मजदुर आन्दोलनको गर्भे पतन 

मजदुर आन्दोलनको गर्भे पतन 

दीपक मैनाली

मजदूर आन्दोलनको इतिहास राजनैतिक क्रान्तिसंग अन्तरंग सोझो सम्बन्ध राख्दछ । तर राजनैतिक आन्दोलनको सफलतापछि अपवादमा बाहेक मजदुर आन्दोलनले उठाएको मागमुद्धाको गर्भ मै पतन भएको अभिलेख छ । मजदूर आन्दोलनको मागमुद्धा यसरी नै पतन हुँदै गए राजनैतिक क्रान्तिको सम्पन्नता पनि धरापमा पर्नेछ । नेपालको मजदूर आन्दोलन पनि यस्तै नियति भोगिरहेको छ । 

वि.सं. २००४ सालमा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा बीपी कोइरालालाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । जेलमुक्त भएपछि राणा शासनको अन्त्यका लागि उनले सशस्त्र सङ्घर्ष समेत गरे । ००७ मा राणा शासनको अन्त्य भयो र नेपालमा पहिलो पटक बहुदलीय व्यवस्था स्थापना भयो ।

राणा शासनको अन्त्य भएको घोषणा भएपछि नेकपाका संस्थापक महासचिव पुष्पलालले आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सर्वपक्षीय सरकार गठन गरेर संविधानसभाको निर्वाचन गर्ने माग गरे । बिडम्वना, पुष्पलालको त्यो मागलाई समर्थन गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुने मागलाई छाडेर मोहन शमशेरको नेतृत्वमा आन्दोलनकारी नेता गृहमन्त्री खान पुगे । पछि बीपी प्रधानमन्त्री पनि बने । नेपालमा मजदुर आन्दोलनलाई औपचारिक सुरुवात गर्ने गिरिजाप्रसाद कोइराला त पटकपटक प्रधानमन्त्री बने ।

क्रान्ति र मजदुर आन्दोलनको सम्बन्ध :

विश्वभरि नै भएका राजनीतिक क्रान्ति र परिवर्तनसँग मजदुर आन्दोलनको गहिरो सम्बन्ध रहँदै आएको छ । नेपालमा भएका आन्दोलन, क्रान्ति र परिवर्तनमा पनि मजदुर आन्दोलन अपवाद रहेन । बिराटनगरबाट औपचारिक रुपमा सुरु भएको मजदुर आन्दोलनले राणा शासनको अन्त्य गरे पनि मजदुरका समस्याको अन्त्य गर्न सकेन । राणा शासनको अन्त्य, पञ्चायतको उदय र पतन, बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुँदै देशमा गणतन्त्र स्थापना भए पनि बिराटनगरबाट सुरु भएको मजदुर आन्दोलनको औचित्य पूरा हुन सकेको छैन । मजदुर आन्दोलनले राजनीतिक आन्दोलनमा आवश्यक योगदान गरे पनि आन्दोलनकै कारण भएको राजनीतिक परिवर्तनले मजदुरको आहतमा राहत दिन सकेको छैन ।

मजदुर आन्दोलन पार्टीको भर्याङ :

०४६ को जनान्दोलनसँगै नेपालमा ट्रेड युनियन आन्दोलन बलियो बन्दै गए पनि यो राजनीतिक पार्टीको भ¥याङ बन्ने रोगबाट अपवाद बनेको छैन । विभिन्न पार्टीका जनवर्गीय संगठन र त्यसका केही नेताको औजारका रुपमा मजदुर आन्दोलन प्रयोग हुँदै गएको छ भने मजदुरका समस्या झन् पछि झन् विकराल बन्दै गएका छन् । मजदुर नेताकै कारणले पनि मजदुर आन्दोलन बदनाम बन्दै गइरहेको छ । पछिल्लो समय मजदुर आन्दोलन उठ्नै नसक्ने अवस्थामा पुगेको छ ।

मजदुर आन्दोलनले आफ्नो स्वत्व गुमाउनुमा मजदुर आन्दोलनमा आयातित नेतृत्व स्थापित गर्नुलाई पनि मानिएको छ । भातृ संगठनको भूमिका रहने मजदुरमा माउपार्टीको पनि ‘फ्र्याक्शन इञ्चार्ज’ वा ‘विभागीय प्रमुख’ को तजविजीमा प्रमुख ‘निर्वाचित’ वा ‘सर्वसम्मत’ नियुक्त गरिने परम्परा नै बनेको छ । यसरी आउने मजदुरको नेतृत्व मजदुरको हितभन्दा आफूलाई ‘निर्वाचित’ वा ‘सर्वसम्मत’ गराउने नेतृत्वपेक्षी हुनु स्वाभाविक हो । पार्टीमा नीति, विधि र मान्यता कमजोर बनेपछि व्यक्ति प्रधान बन्छ । यस्तो परिस्थितिमा आफ्नो ‘नेता’ प्रति बफादार बन्नु ‘मजदुर नेता’ का बाध्यता बन्लान् । नेताको स्वार्थमा मजदुर परिचालित हुँदा मजदुर आन्दोलन हात्तीको देखाउने दाँतजस्तै बन्न पुगेको वामपन्थी नेता लोककृष्ण भट्टराई यस्तो बताउँछन् ।

मजदुर आन्दोलनको धारा :

०४६ पछि नेपाली मजदुर आन्दोलन औपचारिक रुपमा तीन धारामा विभाजित भयो । ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेस निकट मजदुर संगठन भयो । मजदुर आन्दोलनबाटै राजनीतिक जीवन सुरु गरेका गिरिजाप्रसाद कोइरालाले ०४६ को जनान्दोलनपछिसम्म पार्टीको महामन्त्रीका साथै ट्रेड युनियन कंग्रेसको जिम्मेवारी निभाएका थिए । 

विरासतको भारी :

बिराटनगरको विरासत ट्रेड युनियन कांग्रेसले बोक्न नसक्ने दावी गर्ने बामपन्थी मजदुर आन्दोलन पछिल्लो समय शक्तिशाली बन्दै आएको थियो । ‘संसारका मजदुर एक होऔं’ भन्ने नारा लेखिएको झण्डा बोक्दै अनेकन संगठन सक्रिय रहे । याद रहोस्, स्थापनाकाल (२००३)मा बामपन्थी र प्रजातान्त्रिक दुबै पक्ष एउटै अखिल नेपाल ट्रेड युनियन महासंघमा आबद्ध थिए । ००८ सालमा बामपन्थी र प्रजातान्त्रिक धाराका मजदुर एउटै संगठनमा बस्न नसक्ने भए । मनमोहन अधिकारीको नेतृत्वमा बामपन्थी मजदुरले अखिल नेपाल ट्रेड युनियन गठन गरे । 

पद प्राप्तिको लिस्नो : 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तत्कालीन एमाले सम्बद्ध मजदुर संगठन जिफन्टमा ०६६ देखि ०७५ सम्म अध्यक्षका रुपमा रहे । रिमालभन्दा अघिका जिफन्ट अध्यक्ष मुकुन्द न्यौपाने ०५१ को मध्यावधि चुनावमा बारा–१ बाट सांसद निर्वाचित भए । ०४९ देखि मजदुर संगठनको अध्यक्ष रहेका न्यौपाने मनमोहन अधिकारीको सरकारमा श्रम मन्त्री बनेका थिए । संस्थापक अध्यक्ष ललित बस्नेत ०४९ सालसम्म जिफन्टको अध्यक्ष रहे । न्यौपाने मन्त्री बनेपछि जिफन्टको कार्यकारी अध्यक्षका रुपमा बस्नेतले काम गरे । जिफन्ट ०४६ सालमा गठन गरिएको थियो । जिफन्टको सातौं महाधिवेशनबाट बिनोद श्रेष्ठ अध्यक्ष चुनिएका छन् । 

माओवादी प्रभावमा मजदुर :

चौथो महाधिवेशन पक्षधर मजदुरहरु अखिल नेपाल ट्रेड युनियनका नाममा संगठित थिए । आन्दोलन सुस्ताउन थालेपछि ०४४ सालमा हेटौंडामा भएको मजदुरहरुको भेलाले ईश्वरी दाहाल (असारे काका) लाई मजदुर संगठनको नेतृत्व चयन गर्यो । दाहालभन्दा अगाडि थानकोट घर भएका निर्मल लामा संगठनको अध्यक्ष थिए ।

०४५ देखि दिनेश शर्मा अखिल नेपाल ट्रेड युनियनको अध्यक्ष चयन भए । चौम धाराका विभिन्न बामपन्थी पार्टीबीच ध्रुवीकरण भएर नेकपा (एकता केन्द्र) बन्यो । पार्टीहरुसँगै मजदुर संगठनहरु पनि एकीकृत भए । एकता केन्द्र विभाजित भयो । तत्कालीन माओवादीले दिनेश शर्मालाई पार्टी राजनीतिमा तान्यो । ०५१ सालमा रवि कार्की मजदुरको अध्यक्ष बने । ०५२ सालमा कुमार दाहाल मजदुरको अध्यक्ष बने । कालान्तरमा कुमार दाहाल पनि पार्टी राजनीतिमा सक्रिय बने ।

मजदुर आन्दोलनमा माओवादी विचारको जबर्जस्त प्रभाव यही बेला परेको थियो । यीमध्ये दिनेश शर्मा यतिबेला मोहन वैद्य ‘किरण’ नेतृत्वको (क्रान्तिकारी माओवादी)मा सक्रिय छन् । राजनीतिमा कथनी र करणीबीच धेरै दूरी रहेको भन्दै असाध्यै इमान्दार, क्रान्तिकारी आन्दोलनका बारेका ज्ञाता कुमार दाहाल सक्रिय पार्टी राजनीतिबाट केही वर्ष यता अलग भएका छन् । उनी मजदुरबाट छलाङ हानेर कृषीकर्ममा रमाइरहेका छन् । रवि कार्कीको निधन भइसकेको छ । शर्मा, कार्की र दाहाल पढालेखा भए पनि मजदुर पृष्ठभूमिबाटै आन्दोलनमा जोडिएका पात्र हुन् । 
कुमार दाहालपछि तत्कालीन माओवादीले मजदुरको अध्यक्षमा तत्कालीन महासचिव कृष्ण प्याकुरेललाई राज्यले वेपत्ता बनाएपछि कोषाध्यक्ष शालिकराम जम्मरकट्टेललाई ल्यायो । प्रदेश नम्बर ३ का मन्त्रीसमेत रहेका जम्मर कट्टेलले लामो समय माओवादी मजदुर संगठनको नेतृत्व सम्हाले । 

पछिल्लो समय मजदुर संगठन मजदुरको पेशागत अधिकारभन्दा केही नेताको भौतिक आवश्यकता पूर्ति गर्न दुरुपयोग गरिएको आरोप लाग्दै आएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ ३ नम्बर प्रदेशका संयोजक प्रकाश श्रेष्ठ भन्छन्, ‘हामी मजदुरको पक्षमा माग राखेर बाहिर आन्दोलन गर्ने, मालिकसँग भित्र बसेर नेता चाहिं आन्दोलन फिर्ता गराउँछु भन्दै बार्गेनिङ गर्ने भएपछि कहाँ उँभो लाग्छ त मजदुर आन्दोलन ?’

माओवादी मजदुरमा विभाजन

माओवादी धारामा आएको विभाजनसँगै मजदुर संगठनमा विभाजन आयो । एउटा धाराको नेतृत्व शालिकले गरे भने अर्कोको बद्री बजगाईँले । बजगाईं अहिले किरणको नेतृत्वको कम्युनिस्ट पार्टीमा सक्रिय छन् । लामो सहकार्य गरेका माओवादी धाराका मजदुर नेतामध्ये केही राजनीतिबाटै पलायन भए । राजनीतिमा सक्रियमध्ये कतिपयलाई आफ्नै वर्गोत्थान गरेको आरोप लाग्ने गरेको छ ।

लामो समय मजदुर आन्दोलनको नेतृत्व गरेका प्रदेश नं. ३ का मन्त्री शालिकराम जम्मरकट्टेल मजदुर आन्दोलन राजनीतिक आन्दोलनकै हिस्सा भएकाले राजनीतिक आन्दोलनभन्दा यो फरक नहुने बताउँछन् । जम्मरकट्टेल भन्छन्, ‘संविधानमा व्यवस्था भए पनि व्यावहारिक रुपमा मजदुरको हितमा काम हुन सकेका छैनन् । राजनीतिक आन्दोलनसँगै मजदुर आन्दोलनको स्वरुप पनि बदलिएको छ । अब मजदुरले नेताहरुको व्यवहार र शैली फेर्न दबाबमूलक आन्दोलन गर्नुपर्छ ।’

शर्माको दावी

मजदुर आन्दोलन शिथिल देखिए पनि कमजोर नभएको दिनेश शर्माको दावी छ । ‘विशुद्ध मजदुर आन्दोलन संसारमा कहीं पनि हुन्न । समाजका अन्य वर्ग र तप्कासँग जोडिएरै मजदुर आन्दोलन हुने हो ।’ शर्माले भने, ‘सर्वहारावर्गीय आन्दोलन कमजोर बनेका बेला मजदुर आन्दोलन मात्र अघि बढ्न सक्तैन । जनयुद्धका बेला गरिएका प्रतिबद्धताबाट मूल नेतृत्व पछि हटेपछि क्रान्तिकारी आन्दोलन नै कमजोर बनेको छ । यस्तो बेला मजदुर आन्दोलनमात्र सशक्त कसरी हुन्छ ?’

विश्व ईतिहास :
पेरिस कम्युनको स्थापना मजदुर आन्दोलनले गरेको ऐतिहासिक र महत्वपूर्ण राजनैतिक परिवर्तन हो । मजदुर आन्दोलनले दशकौंसम्म गर्ने गौरवपूर्ण इतिहास हो । सन् १९१७ मा रुसमा भएको अक्टोबर क्रान्ति, १९४९ चीनमा भएको क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, स्वतन्त्रताका लागि अमेरिकालगायत देशमा भएका स्वतन्त्रता आन्दोलनमा मजदुर वर्गको सारपूर्ण सहभागिता महत्वपूर्ण मानिन्छ । रुसी अक्टोबर क्रान्तिको सफलता त मजदुरको सहभागिताबिना असम्भव नै थियो ।

००७, ०३६ र ०४६ मा नेपालमा भएका आन्दोलनमा मजदुरको भूमिका महत्वपूर्ण थियो । १० बर्षे जनयुद्ध तथा ०६२/०६३ को जनान्दोलनमा मजदुर सहभागिता उल्लेख्य थियो । परिवर्तनकारी आन्दोलनमा त्यति सशक्त भूमिका निभाएको मजदुर आन्दोलन यतिबेला भने आफै अशक्त बनेको दुखद यथार्थ हो । समयबद्ध साप्ताहिकबाट