गठनको अन्तिम तयारीमा ‘मिडिया एशोसिएसन अफ नेपाल’

गठनको अन्तिम तयारीमा ‘मिडिया एशोसिएसन अफ नेपाल’

काठमाडौं, ६ असार । अभिन्यूज टेलिभिजनका अध्यक्ष  भष्करराज राजकर्णिकारको नेतृत्वको ‘मिडिया एशोसिएसन आफ नेपाल’ (म्यान) गठनको अन्तिम तयारीमा पुगेको छ । यसअघि बनेको मिडिया सोसाइटी कान्तिपुरको छायाँमा परेको नेपाली सञ्चार जगतमा सशक्त, सक्रिय, वरिष्ठ संचारकर्मीहरूको प्रयासमा मिडिया सोसाइटीको बिकल्पमा ‘म्यान’ गठनको अन्तिम तयारीमा जुटेका हुन् ।

आज नै घोषणा गर्ने भनिएको यो संगठनले एक हप्ता भित्रै आकार लिने भेलामा सहभागि एक पत्रकारले बताए । उनका अनुसार मिडिया एशोसिएसन अफ नेपाल (म्यान) नाम दिएर गठन गर्न लागिएको संगठनमा रातोपटि अनलाइनका ओम शर्मा महासचिव बन्ने चर्चा छ ।

त्यसैगरी यो संगठनमा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी, जनधारणा सप्ताहिकका सम्पादक निमकान्त पाण्डे, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी, तरुण साप्ताहिकका सम्पादक पर्शु घिमिरे, लोकान्तर अनलाइनका सम्पादक विमल गौतम, माउन्टेन टेलिभिजनका राजु कँडेल, अन्नपूर्णं पोष्टका रामेश्वर थापा, नागरिकका विनोदराज ज्ञवाली, सगरमाथा टेलिभिजनका निर्मल गुरुङ, थाहाका पवन पौडेल, राजधानी दैनिकका महेन्द्र शेरचन लगायत अन्य बिभिन्न सञ्चारमाध्यका सम्पादकहरु सम्मिलित हुने जनाइएको छ । 

हालको मिडिया सोसाइटीले समानुपातिक विज्ञापन, क्लिन फिड र मिडिया प्रवद्धनप्रति चासो नदेखाएको र मिडिया सोसाइटीका नाममा बिशुद्ध राजनीतिक कृयाकलाप मात्र गरेकाले यसको बिकल्पमा अर्को सशक्त 'मिडिया एसोशिएसन' गठन गर्नुपरेको जनाइएको छ ।

यसै साता गठन गर्ने भनिएको सोसाइटी केही दिन भित्रै गठन गर्न लागिएको साँघुका सम्पादक गोपाल बुढाथोलीले फेशबुकमार्फत जनाएका छन् ।

वैकल्पिक समूहका प्रतिनिधिहरुबीच भएको छलफल पछि नेपाली सञ्चार माध्यमलाई संरक्षण तथा प्रोत्साहन गर्ने सवालमा एकजुट हुन चाहने सञ्चार प्रतिष्ठानहरुको साझा संगठनको रूपमा ‘म्यान’लाई विकास गर्ने निर्णय भएको अर्का सहभागिले जनाए ।