विवादको सिङ : स्कूलिङ !

विवादको सिङ : स्कूलिङ !

साइँला भाइ

डबल नेकपामा विवादको जड स्कूल विभाग भनेर भँगेरा टाउके अक्षरमा पत्रिका भरे पनि त्यसको छेउ टुप्पो नभेटेको यो सुलसुलेले थाहा (रुपचन्द्र विष्टको) लागेको छ । वास्तवमा नेकपाको विवादको जरो, सिङ, जुरो, पुच्छर आजसम्म कसैले अत्तोपत्ता पाएनन् । तर यो सुलसुलेले भने शल्यक्रिया गरेर नै विवादको सिङ, जरो, जुरो पुच्छर पत्ता लगाएको छ । जो यस प्रकार छ :

विवाद नं. १ जरो :

पहिलो विवादको जरो भनेको स्कूल विभागको जरो सिंह दरबारदेखि गाउँ देहातसम्म पुग्ने भएकोले सबैको आँखाको तारो भएको हो । 

विवाद नं २ जुरो :

दोस्रो नं. विवादमा आउनु पर्ने प्रमुख कारण यसको जुरोले गर्दा भएको हो । सकारमा मन्त्री, पदमा मेयर, अध्यक्ष वा पार्टीमा कुनै पुच्छरे चौवन्नी सदस्यमात्र रहे पनि स्कूल विभागमा यसो खुट्टो पसार्न पाए जोरीपरिका अगाडि धाक धक्कु लगाउन पाइने । गोरुलाई स्वाउँदिलो जुरोले ह्याण्डसम देखाए झैं देखाउने भएकोले यसमा सबैको आँखा परेर विवाद देखिएको हो । कहाँ के गर्दैछस केटा भन्दा पार्टीको स्कूल विभागमा छु भन्दा सबैले जिब्रो टोक्छन । यसै भएर पनि सबैको नेत्र तिननेत्र भएको हो ।

विवाद नं ३ पुच्छर :

विवादको ३ नंम्बर कारण यसको पुच्छर हो । स्कूल विभागको पुच्छर कुनै सेती घोडिको भन्दा कम हुन्न । जसरी घोडा, घोडिको मोलतोल यसको पुच्छरबाट गरिन्छ । त्यसरी नै कार्जेकर्ता पनि स्कूल विभागमा रहेको भनेपछि त्यसको योग्यताको मापन नै अर्कै तौरतरिकाबाट हुने गर्छ । स्कूल विभागको पुच्छरे, चौहन्नी सदस्य नै किन नहोस त्यसको मोल अलग्गै हुन्छ । यस्तो पुच्छर जिउमा लाग्ने दाग, किरा फट्याङ्ग्रा, भिँगा हम्काउन सहज हुन्छ । 

अन्तिम विवाद नं. ४ : सिङ

अन्तिम र ठोस विवाद भने यसको सिङले गर्दा भएको हो । यो सिङ नभएको भए सायदै यसमा कसैको आँखा पर्दथ्यो । स्कूल विभागको सिङ यति गतिलो छ कि यसले रणनीति, कार्यनीति सबै परिवर्तन गरिदिन सक्छ । अर्थात सिङले उधिनेर यताको उता पारिदिन सक्छ । वास्तवमा यो सिङले स्कूल विभागलाई स्कूलिङ विभागमा परिवर्तन गर्नेसम्म ल्याकत राख्छ । यसको चुरो विवाद यहि हो । स्कूल र स्कूलिङमा धेरै भिन्नता छ । स्कूलमा ज्ञानगिरी सिकाइन्छ । स्कूलिङमा डानगिरी । आजको डिजिटल जुगमा ज्ञानगिरीको महत्व छैन । आवश्यकता छ त केवल डानगिरी । यसर्थ डानगिरी उत्पादनका लागि नेताहरु मरिहत्ते गर्छन । पढ्नेलाई सुनको माला । ज्ञान लिनेलाई हिराको माला । यो कथाको चुरो पढेर साम्यवादको मार्ग प्रशस्ता होला ? समयबद्ध साप्ताहिकबाट