पहिरोका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार

पहिरोका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार

तमानखोला गाउँपालिका–४ लाम्मेलाको पहिरोका घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा लगिएको छ । हेलिकोप्टरबाट उद्धार गरिएका ४४ वर्षीय ओमबहादुर, १६ वर्षीय अनिल र नौ वर्षीय राम श्रीपालीको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईका अनुसार ओमबहादुर र रामको अवस्था गम्भीर छ । नेपाली सेनाको हेलिकोप्टर बोलाउन जिल्ला प्रशासन कार्यालयले समन्वय गरेको थियो । पहिरोमा परी सामान्य घाइते भएकाको गाउँमै उपचार भइरहेको छ । घाइतेको उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक तमान पुगेका छन् । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई आज नै राहात रकम वितरण गरिएको छ ।

बुर्तिबाङमा रहेको एकीकृत सेवा केन्द्रमार्फत राहात बाँडिएको प्रनाउ भट्टराईले जानकारी दिए । गए राति गएको पहिरोमा परी लाम्मेलाका ४५ वर्षीया पञ्चकुमारी, ७० वर्षीया असारी र १२ वर्षीय प्रवीण श्रीपालीको ज्यान गएको थियो । पहिरोले पशुचौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ । क्षतिको एकीन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । डेड सय मिटर माथिबाट खसेको पहिरोले पाँच घर पुरेको छ ।