यसकारण भैरहेछ दिनहुँ सुनको भाउमा रेकर्ड ब्रेक

यसकारण भैरहेछ दिनहुँ सुनको भाउमा रेकर्ड ब्रेक

नेपालको बजारमा सुनको भाउ उच्च रहेको छ । आज सुनको भाउ तोलाको रु ६९ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंले जनाएको छ । 

सुनको मूल्य बढ्नुमा नेपालको आन्तरिक कारण भने होइन । सुनको मूल्य विशेषत अन्तराष्ट्रिय बजारमा भैरहेको घटबडले गर्दा प्रभावित हुने नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन सुनार बताउँछन् । 

सुनको भाउले यसरी रेकर्ड ब्रेक गर्दैछ (चार्टमा हेर्नुहोस्)

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउनुमा मुख्यतः यि कारणहरु रहेको अध्यक्ष मोहन सुनारले बताए । 

  • सुनको मूल्य उच्च हुनुमा फेडेरल बैंकको निक्षेपमा ०.२५ प्रतिशत ब्याज घट्दा ब्याजदर सस्तो हुँदा सुनको मूल्य प्रभावित भएको हो । 
  • यसको साथै अमेरिका र चीन विच भैरहेको ब्यापार युद्धको वार्तालाप निकर्षविहिन भएको भन्ने खुलासा भएसँगै र आगामी बार्ता सेप्टेम्बरमा मात्र हुने र उक्त बार्ताबाट पनि ब्यापार युद्ध मत्थर हुने नहुने निश्चित भएकोले सुनको भाउ अन्तराष्ट्रिय बजारमै प्रभावित भएको छ । ब्यापार युद्धको कारणले अमेरिकाले थप ३०० विलिनको सामानमा १० प्रतिशत अतिरिक्त ट्याक्स लगाउने निर्णय गरेबाट समेत ब्यापार युद्ध झनै उत्कर्षमा पुगेको छ । जसको कारणले विश्व शेयर बजार घट्न गयो र लगानीकर्ता सुरक्षित लगानीको रुपमा रहेको सुनतर्फ आकर्षित हुन पुगे । 
  • पछिल्लो समयमा भारतीय मुद्रा झनै कमजोर बन्दा नेपाली विनिमय पनि कमजोर भएको छ । जम्मु काश्मिरमा भारतको केन्द्र सरकारको प्रत्यक्ष हस्तक्षेपले गर्दा भारतीय मुद्रा थप कमजोर बनेको हो । यही कारणले डलरको विनिमयदर ह्वात्तै बढ्न जाँदा एकैदिन १ हजार ५सयले सुनको मूल्य प्रभावित भयो ।
  • इरान र अमेरिका विच आणविक द्वन्द चर्किएको कारणले गर्दा पनि विश्व अर्थतन्त्रमा असर परेको देखिन्छ । इरानले तेलका ट्याङकरहरु धमाधम कब्जा गर्न थालेपछि द्वन्द चर्किएको छ भने मत्थर हुने कुनै संभावना देखिंदैन । 
  • जर्मनको अर्थतन्त्र केही कमजोर भएको र ऋणपत्रमा ठूलो असर परेकोले विश्व अर्थतन्त्रमा यसले तरंगित बनाएको छ । 
  • अमेरिका र उत्तर कोरिया विच विवाद साम्य नहुनुले पनि अन्तराष्ट्रिय बजारमा तनाबको स्थिति देखिन्छ । 

अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महँगो भएको हो । यसैबीच भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ । 

२२ वटा वाणिज्य बैंकले आलोपालो गरेर दैनिक २० किलो सुन दिने गरेपनि भाउ महँगो भएसँगै व्यवसायी बैंकमा जान छाडेका छन् । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । 

यो पनि पढ्नुहोस् :

सुनको मूल्यमा आज एकै दिन १५ सय बृद्धि, तोलाको ६९ हजार ५ सय रुपैयाँ निर्धारण !

यसकारण भैरहेछ सुनको भाउमा दैनिक रेकर्ड ब्रेक, तोलाको ६७ हजार ८ सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ६५ हजार ८ सय रुपैयाँ