माओवादी, नयाँ शक्ति हुँदै समाजवादीमा: जोइपोइको राजनैतिक जात्रा

माओवादी, नयाँ शक्ति हुँदै समाजवादीमा: जोइपोइको राजनैतिक जात्रा

भवानी बराल

उहिले नै उहिले निकै नै पहिले बाबुराम भट्टराई कांग्रेसी हुुँदै माओवादीमा आए । बाह्रबुँदे समझदारी गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि माओवादी कै रथ चडेर अर्थमन्त्री हुँदै प्रधानमन्त्री भए । तर उनको राजनैतिक जात्रा यतिमै सकिदैंन उनी ह्याट्रक गर्दै अगाडि बढेका छन् । भ्यागुत्ता उफ्रे झैं उफ्रि रहेका छन् ।

त्यसपछि कै कुरा हो । बाबुराम नयाँ शक्तिको कुरा लहरे खोकी झैं खोक्न थाले । तर हिसिलाले बाबुरामको कुरोलाइ छेउकुनो पत्याएकी थिइनन् । घरभित्रबाट नै नयाँ शक्तिको विजारोपण गर्न नसके त्यसले साकार रुप लिन नसक्ने कुरा बाबुरामलाई लागि रहेको थियो । पार्टी गठन गरेर अगाडि बढ्ने कुरा आइसकेको थियो । यत्तिकैमा हिसिलालाई सहमत गराउन उनले वार्तालाप गर्ने निधो गरे । हिसिला कसरी सहमत भइन् भन्ने विषय आज पनि चाखको विषय भएकोले यहाँ प्रस्तुत गरिएको छ । 
बाबुरामले गफैगफमा ठूलो स्वरमा भने, ‘नयाँ शक्ति चाहिन्छ ।’ 

छेउमै बसेकी हिसिलाले बाबुरामको मुख हेर्दै सोधिन, ‘कति हर्ष पावरको ?’ 
‘यो इन्जिनियरिङ प्रविधिसँग अन्तरसम्बन्धित छैन हिसिला ।’ बाबुरामले यसो भन्दै मुख फर्काए । 
‘अनि शक्ति भनेपछि त हर्ष पावरमा आउने हैन त बाबुराम ‘कम’ ‘रेड’ ?’ हिसिलाले जोड दिएर भनिन् । 
बाबुरामले प्रस्टयाउन खोज्दै भने, ‘प्रविधिमा मात्रै शक्ति हर्ष पावरमा मापन गरिन्छ ।’ 

भूपू इन्जिनियर हिसिलाले कुरो बुझबुझे जस्तो गरी भन्न थालिन, ‘ए हो त नि राजनीतिमा त हर्ष पावरको काम छैन नि ।’ 
बाबुरामले हिसिलालाई अझै प्रस्ट पार्न मुख चुच्चो पारे र थपे, ‘प्रविधिमा जस्तो राजनीतिमा हर्ष पावर हुन्न । राजनीतिमा हर्ष पावर लाउँदा सबै कुरा हुने भए हिटलर, मुसोलिनी, बोकासासंग कति हर्ष पावर थियो होला । सद्दाम हुसेनको हर्ष पावर मात्रै हैन ऊँट पावर पनि थियो । उहिले नै उहिले धेरै नै पहिले रावणका पालामा, तेत्तिसकोटी भगवानका पालामा ऐरावत (हात्ति) पावर पनि थिए । महाभारत युद्धमा कौरवसँग कति हात्ति थियो होला, हात्ति पावर ? तर पाण्डवले मान्छे जस्तै हुबहु लाग्ने हनुमान (बाँदर पावर) को सहयोगमा युद्ध जिते । हस्तिनापुरको पाँच गाउँ माग्दा कौरवले दिएनन् पछि बाँदर पावरको सहयोगमा पाण्डवले ‘पुरै हस्तिानपुर जितेको कथाकुथुङग्री छ ।’ 

‘टिमी ट सारै अन्टरमुखी छौ । टेसो भा कुन पावरको कुरा गरेको ट ?’ हतारमा बोल्दा हिसिलाको पुरै नेवारी लवज झल्कियो । अनि उत्तरको आशले बाबुरामको मुखतिर टोलाउन थालिन् । 
बाबुरामले दुई शब्दमा दुई टुक जवाफ दिए, ‘मेनपावर ।’ 

‘मेनपावर त खुबै फस्टाएको छ नेपालमा । मेनपावरको विजिनेस गरेर करोडौं कमाएका छन् । मेन पावरको रेमिन्ट्यान्सले घरको छाना मात्र हैन, देशै चलेको सर्वविदितै छ ।’ 
मेन पावरबारे हिसिलाले धारा प्रवाह खोक्न थालिन्, ‘ठीकै भन्यौ बाबुराम ‘कम’ ‘रेड’। मैले तिमीलाई लभ खेलेर त्यसै ल्याएको हैन । विसे नगर्चीको सहयोगमा पृथ्वीनारायण र उनका सन्तानले २४० वर्ष खाए । तिम्रो सहयोगमा म, मानुषी, तिम्री जेठी सासु र सालीहरुले कति खान्छौं हेर्दै जाउँ ।’ 

हिसिलाको मेनपावर अध्याय सुनेर दिक्दार मान्दै बाबुराम भन्न थाले, ‘त्यसो भनेको हैन । मैले मेनपावरको बिजिनेस गर्न खोजेको पनि हैन । राजनीतिमा नयाँ शक्ति चाहियो । २१ औं शताब्दीमा त्यो शक्ति हर्ष पावरबाट हैन मेनपावर अर्थात जनशक्तिबाट पाइन्छ भन्ने हाम्लाइ लाइरा’छ ।’ 

हिसिलाले बल्ल कुरोको चुरो बुझै झै गरे भनिन, ‘ए टेसो पो ।’ 
यतिकैमा बाबुराम चुप लागेपछि हिसिलाले हाब्रो च्यातेर बत्तिसा देखाउँदै प्रवचन अगाडि बढाइन, ‘मेनपावरको रुप र सार दुबै बुझेँ । २०६४ सालको पहिलो संविधानसभासम्म आउँदा हामीसँग हर्ष पावर थिएन तर मेनपावरका रुप र सार दुबै थिए । रुपमा बाहिर वाइसियल, सारमा भित्र जनमुक्ति सेना थिए । तब त चुनाउ गजपैले जितियो । २०७० को दोस्रो चुनाउमा आइपुग्दा रुपका मेनपावर वाइसियल लाखापाखा लागिसकेका थिए । सारका जनमुक्ति सेना पनि सेण्टिफ्ल्याँट भैसकेका थिए । तबै त मजैसँग चुनाउमा चिलिम खाइयो । ठीकै भन्यौ बाबुराम ‘कम’ ‘रेड’ ।’ 

तर बाबुरामले उत्साहित भएर सोधे, ‘अघिदेखि तिमीले मलाई कामरेड नभनेर किन घरीघरी ‘कम’ ‘रेड’ भनेको ?’ 
हिसिलाले झटपट जवाफ दिइन, ‘चुनवाङसम्म त तिमी कामरेड नै थियौं । तर त्यस उप्रान्त तिम्रो रातो रंग खुइलिँदै गयो त्यही भएर कम्ती रेड अर्थात कम रेड भनेको हुँ । कम्युनिस्ट पार्टी छोडेर नयाँ शक्तिमा लाग्ने भएपछि ट टिमी कम रेड पनि रहेनौ ।’ 
बाबुरामले मुख चुच्चो पार्दै हाँसे, ‘उहुँहुँ... उहुँहुँ... ।’

जोइपोइको दोस्रो इनिङ

यतिकैमा जोइपोइको राजनैतिक इनिङ सकिँदैन दोस्रो इनिङ सुरु हुन्छ । उनीसंग आएका नयाँ शक्तिका पहरेदार लाखापाखा लागे पछि उनी पनि मधेस झर्ने क्रममा लागे । यसपछि के भयो आगे पाठककै जिम्मा ।

मनमखु.... छु ख ? 

‛टिमीले भन्यौ कम्युनिष्टमा जौं मैले सरासर कम्युनिष्टमा गै पठायो । विहे गरौं भन्यौ विहे गरी पठायो । छोराछोरी जन्माउ भन्यौ । मायुषी जन्माइ पठायो । जनयुड्डमा जौं भन्यौ गै पठायो । शान्टि प्रक्रियामा आउ भन्यौ आइ पठायो । चुनाउमा जौं भन्यौ गै पठायो । मन्ट्री खाउ भन्यौ खाइ पठायो । मावोवाडी छोडी पठाउ भन्यौ छोडि पठायो । नयाँ शक्टी बनाउँ भन्यौ, मैले अण्ढ समर्ठन ग¥यो । फोरममा ठाहै नडिई गयो म पनि लुरुलुरु आइ पठायो । मेरो जिण्डगी आइ पठायो र गै पठायो भयो । टिम्रै पछि लाग्ने मेरो जिण्डगी ठूइक्क ।’ लामो सुस्केरा फाल्दै हिसिला यमीले कुरो फुराइन ।

बाबुरामले सम्झाउँदै भने, ‛तेसो होइन हिसिला । हामीले अस्तित्व जोगाउन माछा जस्तै पौडी रहनु पर्छ । हिजो हामी कुवाको भ्यागुत्ता जस्तै थियौं । चौथो महाधिवेसनबाट मसाल भयौं । मसालबाट माओवादी । तर हामीले फड्को हान्न सकेनौं । भ्यागुत्ता जस्तै एउटा कम्युनिष्ट घटकबाट अर्को कम्युनिष्ट घटक आहालमा उफ्रीपाफ्री गरिरह्यौं । भ्यागुत्ताले कुवा फेरेजस्तै । तर जब हामी नयाँ शक्तिमा आयौं हामीले समुद्र भेट्टायौं । त्यहाँ अनेक खालका जलचरहरु भेटीए । केही समयसम्म ति जलचरहरु हामीसंग रहे । तर तिनले हामीसंग हेलिन सकेनन् र लाखापाखा लाखे । हामीले सोच्यौं अब यो समुद्रमात्र मथेर हुँदैन । अर्को ठूलो महासागरको यात्रामा निस्कनु पर्छ । पहाडका पोखरीमा मात्र हाम्रा ज्ञानका सीमा कैद गर्नु हुन्न । मधेसका फाँटीला मैदानमा विचरण गर्नु पर्छ । अहिलेको एकताको सन्देश त्यहि हो ।’
‛टर टिमीले बेड सल्लाहसम्म मसंग गरेनौ किन । जटिपल्ट टिमी उठेर गयो टेटीपल्ट नै हाम्रो बेडमा सल्लाह भाको ठेन ।’ हिसिलाले रिस पोखिन । 

त्यस्तो पनि होइन भन्ने हाम्लाइ लाइरा’छ । म अलिक अन्तरमुखि भएको त हुँदै हो । तर सल्लाह गरिरहने पक्षमा पनि म छैन । माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुबेको नीति कथा छ । त्यो नीति कथाको म अनुयायी नै हो । त्यही नीति सिद्धान्त अनुसार यी सब काम भैराखेका हुन । यसको अर्थ अझ बेड पार्टनरसंग सल्लाह गनु पर्छ भन्ने त हुँदै होइन ।’ बाबुरामले कुरो छिनाल्न खोजे । 

‛अनी यस्तो अप्रट्यासिट राजनैटीक जिवन नै हो हाम्रो ?’ हिसिलाले जिज्ञासा राखिन ।
‛राजनीति यस्तै अप्रत्यासित हुन्छ भन्ने हाम्लाइ लाइरा’छ ।’ बाबुरामले कुरोलाई छोट्याउन खोजे ।

हिसिलालाई बाबुरामको कुरो घैंटोमा गैरहेको थिएन । के सोधुँ न के सोधुँ भैराखेकै थियो । यतिकैमा उनले भनिन, ‛टिम्रो कुरा मेरो अन्तरमनमा कच्चा पडार्ठ जस्टै हुन्छ । टर ट्यो कच्चा पडार्ठलाई ग्याल्बोनाइज गरे बस्टुमा परिणत गर्ने वा नयाँ उट्पाडदन गर्ने मामिला मेरो बाक्लो डिमागले ठाहा पाउँडैन । ट्यसैले म लुरुलुरु टिम्रो समर्ठक ।’

‛त्यसैले मैल तिमीसंग बेड सल्लाह नगरेको हो ।’ बाबुरामले कुरा सके । 

‛टिमीले प्रचण्ड भन्दा अगाडिदेखि दशैंको तिकातालो किन गरेउ ? कर्नाली पुगेर डौरासुरुवाल किन लगायौ भनेको ट उफ्रिनलाई पो र’छ । हामी ट हाकुपटासी लगाएको उफ्रिन पनि नसक्ने बा ।’ हिसिलाले कुरो थपिन ।
‛मोटो रुपमा नेपाली समाज तिन समुदायमा विभाजित छ । पहिलो खस–आर्य, दोस्रो मंगोल र तेस्रो मधेसी । मसिनो रुपमा राई, लिम्बू, गुरुङ, मगर, नेवार, तामाङ, थारु, क्षेत्री, बाहुन, दलित, मुस्लिम, मधेसीहरु छन् । मैले खस आर्यको प्रतिनिधित्व गर्न कर्नाली पुगेर दौरा सुरुवाल लगाएको हो । दशैंको हर्षबढाँइ पनि खस आर्यको संस्कृति देखाउन गरेको हो । त्यहिँदिन देखि मैले नेपालको सबैभन्दा ठूलो समुदाय मधेसीसंग एकता गरेर नेपालको एकता पुर्ण गर्ने विचार गरेँ । अहिलेको एकता त्यसैको परिणाम हो ।’ बाबुरामले सारगर्भित व्याख्या गरे ।

अनी उनीहरुलाई हाम्रो अजाअजीको पालामा ‛मनमखु ....ख’ भनेको सुनि पथाको ठियो ।
‛मनमखु ..... ख’ पनि होइन ‛मनमखु धतुरो ख’ पनि होइन ।’ बाबुरामले जोइपोइ अन्तरक्रियाको समापन गरे ।