सकियो पद, सकिएन आश !

सकियो पद, सकिएन आश !

फणीन्द्र फुयाल ज्वाला

पैसा, पद र प्रतिष्ठा कसलाई पो मन नपर्ला र ? यी तीन चीजबाट को टाढा बस्न सक्ला ? भनिन्छ, धन देखेपछि महादेवका पनि तीन नेत्र जाग्छन् । आखिर त्यसैको लागि त यहाँ युगौँदेखि बल, बुद्धि र जुँगा मात्र भिडेका छैनन्, हतियार पनि उठेका छन् । अहिले पनि यसैको प्राप्तिका लागि लडाइँ जारी छ । अस्त्र फरक छन्, बस्त्र फरक छन् । साम, दाम, दण्ड, भेद सकेको सबै प्रयोग गर्दै मानिसहरु तम्सिइरहेका छन् पैसा, पद र प्रतिष्ठाका खातिर ।   

प्रसंग हो नेपाली खेलकुद क्षेत्रको । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टको चार वर्षे कार्यकाल यही असार ९ गतेदेखि समाप्त भएको छ । खेलकुदमन्त्री पछिको शक्तिशाली यो पद हत्याउन आधा दर्जन बढी राजनीतिज्ञ तथा खेलकर्मी दौडधुप गरिरहेका बेला भर्खरै पदावधि सकिएका केशव कुमार विष्ट स्वयम् यो पद पुनः हात पर्ने आशामा छन् । र, सोही अनुरुप पूर्व नेकपा एमालेका शीर्षस्थ नेता, खेलकुदमन्त्री र प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले खेल क्षेत्रमा राम्रो काम गरेको फेहरिस्त सुनाउँदै हिँड्न व्यस्त भएको खेलकुद क्षेत्रमा चर्चा छ ।

केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादमा राखेपको उपाध्यक्ष पद हात पारेका पिताम्बर तिम्सिना पनि सदस्य सचिव पद प्राप्त गर्ने दौडमा पहिलो नम्बरमै देखिएका छन् । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा होस् वा स्वदेश फर्किदा होस्, उनी फूलका गुच्छा बोकेर विमानस्थल र बालुवाटार धाएका तस्वीर उनी स्वयम्ले फेसबुक वालमा पोष्ट गर्नुलाई उनी सामान्य ढंगले मात्रै सदस्य सचिव पद प्राप्त गर्न लागि परेका छैनन् मिहिन ढंगले नै अघि बढेको खेलाडी तथा खेलकर्मी पदाधिकारीबीच कानेखुसी हुने गरेको छ ।

भर्खरै पदावधि सकिएका केशव कुमार विष्ट खेलकुद क्षेत्रमा अझै आफूले केही राम्रा काम गर्न बाँकी रहेको बताउँछन् । निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी उनी गर्छन् ।

सदस्य सचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सुनाउँदै उनी जुलाईमा बस्ने आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने पनि उनी बताउँछन् । एक साक्षात्कार कार्यक्रममा उनले आफ्नो कार्यकाल दोहोरिएको खण्डमा आईसीसीको हेडक्वार्टरमै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताएका छन् । क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि जोड दिए ।

विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहेको दावी पनि गरेका छन् । विगतमा पटकपटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर १ देखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ । प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्ट सुनाउँछन् ।

आफू चार वर्ष सदस्य सचिव हुँदा गरेका काम बारेमा विष्टले बेलिबिस्तार लगाउँदै सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गरे । धुर्मुस–सुन्तलीलगायत केही निजी क्षेत्रले रंगशाला बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न पनि आग्रह गर्छन् ।

के गरे विष्टले चार वर्षे कार्यकालमा ?

आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ । भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरता, सबैजसो खेलकुद संघमा विवाद, बजेटको अभावजस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनले दावी गरेका छन् ।

आफ्नो कार्यकाललाई खेलकुदको स्वर्ण काल भएको स्वघोषणा गर्ने विष्टले इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेत पत्र जारी गरेको उल्लेख गरेका छन् । उनले दलगत स्वार्थबाट माथि उठेर खेल क्षेत्रको काम गरेर चार वर्ष बिताएको दवी गरेका छन् । आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तर्राष्ट्रिय पदक जित्नेलाई आजीवन भत्ताको व्यवस्था गरिएको विष्टको भनाइ छ ।

खेलाडीको स्वाथ्य, दुर्घटना र जीवन बीमा गर्ने प्रक्रिया सुरु गरिएका, विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफूले सात सयभन्दा बढी योजना बनाएर काम गरेको र यी कामलाई निरन्तरता दिई त्यसको नतिजा निकाल्न आफू पुनः सदस्य सचिव हुनुपर्ने विष्टको दावी छ ।

आफ्नो चार वर्षे कार्यकालमा फुटबल, कराँते, कुस्ती, बक्सिङजस्ता खेल संघमा भएका विवाद समाधान गर्नु ठूलो सफलता ठान्ने विष्ट २–२ वर्षमा गर्नुपर्नेमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफूले नियमित गराएकोमा गर्व गर्छन् । आफ्नो कार्यकालमा क्रिकेटले एकदिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकोमा पनि विष्ट सन्तुष्ट छन् । विगतमा एक सयभन्दा कम अन्तर्राष्ट्रिय पदक नेपाल भित्रिने गरेकोमा यस वर्ष त्यो सङ्ख्या ११ सय पुगेको भन्दै विष्टले घुमाउरो शैलीमा सदस्य सचिवका लागि आफू योग्य भएको फेहरिस्त सुनाए । उनी भन्छन्, ‘मलाई सदस्य सचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले पनि अहिले मेरो प्रशंसा गर्न थालेका छन् ।’
यिनै आधारमा विष्टले दोस्रो पटक पनि सदस्य सचिवको जिम्मेवारी पाउने आशा गरेका छन् । आफूले पहिलो कार्यकालमा गरेको कामका आधारमा पुनः जिम्मेवारी पाउने वातावरण बनेको उनी जिकिर गर्छन् । 

तर खेलकुद क्षेत्रमा अझ धेरै भिजन भएका नयाँ–नयाँ युवा अनुहारहरुको जन्म भइसकेको र अवसर पाएको खण्डमा विष्ट र उनीभन्दा अघिका सदस्य सचिवहरुले गर्न नसकेका कार्यहरु गर्न सक्ने र त्यसको स्पष्ट खाका आफूहरुसँग भएको दवी गर्नेहरु आधा दर्जनभन्दा बढी छन् । उनीहरु फाइल बोकेर खेलकुद परिषद्, मन्त्रालय र पूर्व नेकपा एमालेका शीर्षस्थ नेता तथा सांसदहरुको दौलो चाहार्न थालेको व्यापक चर्चा छ । समयबद्ध साप्ताहिकबाट