रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी, विप्लव समूहमाथि आशंका

रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी, विप्लव समूहमाथि आशंका

रौतहट, १५ साउन । अज्ञात समुहले मंगलबार राती रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्वर ३ कार्यालयमा आगजनी गरेको छ । 

मंगलबार राती १.०० बजे गैंडाटारमा रहेको वडा कार्यालयमा आगजनी भएको हो । आगजनीको घटनामा संलग्न गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गरेका ब्यक्तिमाथि छानबिन भईरहेको ईलाकाप्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पक्राउ परेका ब्यक्तिको अनुसन्धान भईरहेको भन्दै नाम खुलाएको छैन् । 

आगजनीबाट वडा कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका सामानका साथै कागजात समेत नष्ट भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक कबित कटुवालले जानकारी दिए ।
आगलागीबाट वडा कार्यालयको छ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको वडा अध्यक्ष रबी देवकोटाले बताए ।

आगजनी विप्लव माओवादी समूहको घोषित बन्दको पुर्बसन्ध्यामा भएकाले विप्लव माओवादीको हात रहेको आशंका गरिएको छ । तर सो समूहले आगलागीको जिम्मा भने लिएको छैन । यसअघि छिमेकी जिल्ला सर्लाहीमा विप्लव माओवादी समूहका जिल्ला नेता मारिएका थिए । आगजनीको घटनापछि चन्द्रपुर नगरपालिका क्षेत्रका बासिन्दा त्रसित छन् ।

यसैबीच कार्यालय अगाडि रहेको चौतारोमा राखिएको बम जस्तो देखिने शंकाष्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । घटनामा मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक कवित कटवालले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न रहेको आशंकामा स्थानीय एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।