्तुष्टि भए पार्टीमा विधिसम्मत तरिकाले राख्ने कि नराख्ने ?