केदारनाथको मन्दिर उद्घाटन

केदारनाथको मन्दिर उद्घाटन

भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिरको आज नेपाल मजदूर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गरेका छन् । 

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर नगरपालिकाले उपभोक्ता समितिमार्फत् पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गर्दै उपत्यकाका मूर्त र अमूर्त सम्पदाको संरक्षण तथा सम्वद्र्धनको आवश्यकता औँल्याए ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्र्धारित समयभन्दा अगावै मन्दिर पुनःनिर्माण सम्पन्न भएकाले सम्पदा पुनःनिर्माणमा कहिल्यै पनि अरुको भर पर्नु नहुने बताए। त्यसअवसरमा नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरालेलगायतले यहाँका सम्पदा पुनःनिर्माणमा नगरपालिकाले देखाएको अग्रसरता नमूनाको रुपमा रहेको चर्चा गरे । मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख प्रजापतिलाई हस्तान्तरण गरे।