प्रारम्भिक वयानमा नोकरशाहीतन्त्र

प्रारम्भिक वयानमा नोकरशाहीतन्त्र

भवानी बराल

नेपालका कम्युनिस्टहरुले देशको विकास र समृद्धिको अवरोध दलाल नोकरशाही पुँजीवादको कारण भएको भन्दै आएको दशकौं वितिसकेको छ । राजतन्त्र रहुन्जेल सामान्तवादको कारण अर्थ–राजनैतिक परिवर्तन असम्भव भएको बारम्बार बताउँदै चोखिने गरेका थिए । अर्को थप अर्ध–उपनिवेशवादसंग जोडेर अर्ध–सामान्ती अवस्थालाई पनि दोष दिने गरेका थिए । यतिखेर अर्ध–सामान्ती तथा अर्ध–उपनिवेश पदावली उपलब्ध छैन । यतिखेर राजतन्त्र, सामान्तवाद, अर्ध–उपनिवेशवाद नेपथ्यमा पुगीसकेको अथ्र्याइन्छ ।

तर, आम जनसमुदायलाई आश्वस्त बनाउन बारम्बार दलाल नेकरशाही पुँजीवाद पदावली प्रयोग गर्नु सत्तारुढ या वाहिर रहेका कम्युनिस्टको बाध्यता नै जस्तो बनेको छ । दलाल नोकरशाही पुँजीवाद जस्तो आमजनसमुदायको पहुँचमा नपुग्ने र तिनलाई अमूर्त शब्दावलीलाइ दोष दिने सहज तुरुप भएको छ ।

दलालको अर्थ : 

पुँजीवादी राज्य व्यवस्थामा दलाल शब्द सम्मानित शब्दावली हो । तर गैर पुँजीवादी व्यवस्थामा दलालको अर्थ अनर्थ लाग्छ । नेपाली भाषाकै शब्दकोसमा पनि दलाल भनेको ‘कुनै बस्तु किनबेच गर्न किन्ने र बेच्नेको बीचमा कुरा हिलाइ नाफा खाने व्यक्ति’ अर्थ छ । आर्थिक उदारीकरण वा बजार व्यवस्थापनमा अंग्रेजी एजेण्ट शब्दको समानार्थ शब्द हो दलाल । तर दलाल गैर पुँजीवादी अर्थराजनैतिक व्यवस्थामा नकारात्मक अर्थमा लिइन्छ ।

दलाल उत्पादक शक्ति होइन । यसको भूमिका विचौलियाकोमात्र हुन्छ । यसर्थ गैर पुँजीवादी अर्थ–राजनीतिमा दलालको विरोध हुनु स्वभाविक हो ।

नोकरशाहीतन्त्र : 

नोकरशाही शब्दको अगाडि दलाल शब्द कम्युनिस्टहरुले प्रयोग गर्ने रटिरटाउ सूत्र हो । दलाल नोकरशाहीतन्त्र वा दलाल नोकरशाही पुँजीवादको कारण समाजवादी वा साम्यवादी अर्थराजनीतिमा बाधा अडचन आएको हरदम विषय उठान गर्ने गर्छन । तर आमरुपमा दलाल नोकरशाही पुँजीवाद वा त्यसको पक्षपोषण गर्ने पक्षलाइ भने चिनाउने गर्दैनन् । मूख्य शत्रुको नै पहिचान नगरेपछि वा नगराइएपछि त्यसको अर्थ के हुन्छ ? त्यसलै आम कार्यकर्ता पनि रटिरटाउ सुत्र झैं यो पदावली फलाक्छन । यद्दपी उनीहरुलाई यसको पक्षपोषण गर्ने व्यक्ति, संस्था, प्रतिष्ठान कम्पनी वा समूहको पहिचान हुन सक्तैन । दलाल नोकरशाही पुँजीवादको साङ्गोपाङ्गो चरित्र चित्रण अर्कै आलेखमा समेटिने छ । यहाँ नोकरशाहीकै बारेमा विशेष चर्चा हुनेछ ।

उद्भव र विकास :

नोकरशाही फ्रान्सेली शब्द ‘ब्यूरो’ बाट बनेको हो । पछि यो शब्द अंग्रेजीकरण हुँदै ब्यूरोक्रेसी (नोकरशाहीतन्त्र) बन्यो । ब्यूरोको अर्थ फ्रान्सेली भाषामा टेबल हुन्छ । टेबलमा काम गर्ने सरकारी कर्मचारी हुन्छ । र, काम गर्ने कर्मचारी संयन्त्रलाई ब्यूरोक्रेसेी अर्थात नोकरशाहीतन्त्र भनिएको हो ।
१८ औं शताब्दीमा फ्रान्समा पहिलो पटक यो शब्दको उच्चारण भयो । सन् १८१८ देखि अंग्रेजी भाषामा यो शब्दको ‘तत्सम’ (जस्ताको तस्तै प्रयोग हुनु) प्रयोग भयो । ब्युरोलाइ टेबल र क्रेसीलाई सरकार भनियो । सरकारले अघि सारेको नीति, निर्णय र कार्यक्रमलाइ लागु गर्ने, सेवाग्राहीलाई सेवा दिने काम यो संयन्त्रले गर्नु पर्ने भएकोले यसको अर्को नाम नोकरशाहीतन्त्र भयो ।

नेपालमा नोकरशाहीतन्त्रको विकल्पमा कर्मचारीतन्त्र शब्दावली प्रयोग हुने गरेको छ । यद्दपी नोकरशाहीतन्त्र र कर्मचारीतन्त्रको समान अर्थि हो । तर आमरुपमा नोकरशाही शब्दले कहिल्यै सकारात्मक अर्थ राख्दैन ।

स्थायी सरकार :

कर्मचारीतन्त्र स्थायी सरकार हो । यसको गठन व्यक्तिगत, योग्यता, क्षमता र निश्चित मापदण्डका आधारमा लामो अवधिको लागि गरिन्छ । नेपालमा लोक सेवा आयोगले यस्तो संरचना निर्माण गर्ने योग्यता तय गर्छ । सार्वजनिक संगठनको स्थायी संरचनाको यो रुपरेखा हो । संरचनाको संगठनात्मक नियम, सत्ताको विभिन्न विभाग, निकाय, तहलाइ जनताबाट अलग राख्छ । कार्यक्रमिक दृष्टिकोण वा कार्यभारको आधारमा नेतृत्वदायी अंग र तल्लो निकायसम्म मजबुत सांगठानिक च्यानेल तय गर्छ । पीरामीड शैलीमा खडा भएको संगठन नै नोकरशाहीतन्त्र वा कर्मचारीतन्त्र हो ।

नकारात्मक अर्थ :

नोकरशाही शब्दले विशुद्ध सांगठानिक संरचना वा यसको सकारात्मक भाव बुझाउँदैन । यसको क्रियाकलाप, ढिलासुस्ती, धाँदली, कठोर नियम, लालफिताशाही, कार्यविधि, कार्यपद्धतीलाइ जानकारी गराउँछ । आमरुपमा नोकरशाही शब्द ढिलासुस्ती, भ्रष्टाचार, धाँदलीको पर्यायको अर्थमा लिइन्छ । यसैले दूनियाँमा नोकरशाही गलत अर्थमा प्रयोग भएको छ ।

विद्वानको परिभाषा :

राबर्ट सी स्टोनले नोकरशाही शब्दलाई प्रशासनिक संरचनाको दृष्टिले चार अर्थमा प्रयोग गरेर विवेचना गरेका छन् । पहिलो विशेष प्रकारको संगठन दोस्रो संगठनको व्यवधान तेस्रो ठूलो सरकार चौथो स्वतन्त्रताको बाधक वा स्वतन्त्रतालाई अपाङ्ग बनाउने संगठनको रुपमा ।
नोकरशाहीलाई व्यवसायिक संगठन पनि भनिन्छ । सरकार, शासक वर्गको व्यवसायिक संगठनको रुपमा यसलाइ परिभाषित गर्ने गरिन्छ । तर, कतिपय अवस्थामा यो सरकारको भन्दा पनि शासक वर्गको संगठनको रुपमा भूमिका केन्द्रित हुन्छ । यसैले यो व्यवसायिक संगठन कति हो ? छलफलको विषय हो ।

सरकार निश्चित अवधिको लागि आउँछन जान्छन । तर शासक वर्ग हत्तपत्त परिवर्तन हुँदैन । यसको आवधिक नेतृत्वमात्र सरुवा, बढुवा र अन्ततः अवकास हुन्छ । कुनै ठूलो क्रान्ति वा परिवर्तन विना शासक वर्ग फेरिदैन । फेरिए पनि त्यसले शासक वर्गलाइ प्रतिस्थापन गर्ने मात्र हो ।
यसैकारण प्रायसः सरकार प्रमुखहरु कर्मचारीतन्त्रले सहयोग नगरेको प्रसंग निकाल्छन । नेपालको सन्दर्भमा पनि हरेक सरकार आएपटक नै यस्तो गुनासो गर्छन । केहि समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारी विषादी प्रकरणमा भारतीय दूतावासबाट आएको पत्रमा कर्मचारीले भ्रममा राखेको गुनासो गरेका थिए । यसर्थ प्रतेक पटक वा आवाधिक रुपमा सरकारले आफ्नो कार्यक्रम लागु गर्न गराउन कर्मचारीतन्त्रलाइ निर्देशन दिने गर्छन । नेपालको प्रसंगमा कर्मचारी ट्रेड यूनियनको प्रसंग त धेरै आलोचित छ । यस विषयमा छुट्टै विवेचना गर्न जरुरी छ ।

कर्मचारीतन्त्रको विशेषता :

विद्वान लास्कीले नोकरशाहीतन्त्रको विमर्स सुक्ष्म रुपमा गरेका छन् । दीर्घकालीन नीति, नियमको कार्यान्वयन भन्दा पनि दैनिक प्रशासनिक कामकाजी काममै विताउने यसको चरित्र हुन्छ । ‘राजाको काम कहिले जाला घाम’ भन्ने नेपाली भाषामै पनि कर्मचारीतन्त्र बारे प्रचलित उखान छ । लास्कीले यसको विशेषता दैनिक काममा मात्र जोड दिने, नियमलाइ कठोर बनाउने, सरल लचिलो भन्दा कठोर र जटिल बनाउने, सहजतालाइ तिलाञ्जली दिने, ढिलासुस्ती र विलम्ब गर्ने, नयाँ काम सुरुवात गर्न अस्विकार गर्ने संगठनको रुपमा प्रस्तुत गरेका छन् । 

अर्का विद्वान एफ.एम. माक्र्सले नोकररशाहीतन्त्रको विशेषता र चरित्र अनुसार चार वर्गमा विभाजित गरेका छन् । ति हुन, अविभावक नोकरशाही, जातीय नोकरशाही, संरक्षक नोकरशाही र योग्यता नोकरशाही । नेपालको नोकरशाहीतन्त्र यि मध्ये कुन वर्गमा पर्छन विश्लेषण माग हुन्छ ।

रहलपहल :

नोकरशाहीतन्त्र, कर्मचारीतन्त्र वा लालफिताशाही (नियमको बहुलता भएको प्रशासनिक प्रणाली फित्तावादी भएकोले यो शब्दलाइ पनि कर्मचारीतन्त्रको समान अर्थमा लिइन्छ) को सन्दर्भको यो प्रारम्भिक वयान हो । यो तन्त्रको आजसम्म बहिरंग वयान आएको छैन । अन्तरंग वयान आउने त कुरै भएन । नेपालको प्रशासनिक सुधारका अनेक आयोग बने । कर्मचारीतन्त्रको सुधारका अनेक प्रयास भए होलान तर ति सबै कागजमा सिमित भए । यो आलेखको आसय यसमा टिप्पणी, सुधार, आलोचना र सुझावको अपेक्षा हो । समयबद्ध साप्ताहिकबाट