तमोर नदीले सबै सन्तान बगाएपछि शंखबहादुर दम्पतिको बिचल्ली

 तमोर नदीले सबै सन्तान बगाएपछि शंखबहादुर दम्पतिको बिचल्ली

धनकुटा, ९ साउन ।  धनकुटा नगरपालिका–८ का शंखबहादुर राई तीन जना छोराछोरी तमोर नदीले बगाएपछि सन्तानविहीन बनेका छन् । 

गत आइतबार पौडी खेल्ने क्रममा शंखबहादुरको ९ वर्षका छोरा सन्दीप राई, ७ वर्षकी छोरी सलिना राई र ४ वर्षीया छोरी संजिला राईलाई तमोर नदीले बगाएको हो । 

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक डम्बरबहादुर थापाको नेतृत्वमा बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको थियो ।

घटनास्थल पुगेर स्थानीयबासीन्दाको सहयोगमा दिनभर नदीले बगाएका बालबालिकाहरुको खोजी गरे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले बताए । घटनाको जानकारी पाए पश्चात् धनकुटासहित सुनसरी कार्यालयमा पनि जानकारी गराएर नदीले बगाएर बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी राखिएको प्रहरीले बताएको छ ।

याक्चना घाट नजिकै रहेको साहुको खेत अधियाँमा कमाउँदै आएका शंखबहादुरले विद्यालय बिदा भएका कारण छोराछोरीलाई पनि सँगै खेतमा लिएर गाएका थिए । बुबाआमा खेतमा काम गर्न थालेपछि बालबालिकाहरु गोरु चराउँदै नदीमा खेल्न गएको बेला उनीहरु तीनै जनालाई बगाएको हो ।  

सबैभन्दा पहिला कान्छी छोरीलाई नदीले बगाएको थियो । उनलाई बचाउन खोज्दा जेठी छोरीलाई पनि खोलाले बगायो । दुबै जना बहिनीलाई खोलाले बगाएपछि उद्धार गर्न गएका दाजु सन्दीप पनि खोलामा बगेर बेपत्ता भएका थिए ।