‘म्यानपावर’ जस्ता खेलकुद संघ 

‘म्यानपावर’ जस्ता खेलकुद संघ 

फणीन्द्र फुयाल ज्वाला

हरेक नागरिकको बिमा गर्नु सरकारको दायित्व हो । अझ विकासित मुलुकमा त सरकारले उसका नागरिकलाई अनिवार्य रुपमा निःशुल्क बिमा गरिदिएको हुन्छ । बिमाले गर्दा कसैको दुर्घटना भई घाइते भए, अंगभंग भए वा मृत्यु भए उसको उपचार र अन्त्येष्टि कार्य बिमा कम्पनी वा सरकारले व्यहोर्ने गर्छ । यसले गर्दा पीडित परिवार वा व्यक्तिले थप आर्थिक पीडा बहन गर्नुपर्दैन । 

सन्दर्भ हो नेपाली खेलकुद क्षेत्रको । खेलाडीहरुले कुनै पनि राष्ट्रिय होस् वा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिँदा उसको दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिमा गर्नुपर्ने हो । तर नेपाली खेलकुद क्षेत्र आजको बैज्ञानिक युगमा पनि उही कामचलाउ र  ‘भगवान भरोसा’कै रुपमा परम्परागत शैलीमा चलिरहेको छ ।

नेपाली खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रत्येक चार वर्षमा नयाँ सदस्य सचिवको भर्ति हुन्छ तर उनीहरु दलगत र गुटगत रुपमा नियुक्ति हुँदा उनीहरुको काम गराई पनि पार्टी, दल र गुटको हितमा हुने गरेको देखिन्छ । खेलाडी र प्रशिक्षकको हित भन्दा पनि जागिरे मानसिकताका कारण खेलकुदको कुनै पनि घरेलु प्रतियोगितामा खेलाडीको बिमा हुने गरेको छैन ।

खेलकुदको बिकास गर्ने ‘भिजन’ लिएर प्रत्येक चार वर्षमा नियुक्त हुने सदस्य सचिवको काम गराई अन्ततः आम खेलाडीको हितमा भन्दा पनि आफू निकटका खेलाडी र आफू मातहतका खेलकुद संघलाई काखि च्याप्ने परम्परागत शैलीले “जति जोगि आए पनि कानै चिरिएका” भन्ने उखान नेपाली खेलकुद क्षेत्रमा चरितार्थ हुने गरेको छ । केही हप्ता अघि मात्र राखेपको सदस्य सचिव पदमा पूर्व नेकपा एमालेको र त्यसमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको तर्फबाट नियुक्ति पाएका रशेम सिलवालले खेलाडीको बिमा गर्ने काम आफ्नो प्राथमिकताको विषय बताएता पनि यो काम सम्पन्न गर्न भने सहज छैन ।

आउटडोर, इनडोर तथा साहिक तथा पर्यटकीय खेलमा खेलाडीको बिमा अनिवार्य रुपमा हुनुपर्ने माग वर्षौदेखि खेलाडी, प्रशिक्षक तथा सम्बन्धित खेलसंघका पदाधिकारीहरुले बारम्बार उठाउँदै आएका अजेण्डाहरु हुन् । तर यसअघिका सदस्य सचिवहरुले यो विषयलाई महत्वनै दिएनन् । जसले गर्दा खेलकुदका कुनै पनि प्रतियोगिताहरुमा खेलाडी घाइते हुँदा उनीहरु स्वयम्ले आफ्नो खल्तिको रकम झिकेर उपचार गर्नुपरेको बाध्यात्मक परिस्थिति नेपाली खेलक्षेत्रमा विद्यामा छ । अझ क्रिकेट, फुटबल, भलिबल, बास्केटबल र मार्शल आर्ट अन्तर्गतका तीन दर्जन भन्दा बढी खेलमा खेलाडीहरु अत्यधिक रुपमा घाईते हुने गर्दछन् ।

मित्रता, भाइचारा, अनुशासनको पाठ सिकाउँदै स्वस्थ नागरिक उत्पादन गर्ने खेलक्षेत्र भएता पनि भैपरी आउने दूर्घटनाका कारण कतिपय खेलाडीले उचित उपचारसमेत पाउने गरेका छैनन । मैदान, कोर्ट, रिङ, पिच र एरिनामा घाइते भएर लडेका खेलाडीहरुलाई पनि उनीहरुका सम्बन्धित खेलसंघ र राष्ट्रिय खेलकुद परिषद्ले समेत उचित उपचार नगर्दा कतिपय खेलाडीहरु दीर्घ रोगी बनेर बसिरहरनु परेका धेरै दृष्टान्तहरु खेलक्षेत्रमा अविस्मरणीय छन् ।

त्यसैगरी राष्ट्रिय मात्र नभई सबैखाले अन्तराष्ट्रिय र मैत्रिपूर्णं खेलमा पनि खेलाडीहरुको बिमा नहुँदा त्यसको प्रत्यक्ष मारमा खेलाडीमा नै पर्ने गरेको छ । खेलाडीले पदक जितेर ल्याउँदा गर्वले शिर झुकाउने राखेप, खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी र खेलकुदका संघसंस्थाहरुले खेलाडी बिमालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्न सकेको खण्डमा ‘राष्ट्रका लागि खेलकुद’ भन्ने नाराले सार्थकता पाउने थियो । 

त्यसैगरी बिगतदेखि खेलकुद क्षेत्रमा मौलाएको अर्को बिकृत पक्ष भनेको खेलकुदको आडमा ‘म्यानपावर सप्लाई’ कार्य हो । राखेपमा दर्ता भएका खेलकुद संघहरुले अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताका लागि खेलाडीहरुको साथमा संघका पदाधिकारीलाई अफिसियलका रुपमा पठाउने गरेका छन् । खेलकुद क्षेत्रमा यतिसम्म बिकृति मौलाएको छ कि कुनै एक प्रतियोगितामा सहभागि हुने खेलाडी एकजना हुन्छ तर संघका पदाधिकारी तथा अफिसियलहरु भने आधा दर्जनसम्म हुने गरेका छन् । संघका अध्यक्ष, महासचिव, उनीहरुका श्रीमती, छोराछोरी तथा अन्य आफन्त खेलकुदको आडमा विदेश शयर गर्न पल्किएका छन् ।

उनीहरु सकेसम्म सदस्य सचिवलाई पनि विदेश लैजाने प्रलोभनमा पारी फाइल सदर गराउँछन् । यदि सदस्य सचिव नमाने र फाइल सदर नगरे आफ्नो व्यक्तिगत खर्चमा विदेश जान लागेको हो, सरकारलाई कुनै आर्थिक भार पर्ने छैन भनि फुस्ल्याउँछन् । तर संघका पदाधिकारीहरुको बठ्याई यस्तो सम्म हुन्छ कि उनीहरु राखेपले खर्च नदिए आफ्नो खेल संघमा खेलाडी र प्रशिक्षकबाट उठाएको रकममा आफ्ना परिवार विदेश शयर गराउनुलाई शौभाग्य ठान्दछन् । 

अन्ततः मारमा पर्ने भनेको खेलाडी नैं हो । नेपाल जस्तो देशमा खेलाडीले खेल खेलेरै आफ्नो र आफ्नो परिवारको जीविका धान्न सक्ने वातावरण अझै पनि बनिसकेको छैन । त्यसैले खेल क्षेत्रका हरेक बिकृतिहरुको अन्त्य गर्दै स्वस्थ खेलकुदको विकास गर्नु नवनियुक्त सदस्य–सचिव रमेश सिलवालको लागि सफलताको नयाँ मार्ग हुन सक्छ ।  समयबद्ध साप्ताहिकबाट