भ्रष्टाचारको यो महामारी

भ्रष्टाचारको यो महामारी

आर्थिक विवादमा धेरै ठाउँमा मुछिएका भ्रष्ट उच्च कर्मचारी अधिकारीका रुपमा वदनाम दिनेश थपलियालाई लोकतन्त्रलाई जीवित राख्न अनिवार्य मानिएको निर्वाचन प्रणाली सञ्चालन गर्ने प्रमुख आयुक्त नियुक्त गरिएको छ । भ्रष्टलाई प्रमुख निर्वाचन आयुक्तमा राखेर स्वच्छ, कम खर्चिलो निर्वाचन प्रणाली बसाल्ने अपेक्षा गर्नै सकिदैंन । 

भ्रष्टाचारको नियन्त्रण गर्ने अख्तियारी पाएका प्रमुख आयुक्त लोकमानसिंह कार्की, दीप बस्न्यातहरु भ्रष्टाचारीका रुपमा वदनाम पात्र थिए । अदालतमा आर्थिक सेटिङमा मुद्धा छिनिन्छ भन्ने प्रधान न्यायधीशमा चोलेन्द्र शमशेर आएपछि अझ स्पष्ट भएको छ । सुन प्रकरणसहितका अन्य मुद्धामा न्यायधीशहरुको फैसला अर्थ र अन्य सेटिङबाट प्रभावित भएको खुलासा प्रधान न्यायधीशबाट भएको छ । न्याय दिने निकायबाट अन्याय हुन्छ भने के भन्ने ? ललिता निवासमा प्रधानमन्त्रीहरु, नेताहरु मुछिनु, विराटनगर जुट मिलसहितका जग्गामा नेताहरुको आँखा लाग्नु केही विशिस्ट उदाहरणमात्र हुन । 

वास्तवमा भ्रष्टाचार नेपालमा निकै जल्दोबल्दो समस्या हो, जसका कारण नेपाल असाध्यै पिल्सिएको छ । वर्तमान समयमा कुनै देशको विकासमा अवरोध आएको छ भने त्यो भ्रष्टाचार नै हो । आज यसले लोकतन्त्रलाई खोक्रो र ढाेंगी बनाइदिएको छ । भ्रष्टाचारका कारण सरकार, सरकारी संस्था र पार्टीका कतिपय नेताप्रति विश्वास गुमेको छ । यसै कारण सिर्जनात्मकता, आदर्श, निस्ठा मर्दै गएको छ । स्वाभाविक छ, यस्तो अवस्थामा जनआक्रोस फुट्छ । मान्छेहरु हिंसात्मक आन्दोलनमा समेत जान्छन ।  

पहिलापहिला भ्रष्टाचार केवल सरकारीतन्त्रमा मात्र हुने ग¥थ्यो । गैरसरकारी संस्थामा समेत यो रोग सरेको छ । आफ्नै जेथो राखेर चर्काे ब्याज तिर्ने प्रतिबद्धताका साथ ऋण लिन पनि सहकारीमा घुस खुवाउनु पर्ने अवस्था बनेको छ । हाम्रा दैन्दिनका जीवनमा यस्ता उदाहरण धेरै छन् । 
वास्तवमा देशमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने भ्रष्टाचारका विरुद्ध अभियान नै चलाउनु पर्छ । अबको प्राथमिक अभियान भ्रष्टाचारका विरुद्ध लगाउनु पर्छ । यदि भ्रष्टाचार यसैगरी मौलाउने हो भने राजनीतिक प्रणालीलाई नै ध्वस्त बनाउँछ । समयबद्ध साप्ताहिकबाट