मानार्थ डानले ‘डन’ जन्माउँदै खेलक्षेत्र !

मानार्थ डानले ‘डन’ जन्माउँदै खेलक्षेत्र !

फणीन्द्र फुयाल ज्वाला

सामान्यतः प्रबुद्ध नागरिक र कुनै पनि क्षेत्रमा विशिष्ट योगदान पुर्याएकालाई दिइने मानार्थ सम्मान राजनीतिक नियुक्ति लिएर खेलकुद क्षेत्रमा प्रवेश गरेकाहरुले लिने प्रचलन मौलाउँदै गएको छ । 

विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)लाई सातौँ डान र नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई मानार्थ छैटौँ डान प्रदान गरेको छ । उक्त डान प्राप्त गर्न भने खेलाडीले कडा परिश्रम गर्नुपर्छ । तर खेलकुदमन्त्री र राखेपका केही राजनीतिक नियुक्ति पदाधिकारीहरुलाई खुसी पार्दै आफ्नो दुनो सोझ्याउन केही खेलकुद संघहरुले यस्ता थुप्रै डान र व्ल्याक बेल्टहरु उपाधिस्वरुप मानार्थ प्रदान गर्ने विकृति बढ्दै गएको छ । त्यतिमात्र होइन, यस्ता पदवी किनबेच समेत हुने गरेका छन् ।

महासंघको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइ रहेका अभिभावकहरुका बालवालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको एक वर्षे तेक्वान्दो विशेष तालिमको उद्घाटनका अवसरमा महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मा र उपाध्यक्ष तिम्सिनालाई उक्त डान प्रदान गरेका हुन् ।

तेक्वान्दो विशेष तालिमको उद्घाटन अवसरमा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई मानार्थ सातौं डान प्रदान गर्दे विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइ ।   

यस्तै नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) धीरु बस्न्यात पनि मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई गत जेठमा सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच मानार्थ डनको प्रमाणपत्रद्वारा सम्मान तथा तेक्वान्दो खेल सामाग्रीसमेत हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय तेक्वान्दो संघ–नेपालले गत २०७४ चैतमा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी रमेशजंग थापा काजीलाई पनि ‘पाँचौं डान’ उपाधि प्रदान गरेको थियो । संघका महासचिव राजकुमार कार्कीले थापाले तेक्वान्दो खेलको विकास र विस्तारको लागि स्वदेश र विदेशमा बसेर गरेको योगदानको कदर गर्दै सम्मान स्वरुप उक्त डान प्रदान गरिएको बताउने गरेका छन् ।

यसरी खेल क्षेत्रका महत्वपूर्ण डान सम्मानका नाममा खुलेआम रुपमा बितरण गर्नु ‘राम्रा’ भन्दा पनि ‘हाम्रा’ हरुलाई काखि च्याप्नु र उनीहरुलाई ‘डन’ बनाउन खोज्नु त होइन ? ‘डानसँगै डन बढ्दै’ भन्ने नयाँ उखान यतिबेला नेपाली खेलकुद क्षेत्रमा ब्याप्त छ ।  समयबद्ध साप्ताहिकबाट