भारतको निर्वाचन परिणामको घोषणासँगै दक्षिण एसियाको राजनीतिले  कोल्टे फेर्ने संकेत 

भारतको निर्वाचन परिणामको घोषणासँगै दक्षिण एसियाको राजनीतिले  कोल्टे फेर्ने संकेत 
भारतको निर्वाचन परिणामको घोषणासँगै दक्षिण एसियाको राजनीतिले  कोल्टे फेर्ने संकेत 

काठमाडौं । भोलि अर्थात, विहिवार (मे २३) मा भारतको तल्लो सदनको निर्वाचन परिणाम आउँदैछ । यो परिणामको घोषणासँगै दक्षिण एसियाको राजनैतिक गतिविधिले कोल्टे फेर्यो भने पनि अन्यथा नमाने हुन्छ । सत्तारुढ भाजपाले सरकार बनाए पनि दक्षिण एसियाली सम्बन्धहरुसँगै विश्व राजनैतिक धुरीमा पनि व्यापक परिवर्तन हुने लक्षण छ ।

लोकसभा निर्वाचनको परिणाम सत्तारुढ भाजपा गठबन्धनकै पक्षमा आउने देखिएसँगै दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा व्यापक परिवर्तन हुने संकेत विश्लेषकहरुले गरेका हुन् । सत्तारुढ भाजपाले विगतको परम्परागत क्षेत्रीय कूटनीतिलाई पुनरावलोकन गर्ने र त्यसमा सबैभन्दा बढी नेपाल प्रभावित हुने अड्कल गरिएको छ । 

नेपालमा यसअघि भएको पश्चिमा शक्ति खासगरी हिन्द–प्रशान्त रणनीतिमा भएको कुदाकुदले पारेको राजनीतिलाई सत्तारुढ भाजपाले नजिकबाट नियालिरहेको थियो । यसै परिदृश्यमा हिन्द–प्रशान्त रणनीतिकारले भाजपालाई निर्वाचनमै सेबोटेज गर्न चाहेको थियो । यसमा रणनीतिकारले खासै सफलता प्राप्त गर्न त नसकेको नै अड्कल गरिएको छ । तर, भाजपालाई निर्वाचनमै हावाकावा भने खेलाइ दियो । लोकसभा निर्वाचनमा अन्तर्राष्ट्रिय शक्ति केन्द्र खासगरी पश्चिमा शक्तिहरुले खेलेको भूमिकाका कारण भाजपाले निर्वाचनपछि क्षेत्रीय राजनीतिलाई बढावा दिने देखिएको हो । यसमा सार्कलाई पुन सक्रिय बनाउने र यस क्षेत्रको क्षेत्रीय शक्ति सन्तुलन र सम्बन्धलाई सामान्यीकरण गर्ने हदसम्मको  काम बढाएर क्षेत्रीय राजनीतिलाई आफू अनुकूल बनाउने प्रयास अब आउने भारत सरकारले गर्ने संकेत हालै भारत भ्रमणमा गएका नेपाली पत्रकारलाई भारतको विदेश मन्त्रालयले गरेको छ ।

यसो नगरे फेरि पनि भारतीय राजनीतिको बर्चस्व यस क्षेत्रबाट गुम्दै जाने अड्कल सरकारले गरिसकेको आफूलाई लागेको एक पत्रकारले समयबद्धलाई बताए । छिमेकी चीनसँगको अनावश्यक प्रतिष्पर्धाले भारतमा पश्चिमा शक्तिको प्रवेशसँगै भारतीय राजनीतिमा भारतीय दलकै पकड ढिला हुँदै गएको भारतीय राजनीतिका विचारकहरुले गर्दै आएका छन् । पश्चिमाहरुको प्रभावलाई विचरण गर्न दिए भारतको दक्षिण एसियाली बर्चस्व गुम्ने र अन्तर्राष्ट्रिय मञ्चहरुमा बार्गेनिङ गर्ने क्षमतामा कमी आउने निश्चित छ । यसै कुराको पूर्तिका लागि अब बन्ने सरकारले कम से कम दक्षिण एसियाली राष्ट्रहरु, सरकारहरुसँगको पुरानो सम्बन्धलाई नयाँ आधारमा नविकरण गर्ने देखिएको छ । श्रीलंकामा भएको आतंकवादी हमलामा भारत मुकदर्शक हुनुपरेको स्थितिले आउने सरकार झनै गम्भीर हुनुपर्ने स्रोतहरुले जनाएका छन् । 

क्षेत्रीय राजनीतिको अनिवार्यता 


भाजपा मोदी नेतृत्वको सरकार बने यता क्षेत्रीय राजनीतिलाई वेवास्ता गर्ने वा अतिरिक्त सोच लागू गर्दा भारतले घाटा मात्र व्यहोरेको छ । नेपाल–भारत, हिन्द–पाक, हिन्द–चीन र हिन्द महासागर वरपरका श्रीलंका, माल्दिप्स, बंगलादेशसँगका सबै सम्बन्धहरु पुनरावलोकन नगरे उसले बर्चस्व स्थापित गर्न नसक्ने स्थितिमा पुगेकाले अबको भारतीय राजनीति त्यसै दिशातर्फ केन्द्रित हुने देखिएको छ । चीनसँग सम्बन्ध सुमुधुर गर्ने र पाकसँगको सम्बन्ध सामान्यीकरण गरे दक्षिण एसियामा भारतीय बर्चस्व कायम रहने निश्कर्षका भारतीय विचारकहरु पुगेको र त्यसै अनुरुप भारतीय राजनीतिले कोल्टे फेर्ने संकेत गरेका छन् । यो विचारको कार्यान्वयन अनिवार्य गराउन भारतीय चुनावमा पश्चिमा शक्ति राष्ट्रहरुले गरेको अनावश्यक हस्तक्षेपलाई भारतले गम्भीरतापूर्वक लिएको बुझिन्छ ।

यता भारतको निर्वाचनमा चीन र पाकिस्तानको सदासयताले भाजपालाई गम्भीर शिक्षा दिएको भारतीय विचारकहरुको धारणा छ । भारतको आन्तरिक मामिलामा दुवै देशले कुनै पनि प्रकारको गडबडीमा हिस्सेदार नभएकोले नै भाजपाको अस्तित्व जोगिन पुगेको अर्थमा लिएका छन् ।    


एसियाली सभ्यताको सेरोफेरो 


यता चीनले विश्व राजनीतिमा आफ्नो बर्चस्व बढाउन बेल्ट एण्ड रोड इनिसिएटिभको दोस्रो शिखर सम्मेलन लगत्तै ‘प्रथम एसियाली सभ्यता सम्मेलन’ आयोजना ग¥यो । यो सम्मेलनमा एसियाका सबै देशहरुले सक्रियताका साथ भाग लिएका छन् । पश्चिमा शक्ति राष्ट्रहरुको एक से एक कूटनैतिक, रणनैतिक दौडादौडको बीचमा गरिएको यो सम्मेलनले एसियाली सभ्यताको एकताको प्रस्थान विन्दु प्रदर्शन गरेको छ । भारत यो सभ्यता सम्मेलनमा उच्च महत्वका साथ सहभागी भइरहेको छ । आगामी वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव भव्य बनाउने पूर्व तयारी पनि भारतले यसै वर्षदेखि गरिरहेको छ । 

सभ्यता पुनर्जागरणका लागि गरिन्छ । कुनै समय सम्पन्न एसियाली सभ्यता पश्चिमा देशको हमला र आपसी बैमनस्यताले युद्धमा परिणत भएको थियो र यहाँको शान्ति, समृद्धि र सद्भाव खत्तम भएको थियो । चीनले गरेको यो सभ्यता सम्मेलन एसियाली समाजमा शान्ति स्थापना, समृद्धि र सद्भावका लागि हो । यसरी वीआरआईलाई स्थापित गर्न सभ्यताको पुनर्जागरण गर्न गरिएको लक्ष्यसहित एसियाली मुलुक भन्दा बाहिर गए भारतले पाउँदै आएको दक्षिण एसियाली वर्चस्व गुम्न नदिने भूमिकामा लाग्ने छ । यस्तो बर्चस्व विकसित गराउन भारत सरकार अबका दिनमा आक्रामक रुपले राख्ने देखिन्छ । दक्षिण एसियामा आफ्नो बर्चस्व स्थापित गर्ने र बाँकी एसियामा चीनको स्वार्थसँग नबझाउने गरी नेतृत्व पनि लिन सक्नेछ ।

विगतमा दक्षिण एसियाली देशहरुलाई भारतीय चस्माबाट हेर्ने पश्चिमा रणनीति फेरिए र सिधै हेर्ने पश्चिमा शक्ति राष्ट्रहरुको दृष्टिकोण बाहिर आएसँगै भारत अहिले क्षेत्रीय राजनीतिलाई आफ्नो पकडमा राख्ने अभियानमा जुट्ने निश्चित छ । नयाँ सरकार बनेसँगै यस क्षेत्रको सत्ता, सरकार परिवर्तन भयो भने अनौठो नमाने हुन्छ । भारत–चीन–पाकिस्तान–रुससँगको नयाँ सम्बन्ध विस्तारसँगै दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा व्यापक परिवर्तन हुनेमा अहिले नै आश्चर्य नमाने हुन्छ । समयबद्ध साप्ताहिकबाट