ल्यापडग र गाइडडगको कथा

ल्यापडग र गाइडडगको कथा

 

भवानी बराल

हालै महात्मा गान्धीको गोप्य अंग, ल्यापटप र ल्यापडगको बारेमा चर्चा गरियो । यो लेखोटमा नेपाली पत्रकारिताको ल्यापडग र गाइडडगको बरेमा चर्चा गरिने छ । 

नेपाली पत्रकारितामा देखिएको पीत पत्रकारिता प्रवृत्ति यति मौलाएको छ कि यसलाई रोक्न सरकारले मिडिया काउन्सिल विधेयकमा कडा कानूनी डण्डा नै प्रस्ताव गरेको छ । यस्तो कानूनी व्यवस्थाको अभ्यासले नेपाली पत्रकारिताको भविष्यमा कस्तो प्रभाव पर्छ ? त्यो परिणामले देखाउने हो । तर, मिडियाले दिएको पीडा भुक्तान गर्नेहरुको लागि भने यो व्यवस्था सामान्य नै लाग्दछ । यसैले मिडिया काउन्सिल विधेयकको विरोध खारेजी हुँदै संशोधनमा झरेको छ ।

यहाँ फेरि पनि प्रसंग महात्मा गान्धीबाटै सुरु गर्दैछु । उतिखेर भारतीय जनताले गान्धीलाई यति धेरै विश्वास गर्थे कि गान्धीलाई ब्रम्हाण्डमा भएका सबै विषय जानकारीमा छ । गान्धी कानूनको विद्यार्थी हुन । तर उनलाई भारतीयहरु चिकित्सा सम्बन्धी सल्लाह पनि लिन आउँथे रे ! यस्तैमा भारत विहार छपराका एक जोइपोइलाई चिनी रोग लागेछ । धेरै उपचार गर्दा पनि निको नभएपछि रोगको निदानबारे गान्धीलाई सोध्ने विचार गरेछन । र, गान्धीलाई भेट्न बम्बई गएछन । 


केही दिन लगाएर बम्बै पुगेका जोइपोइले गान्धीलाई भेटेर आफ्नो रोगमा उपचारको सल्लाह मागेछन् । गान्धीले एक वर्षपछि फेरि आउने र सल्लाह दिने बचन दिएछन् । यसरी विहारी जोइपोइ घर फर्किए । एकवर्ष पछि फेरि उनीहरु गान्धीलाई भेट्न पुगे र उपचार सोधेछन । गान्धीले उब उप्रान्त चिनी नखानु भनेर सल्लाह दिएछन । 

जोइपोइ रिसले चुर भएछन । यति नाथे कुरा एकवर्ष अगाडि भनिदिएको भए यत्रो धाउने दुःखै गर्नु पर्ने थिएन भनेर गान्धीसँग झोँक्किएछन् । फेरि यो रोग लाग्दा चिनी वा गुलियो खानु हुन्न भन्ने जो कोहीलाई थाहा भएकै कुरा हो । गान्धीले प्रस्टीकरण दिँदै भनेछन, ‘एक वर्ष अगाडि म चिनी खान्थे यसर्थ तिमेरुलाई नखान सल्लाह दिनु मेरो नैतिकताले दिँदैनथ्यो । अहिले मैले पनि चिनी खान छोडिसकेको छु । यसर्थ यो सल्लाह दिएको हुँ ।’ जोइपोइ पनि बाटो लागे । 

मिसन र कमिसन :

यो प्रसंग नेपाली पत्रकारितामा पनि लागू हुन्छ । नेपालका पत्रिका र पत्रकारहरु अरुलाई उपदेश छाँटिरहँदा के ती पत्रिका र पत्रकार नैतिक मूल्यमा गान्धी झैं खरो उत्रेका छन ? नैतिक मूल्यमा खरो उत्रेपछि मात्र अरुलाई नैतिकताको पाठ सिकाउन मिल्छ । सञ्चारमाध्यको लगानी र आम्दानीको स्रोत पारदर्शी हुनु पर्छ । नेपाली सञ्चार माध्यमले भ्रष्टाचार, अनियमितताको प्रश्न उठाउँदा उसको लगानी र आम्दानीको प्रश्न पनि नेपाली समाजमा उठ्ने गरेको छ । भलै समाजले सञ्चारमाध्यममा उठाउने गरेको प्रश्न बाहिर आउँदैन, आएको छैन । 

केही सामाजिक सञ्जालमा उठ्ने गरेको बाहेक । तर, नेकपाका सांसद हृदयेस त्रिपाठीले सार्वजनिक रुपमै नेपालको पत्रकारिता हिजो मिसनमुखी थियो, आज कमिसनमुखी भएको छ भन्ने गरेका छन् । 
 
उदयपुरका पत्रकारलाई ल्यापटप लिएकोमा ल्यापडग बन्ने संकेत गर्नेले पहिले आफ्नै अनुहार ऐनामा हेरे पुग्छ । के ती मिडियाले विक्री र विज्ञापनकै स्रोतमा मिडिया चलाएका हुन ? तिनको व्यावसायिकताको पारदर्शिताले यो सबै छर्लङ्ग बनाउने छ । 

ल्यापडग र गाइडडग :

पत्रकारितामा वाचडग, ल्यापडग र गाइडडग शब्द प्रचलनमा छ । वाचडग पत्रकारिताको प्रारम्भिक सूत्र हो भने ल्यापडग नकारात्मक अर्थ दिने र गाइडडग उत्कृष्ठ अर्थ दिने शब्दावली हो । आजको नेपाली पत्रकारिताको लडाईं भने शिर्षकमा भएको प्रवृत्तिसंग हो । तर, यी दुई शब्दावलीमध्ये ल्यापडग नै हावी छ । अर्थात काखे (गोदी) मिडियाले गाइडडग प्रवृत्तिलाई पत्रकारिताको रिङबाटै बाहिर राखेको छ । नेपाली पत्रकारिताको मूल प्रवृत्ति गाइडडग अर्थात जनपक्षीय निर्देशकको रुपमा हुनु पर्दथ्यो । जनतालाई सचेत, शिक्षित पार्दै जनमत निर्माण गर्ने हदको हुनु पर्दथ्यो । त्यसो विल्कुल हुन सकेको छैन । आलोचकहरुले अहिलेको पत्रकारितालाई पार्टीकारिता वा पर्चाकारिता भन्ने गरेका छन् । यतिसम्म भैदिँदा त ठीकै हुन्थ्यो । तर यो पनि नरम आलोचना हो । यसभन्दा बढी नै यसको प्रवृत्ति भडकेको छ । गुटकारिता हुँदै यो व्यक्तिकारितामा झरेको छ । फलाना सञ्चारमाध्यमले फलानालाई खेद्छ, फलानालाई चलाउँदैन, फलानाको उछितो काड्छ भन्ने छ । फलाना सञ्चारमाध्यमले फलानालाई छोडेर फलानापन्थी भैसकेको छ भन्ने कुरा आम भइसक्यो । यस मानेमा आजको पत्रकारिता गाइडडगको भूमिकामा छैन ।  

सवाल जबाफ :

आज सवाल जवाफ गर्ने मञ्चको अभाव खड्किदो विषय हो । जनताप्रति जनप्रतिनिधिहरु उत्तरदायी हुनुपर्छ । मोटो रुपमा जनताले सिधै जवाफतलव गर्न सक्छन । तर यस्तो सँधै सम्भव हुन्न । यसर्थ स्वाभाविक माध्यम प्रेस हुनुपर्छ । 

शासक र जनताबीचको सवालजवाफको घर्षणबाट पैदा भएको विचारलाई संश्लेषण गरेर निर्देशन गर्नु आजको पत्रकारिताको दायित्व हुनु पर्ने हो । त्यसैको अभाव छ । नेपाली पत्रकारितामा गाइडडग प्रवृत्ति छैन । जनता प्रेस र सरकार दुवैको वैधताको स्रोत हुनुपर्छ । यसले जवाफदेहीताको माग गर्छ । कुनै एक वा दुवै पक्षले जवाफदेहिता निभाएन भने के हुन्छ ? त्यो पत्रकारिता हुन सक्तैन ।


वेबसाइटमा हरेक खबर, आलेख र रिपोर्टमा टिप्पणी गर्ने सुविधा हुन्छ । तर त्यस्ता टिप्पणी  सुधार नगर्ने हो भने अश्लील र अराजक स्थिति बन्छ । यसको अन्दाजा आजका संपादकहरुले गरेको हुनु पर्छ । अखÞबार, पोर्टल र च्यानलदेखि व्यक्तिगतरुपमा संपादकहरु सोसल मीडियामा पाठकहरुसंग सम्वाद गरिरहन्छन । तर त्यहाँ पनि बहस गुटबन्दी, व्यक्तिवादिता हावी हुन्छ र मूल विमर्श भट्किन्छ ।

आज सोसल मिडियाको कारण जनता नै मिडिया हो । मिडिया नै जनता हो भनेर धर पाउने स्थिति छैन । व्यावसायिकता, प्रविधि र पूँजीले यसको संस्थागत चरित्रलाई परिवर्तन गरेको छ  । बहस, चर्चा र विमर्शको कार्यसूची पहिले नै तय भइसकेको हुन्छ । पत्रकारिता सम्बन्धि किशोर नेपालले लेखेको (मेरो समय भन्ने पुस्तक जस्तो लाग्छ) पुस्तकमा आजको मिडिया कसरी कुनै एक पक्षको हेजेमोनीको शिकारमा पुग्छन भन्ने सटिक तर्क गरिएको छ । सवालजवाफको अवसर पनि त्यहाँ प्रतिक्रियावादीको भेटीमा चढिसकेको हुन्छ । त्यहाँ मिडियाले बनिबनाउ पक्षविपक्ष तयार गर्छ । प्रोपोगण्डा र मिसइन्फरमेसन गराउने संयन्त्र बनाइन्छ । नागरिकले गर्ने पत्रकारिता र नागरिकको लागि गरिने पत्रकारितामध्ये दोस्रो पत्रकारिता भ्रष्टीकरणमा गएको छ । विषालु पत्रकारिताको विगविगी नै भएको छ । यस्तो समयमा विचारयुक्त पत्रकारिताको खाँचो खड्केको हो ।