अविरल वर्षाका कारण महाकालीले पार गर्यो खतराको संकेत, भिमदत्त नगरपालिकाको एक दर्जन स्थान डुवानमा 

अविरल वर्षाका कारण महाकालीले पार गर्यो खतराको संकेत, भिमदत्त नगरपालिकाको एक दर्जन स्थान डुवानमा 

कञ्चनपुर, २२ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ ।

कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो । महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

नदीमा पानीको बहावले खतराको संकेत पार गरे पनि भारतले शारदा ब्यारेज (पुल) मा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मान्ने गरिन्छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको छ । सोमबार रातिबाट परेको वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवा क्षेत्रमा लगायतका क्षेत्र डुबानमा परेका छन् ।

भिमदत्त नगरपालिका ९ मा ८ वटा घरमा पानी पसेको प्रहरीले जनाएको छ । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ ।