भारतीय लोकसभा चुनाव : प्रारम्भिक गणनामा सत्तारुढ गठबन्धन एनडीए अगाडि, पुनः मोदी सरकार 

भारतीय लोकसभा चुनाव : प्रारम्भिक गणनामा सत्तारुढ गठबन्धन एनडीए अगाडि, पुनः मोदी सरकार 

९ जेठ, काठमाडौं । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको देखिन्छ । विभिन्न ठाउँहरुबाट सार्वजनिक भएको आँकडा अनुसार प्रायजसो ठाउँमा सत्तारुढ बीजेपी नै अगाडि देखिन्छ ।

भारतीय मिडिया आजतक अनुसार मतगणनाको पछिल्लो परिणाममा बिजेपीको २ सय ९० स्थानमा अग्रता लिएको छ ।

एबिपी न्यूजका अनुसार ५४३ लोकसभा सिट मध्ये भाजपा एक्लैले ३२९ सिटमा अगाडि रहेको छ। एनडीएले ३१७ सिटमा अग्रता कायम गरेको छ। युपीए १०६ सिटमा अघि रहेको छ।

नवभारत टाइम्सले पनि एनडीएले अग्रता लिइरहेको उल्लेख गरेको छ। नवभारत टाइम्सका अनुसार एनडीले २९९ सिटमा अग्रता कामय गरेको छ भने युपीएले १०६ सिटमा अग्रता कायम गरेको छ।

प्रारम्भिक मत परिणामका अनुसार भारतमा पुनः प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बन्ने निश्चित छ। यस अगाडी सार्वजनिक भएका एक्जिट पोलहरुले समेत मोदीको पुनरागमन हुने बताएको थियो ।

प्रारम्भिक मत परिणामले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई पुनः धक्का लाग्ने संभावना देखिन्छ। मोदीलाई पराजित गर्दै केन्द्रमा गठबन्धन सरकार बनाउने दावी गरेका गान्धीलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रित गरिन्थ्यो ।

यसपटकको निर्वाचन मोदी र भारतीय कांग्रेसको अध्यक्ष राहुल गान्धीको लोकप्रियता र राजनितिक भविष्यको जनमतसंग्रहका रुपमा समेत हेरिएको थियो।यस चुनावको मतगणना अनुसार भाजपा र एनडीएले मतपरिणाममा अग्रता हासिल गरेसँगै भारतभर भाजपा र एनडीए कार्यकर्ताहरुले विजयी र्‍याली निकाल्न सुरु गरिकेका छन्।