सांसद गजेन्द्र महतले 'श्री ३' को संज्ञा दिएपछि मन्त्री वर्षमान पुनको उत्तरः जुम्लामा २ वर्षभित्र प्रसारण लाइन बनिसक्छ

सांसद गजेन्द्र महतले 'श्री ३' को संज्ञा दिएपछि मन्त्री वर्षमान पुनको उत्तरः जुम्लामा २ वर्षभित्र प्रसारण लाइन बनिसक्छ


काठमाण्डौ, २३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युत्को वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले जुम्लामा विद्युत् आपूर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भएलगत्तै वैकल्पिक प्रयास सुरु गरिएको बताए । मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको ३ सय केभीए क्षमताको डिजेल जेनेरेटर पठाउने गरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताए । 

जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका थिए । उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेका थिए ।

मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए । जुम्लामा ३३ केभी प्रसारण लाइनका लागि यसै वर्ष दैलेख–जुम्ला ट्रान्समिसन लाइनका लागि टेण्डर भएर छनौट पनि भैसकेको भन्दै उनले २ वर्षभित्र प्रसारण लाइन बनिसक्ने बताए ।