खोला किनारका मजदुर विस्थापित

खोला किनारका मजदुर विस्थापित

तीन दिनदेखिको अविरल वर्षाका कारण खोलामा बाढी आएपछि आग्राखोला र महेशखोला आसपासमा मजदुरी गरेर बस्नेहरु विस्थापित भएका छन् ।

थाक्रे गाउँपालिका क्षेत्रको खोला किनारमा ढुङ्गा, गिट्टी सङ्कलन गरी बिक्री गर्दै आएका मजदुर खोला किनारमा बस्दै आएका थिए । खोलामा बाढी आएपछि उनीहरु विस्थापित भएको थाक्रे गाउँपालिका प्रवक्ता कुमार विश्वकर्माले बताए।

महादेवबेँसीको पक्की पुलमुनि ३०, जालजुलेमा १२, लितीदोभानमा २० र समनटारको बगरमा २० घरपरिवार मजदुर बस्दै आइरहेका थिए । आग्राखोलामा मात्रै होइन, महेशखोला किनारमा रहेको महादेवबेँसी बजारभन्दा ठिक तल रहेको महेशखोला किनारको सुन्दरबस्तीका २० परिवार पनि बाढीको जोखिम बढेपछि विस्थापित भएका छन् ।

गाउँकार्यपालिकाले कर्मचारी खटाएर लगत सङ्कलन गरे पनि उनीहरुका लागि व्यवस्थापन गर्न सकेको छैन । “महादेवबेँसी पुलदेखि आग्राखोलाको किनारमा बसोबास गर्ने सयौँ मजदुर परिवार र स्थानीयवासीलाई हामीले सचेत गराएका छौँ । तत्काल खोला छेउ नफर्कन आग्रहसमेत गरेका छौँ । मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा गएर बस्न भनिएको छ”, गाउँपालिका प्रवक्ता कुमार विश्वकर्माले बताए ।