अन्ततः प्रकाश कँडेल रिहा : विना कुनै धरौटी चार जना नै सामान्य तारिखमा हिरासत मुक्त

अन्ततः प्रकाश कँडेल रिहा : विना कुनै धरौटी चार जना नै सामान्य तारिखमा हिरासत मुक्त

२७ जेठ, भरतपुर । १२ दिनको रस्साकस्सीका बीच बहुचर्चित डोजरकाण्डका मुख्य अभियुक्त भनिएका प्रकाश कँडेलसहित भैरव बस्ताकोटी, सुरेन्द्र विक र ध्रुव चापागाई गए राति रिहा भएका छन् । जनताले स्वतः स्फुर्त रुपमा रंगशालाको बार भत्काएको ठहर गर्दै पटकपटक गर्दै बिना कुनै धरौटी नै अन्ततः सम्पूर्ण १८ जना नै स्थानीयबासी हिरासत मुक्त भएका छन् । चार जना हिरासत मुक्त भएपछि स्थानीयवासीले स्वतः स्फूर्त रुपमा आइतबार राति नै अविरजात्रा गरेर गाउँ परिक्रमा गरेका थिए ।

जनताले उठाएको जायज मागको उचित सम्बोधन नगरी सम्बन्धित पक्षहरु अनिर्णयको बन्दी भएकाले दुःखद घटना भएको यसअघि स्थानीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ । १२ दिनसम्म पनि स्थानीयबासी चार जनालाई रिहा गर्ने कुनै संकेत नभएको र अझ त्यस पश्चात पनि बाटोको पनि कुनै सुनिश्चित नभएकाले  आइतबार बिहान रामपुर शान्तिचोक बाटो निर्माणार्थ संघर्ष समिति सार्वजनिक गर्दै स्थानीयवासीले थप संघर्षका कार्यक्रम अगाडि बढाउने घोषणा गरेका थिए । संघर्ष समिति घोषणा समिति हिजो पहिलो पटक धर्नाको क्रममा भरतपुर महानगरको प्रांगणमा ३१ मिटर बाटो सुनिश्चित गर लगायतको नारा लगाइएको थियो । संघर्ष समितिको यो अभूतपूर्व सफलता हो, २४ घण्टा नै नबित्दै हामीले हाम्रा स्थानीयवासीलाई छुटाउन सफलभएका छौं, छोटो प्रतिक्रिया दिँदै स्थानीय संघर्ष समितिका प्रवक्ता श्याम अधिकारीले बताए । अब स्थानीयबासी छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

महानगर र धुर्मुस सुन्तली फाउण्डेशनको असावधानीले ३१ मिटरको बाटो सुनिश्चिता नगरी बाटो च्यापेर जस्ताको बार लगाउँदा डोजरकाण्ड भएको बुझिन्छ । तर, यथास्थानमा नै बार लगाउने एउटा कागजमा हस्ताक्षर गर्न लगाएर मात्र चार जनालाई रिहा गरिएको देखिन्छ । स्थानीयबासी र महानगरमा कसले जित्ने भन्ने भावनाले अविरजात्रा र सो विज्ञप्ति आएको छ । यसले विषयवस्तुलाई उचित सम्बोधन विना अघि बढ्ने हाम्रो पुरानो संस्कारलाई नै झल्काउँछ । यसले यो समस्या फेरि पनि बल्झिने संकेत अहिले नै देखिइसकेको छ ।