के धर्म बचाउने ठेक्का स्त्रीको मात्र हो ?

के धर्म बचाउने ठेक्का स्त्रीको मात्र हो ?

योगेश खपाङ्गी

चाहे रतिक्रियामा लीन हुँदा होस् वा कुनै आनन्दायी कल्पनामा डुब्दा होस्, स्त्रीहरुको आँखा बन्द हुने गर्छ । कुनै कुरामा आँखा बन्द गरेर लीन हुनु स्त्रीको चरित्र नै हो । जब कि पुरुषहरुको चरित्र त्योभन्दा भिन्न हुने गर्छ । 

स्वभावैले पुरुषहरु जिज्ञासु हुन्छन् । जिज्ञासाले नै पुरुषलाई सम्भवतः पहिलो पटक पाङ्ग्रा (व्हील) बनाउन उत्प्रेरित गर्‍यो । पुरुषले नै रोबर्ट पनि बनायो । पुरुषले नै ईश्वरको कल्पना गर्‍यो, धर्म बनायो, नीतिनियम बनायो । सत्ता चलायो । अनेकौं कथाकुथुङ्ग्री र साहित्यको सिर्जना गर्‍यो ।

जब युग मातृसतात्मक थियो, तब कुरा अलग थियो । विस्तारै पुरुषले महिलाको सत्ता हरण गरे । त्यसपछि महिलालाई पुरुषले दासी बनायो । मनुस्मृति लेख्यो । रामायण लेख्यो । र, भनियो ‘ढोल गवाँर शूद्र पशु नारी । सकल ताड़ना के अधिकारी’ अर्थात् ढोल, गँवार, शूद्र, पशु र नारीलाई जति सताए पनि हुन्छ ।
यसरी स्पष्ट रुपमा पुरुषले आफ्नो वर्चस्व कायम गर्न लेखिदिए पनि त्यसलाई शिरोधार्य गर्नुमा पुरुष कम, महिला नै बढी दोषी देखिन्छन् । 

संसारका जुनसुकै धर्म स्त्रीमाथि अन्याय गर्न पछि परेका छैनन् । धेरै समय बितेको छैन, पश्चिमा मुलुकमा अलिकति टाठी–बाठी स्त्रीलाई बोक्सी (विचेस) भएको आरोपमा जिउँदै जलाइन्थ्यो । चीनमा पनि स्त्रीलाई घरको अन्य सम्पत्तिसरह ठानिन्थ्यो । पतिलाई आफ्नी पत्नी जलाउन पाउने पूरापुरी अधिकार थियो । अरबको हालत अझै उस्तै छ । भारतीय उपमहाद्वीपमा भने स्त्रीलाई पढ्न–लेख्न नदिने, सानै उमेरमा बुढो मान्छेसँग बिहे गराइदिने र बुढोसँगै सती पठाउने गरिन्थ्यो । तापनि स्त्रीको धैर्यता र समर्पण हेरौं न, हरेक अन्याय र अत्याचार चुपचाप सहिरहेका छन् । अझै कति सहने हुन्, समयको गर्भमै छ ।

बंगलादेशी नास्तिक लेखिका तसलिमा नसरिनले किताबै लेखेकी छन्, ‘आईमाइको जात हुँदैन’ । सन्सारभरि नै महिलाको वास्तवमै जात हुँदैन । पहिचान हुँदैन । कुनै स्त्रीले कुनै पुरुषसँग विवाह गर्नेवित्तिक्कै उसले आफू जन्मेको घर, ठाउँ र पहिचान चटक्कै छोडेर जानुपर्ने हुन्छ । त्यसपछि उसको पुरुषसँग जोडिएर नयाँ पहिचान बन्छ । जस्तै, श्रीमति पोख्रेल, श्रीमति थापा, श्रीमति विश्वकर्मा, श्रीमति परियार आदि इत्यादि । 

हिन्दु धर्मले चतुर्वर्ण व्यवस्था गरेको छ । यो ‘वान वे’ जात–व्यवस्था प्रणाली हो । यसमा कसैको पनि कथित तरिकाले जात गिर्ने व्यवस्था त गरेको हुन्छ, तर उक्लिने कुनै उपाय नै राखिदिएको छैन । जात व्यवस्थाबाट महिला–पुरुष सबै पीडित छन्, तर लाग्दछ आफूले पनि अर्कालाई हियाएर गिराउन पाउने भएपछि सबै खुशी नै छन् । आफ्नो खास जात ठूलो, अर्को खास जात सानो भन्ने भावनालाई नै ब्राह्मणवाद (बाहुनवाद) भनिन्छ । यो होइन कि बाहुनवाद बाहुन जातमा मात्रै हुन्छन्, यो सबै जात र लिङ्गमा उत्तिकै हुन्छ । 
स्त्रीहरु एकातिर जातको चक्करमा पीडित छन् भने धर्मको नाममा प्रताडित छन् । सारा धर्मग्रन्थ, पण्डित, पुरोहित, मुल्ला, मौलवी, पास्टर र मुनीहरु स्त्रीलाई शोषण गर्ने ध्याउन्नमै हुन्छन् । तापनि आँखा चिम्लिने स्वाभाविक गुणका कारण महिलाहरु खुशी–खुशी धर्मको धन्धामारुमल्लिरहनु विडम्बना हो । 

कहिलेकाहीँ उपवास बस्नु स्वास्थ्यका लागि राम्रै हो । यसले शरीरका भित्री अङ्गलाई केही आराम दिन्छ र शरीर पुनः तरोताजा राख्दछ । तर, यही उपवासलाई धर्मसँग जोडेर अनिवार्य गरियो भने यो पीडादायी पनि बन्न सक्छ । 
घर–घरको कुरा हो । हिन्दु नारीहरु प्रत्येक सप्ताह ब्रतको नाममा भोकभोकै बसेका हुन्छन् । यसले उनीहरुको शरीर सुकाएर दुर्बल र रोगी बनाउने कामबाहेक अरु केही गर्दैन । 

सोमबारे ब्रत, सन्तोषी माताको ब्रत, भाकलको ब्रत–पुजापाठ आदि महिलाले जानाजान गर्ने बेवकुफी नै हो । विज्ञानको कसीमा घोटेर हेरौं, तर्कसंगत कुरा गरौं । के गाईले टाट्नोमा हालिदिएको घाँस नखाँदैमा साँढेको आयु बढ्छ ? उत्तर सहज छ– बढ्दैन । 
ब्रत–पुजापाठका कारण घरमा सधैं तनाव

काठमाडौंकी एक धार्मिक महिला हरेक हप्ता कयौं पटक ब्रत बसेकी हुन्छिन् । ब्रत बस्नुको उनको उद्देश्य बडो असल छ । उनी घरपरिवारमा खुशी चाहन्छिन् । लोग्नेको उत्तरोत्तर प्रगति र दीर्घायु होस् भन्ने चाहन्छिन् । त्यसैले उनी हरेक हप्ता सोमबारे ब्रत लिन्छिन् । तर उनको ब्रतका कारण घरमा सधैं समस्या मात्र खडा भएको कुरा कसैले विचार नै गरेका छैनन् । अझ खास समस्या त तब खडा हुन्छ, जब उनन्ले सन्तोषी माताको निर्जला उपवास लिन्छिन् । उनले उपवास राखेको दिन स्वाभाविक हो, त्यस दिन घरमा खाना पाक्दैन । स्कुल जाने उनका छोरा–छोरी, जागिरमा जाने श्रीमान सबै त्यस दिन भोकै रहन बाध्य हुन्छन् । भोको मान्छेको दिमागमा खानाभन्दा अर्थोक के आउँछ र ? त्यसैले उनीहरु दिनभरि कचरपचर खाएर बस्छन् ।

त्यसमाथि उपवासी श्रीमतिले अनेक नियम लगाएकी छन् । अमिलो त छुँदै नछुनू भन्ने । कचरपचर खाँदै घरका कसै न कसैले कुनै न कुनै तरिकाले अमिलो खाएकै हुन्छन् । तर जसै घरका कसैले अमिलो खाइदिन्छन्, उसै उता उनको ब्रतको फल प्राप्त हुन अड्चन पैदा हुन्छ । यसरी उनले लिने गरेको सन्तोषी माताको ब्रतबाट कुनै लाभ प्राप्त हुनु त कता हो कता उल्टै घरमा तनाव, अतिरिक्त खर्च र उनको र परिवारको स्वास्थ्यमा हानि मात्र हुने गर्छ ।

महिनावारीको नाममा छुत

महिनावारी हुनु महिलाहरुको नियमित प्रक्रिया हो । यस्तो बेला महिलाहरुको शरीरबाट धेरै रगत बग्ने हुनाले कमजोर हुनु स्वाभाविक हो । सुरुमा महिनावारी भएको बखत केही गर्न नहुने, भान्सामा पस्न नहुने नियम रजस्वला भएकी महिलालाई केही आराम दिने नियतले राखिएको हुनुपर्छ । तर जब यसलाई धर्मसँग जोडेर छुतछात व्यवस्थामा परिणत गराइयो, तब महिलाका लागि वास्तविक पीडाजनक अवस्था भयो । 

पश्चिम नेपालमा महिनावारी भएकी स्त्रीलाई घरबाट टाढै गोठ वा एउटा सानो असुविधाजनक कोठामा राखिन्छ, जसलाई छाउपडी प्रथा भनिन्छ । छाउपडीको अवस्थामा घाम नदेखिने अस्वस्थकर अँध्यारो कोठामा रहनु परेका कारण कयौं स्त्री झन् रोगको शिकार भएका छन् । तर कतिपय पढेलेखेका पुरुषले समेत छाउपडी प्रथालाई सुदूरपश्चिमका सौन्दर्य र पहिचान भनेको देखिन्छ । अझ उदेकलाग्दो कुरा त के हो भने त्यसलाई स्त्रीहरुकै समर्थन प्राप्त छ । 

भनिन्छ– कहिले सासुको पालो, कहिले बुहारीको पालो ! हेरक बुहारी एक दिन सासु बन्छिन् । तर तिनै बुहारी जब सासु बन्छिन्, तब हिजो धर्म र संस्कृतिको नाममा आफूले पाएको सास्ती, ताडना सबै भुल्छिन् र फेरि त्यस्तै किसिमको ताडना र बुहार्तन खप्न आफ्ना बुहारीलाई बाध्य पार्छिन् । यो नेपाली समाजको कुरुप दृष्य हो । एकाईसौं शताब्दीमा आइपुग्दा अब हरेक महिलाले आँखा खोल्नुपर्छ । पुरुषले पनि धार्मिक जडताबाट उठेर समानता, भाइचारा र न्यायको पक्षमा खडा हुनु आजको आवश्यकता हो । समयबद्ध साप्ताहिकबाट