मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशनः पछौटेपन बदल्ने गरी काम गर्नुस्

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशनः पछौटेपन बदल्ने गरी काम गर्नुस्

काठमाण्डौ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको देशलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको र त्यसलाई पूरा गर्न सबै मन्त्रीहरुलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए । उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी नागरिकले बहुमतको सरकार बनाएको स्मरण गर्दै त्यही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता पनि औँल्याए ।