एक निस्ठावान कम्युनिस्ट नेता श्याम अधिकारी रहेनन्

एक निस्ठावान कम्युनिस्ट नेता श्याम अधिकारी रहेनन्

२३ असार, काठमाडौं ।  माओवादी आन्दोलनका निष्ठा र आदर्शका प्रतिमूर्ति श्रीनाथ अधिकारी ‘श्याम’ को निधन भएको छ । विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका माओवादी नेता कमरेड श्यामको उपचारकै क्रममा हिजो ८ बजे  चिकित्सकहरुले मृत घोषणा गरेको छोरा नारायण अधिकारीले जानकारी दिए । 


किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य श्यामको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि विहान ९ बजेदेखि १२ बजेसम्म क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपण्डोलमा राखिने जनाइएको छ ।


दिवंगत नेता अधिकारीका एक श्रीमती, तीन छोरा र दुई छोरी  छन् । जेठो छोरा नारायण अधिकारी ‘निश्चल’ क्रान्तिकारी माओवादीकै केन्द्रीय सदस्य रहेका छन् ।


गएको पुस २९ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका श्यामलाई थप उपचारको लागि बैशाख २७ गते ललितपु्र हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा ल्याइएको थियो ।


 फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो । 


विसंं २०१२ सालमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका नेता अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापक समेत रहेका नेता अधिकारी सरल, मृदुभाषी, इमान्दार र निष्ठावान क्रान्तिकारी नेता थिए ।