भेट नदिएको भन्दै मन्त्री वर्षमान पुन र कुलमान घिसिङलाई सांसद गजेन्द्रबहादुरले दिए 'श्री ३' को संज्ञा  !

 भेट नदिएको भन्दै मन्त्री वर्षमान पुन र कुलमान घिसिङलाई सांसद गजेन्द्रबहादुरले दिए 'श्री ३' को संज्ञा  !

काठमाडौं, २१ साउन । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै आक्रोश पोखे ।

जुम्ला सदरमुकाम अहिले अन्धकार रहेको भन्दै सांसद महतले भने ‘यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो हामीले यति फोन गर्यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’

उनीहरुले फोन पनि नउठाएको र भेट्न समय पनि नदिएको महतले बताए । ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने’ उनले सोधे ‘के विद्युत प्राधिकरण छैन नेपालमा, जुम्ला जिल्ला भन्ने छैन ?’