सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य उच्च भएको छ । हिजो मात्र प्रति तोला चौसठ्ठी हजार रहेको सुनको मूल्य आज एक हजारले बढेर प्रति तोलाको रु पैंसठ्ठी हजार पुगेको छ । नेपाली बजारमा सुनको मुल्य अझै केहिदिन बढ्न सक्ने संकेत देखिन्छ । सुनको मूल्य बढ्न थालेपछि ग्राहकहरु सुन पसलमा आउन छाडेको ब्यवसायीहरु बताउँछन् । सुन महंगो भएपछि नयाँ गहना किन्न भन्दा पनि पुरानो गहना गालेर नयाँ बनाउने ग्राहक बढ्ने र कतिपय ग्राहकहरुले घरायसी गर्जो टार्न समेत पुरानो गहना विक्री गर्न ल्याउने ब्यवसायीहरु बताउँछन् । 

सुनको मूल्य दैनक बढ्नुको मुख्य कारण भने अमेरिका र इरान विच बढ्दो तनाव र युद्ध तयारीले गर्दा न्यूयोर्कको आर्थिक बजार प्रभावित भई सुनको भाउ अन्तराष्ट्रिय रुपमै बढ्न पुगेको हो । यसको अतिरिक्त अमेरिका र चीन विच चलिरहेको ब्यापार युद्ध, फेडेरल बैंकको ब्याजदर घटाउने घोषणा गरी नघटाए पनि लगानीकर्ता सुनतिर नै आकर्षित भएकाले र अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य समेत बढेकोले सुनको मुल्य उच्च भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

सुनको मूल्य हप्ताभरी नै उतार चढाब भई साताको अन्यमा भने ह्वात्तै बढेको देखिन्छ । नेपाली बजारमा आईतबार बजार खुल्दा सनुकोभाउ प्रति १० ग्रामको रु ५४,०१५ रहेकोमा आज शुक्रबार प्रति १० ग्रामको रु ५५,७३० कायम रही हप्ताभरीमा १७१५ प्रति १० ग्राममा बृद्धि भएको छ । त्यसैगरी चाँदीको मूल्य आइतबार प्रति १० ग्राम रु ६१७.५० कायम रहेकोमा शुक्रबार प्रति १० ग्राम ६३४.५० कायम रहि हप्ताभरीमा रु १७ प्रति १० ग्रामको मूल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।