बाबुरामको ट्विट : केही मिडियाकर्मी असनको साँढेजस्ता...

बाबुरामको ट्विट : केही मिडियाकर्मी असनको साँढेजस्ता...

काठमाडौं, ३० बैशाख । एभिन्युज टेलिभिजनका पत्रकार सुशील पाण्डेको ‘सकस राजनीति’ नामक लाइभ अन्तर्वार्ता कार्यक्रमबाट समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अपमानित हुँदै स्टुडियो छोडेर बाहिरिनु परेको विषयले यतिबेला नेपाली पत्रकारिता क्षेत्र तातिएको छ ।


कार्यक्रममा कुनै पनि संचारकर्मीले संचारगृहमा पाहुनालाई डाकेर ल्याइसकेपछि पत्रकारले आफ्नो दिमागबाट पूर्वाग्रही सोच त्यागेर पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै कार्यक्रम सञ्चालन गर्नु पर्नेमा अन्तर्वार्ताकार सुशील पाण्डे मन्त्री यादवलाई पटक पटक तपाई जान सक्नुहून्छ भन्दै अपमानित गरेपछि मन्त्री स्टुडियोबाट बाहिरिएको युट्युव भिडियोमा देख्न सकिन्छ । पत्रकार पाण्डेले मन्त्री यादवलाई लोकतान्त्रिक संस्कार मूल्य र मान्यता सिकेर अर्को पटक अन्तर्वार्तामा आउन पनि अनुरोध गरेका छन् ।


यही सन्दर्भमा मिडिया अध्येता, लेखक तथा अनुसन्धाता भानुभक्त आचार्यले अन्तर्वार्ता लिनेदिने दुवैले शिष्टता सिक्नु पर्ने उल्लेख गरेका छन् ।


सामाजिक सञ्जाल फेशबुकमा उनी लेख्छन्, “प्रश्नको उत्तर दिने हिम्मत छैन भने तपाई जान सक्नुहुन्छ । यहाँ आएर तपाइँ बकबास नदेखाउनुस“ भनेपछि उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तर्वार्ता कक्ष छाडेर हिँडे । यो एभिन्युज टेलिभिजनको कार्यक्रम हो । पत्रकारले बोलाएका पाहुनालाई इज्जतसाथ व्यवहार गर्नुपर्छ । 

अन्तर्वार्ता कक्ष भनेको प्रहरीको केरकार शाखा होइन । “उत्तर नदिने भए जानसक्नु हुन्छ“ भन्न मिल्दैन । फेरि पाहुनाले आफूले सोचेजस्तै उत्तर दिनुपर्छ भन्ने पनि छैन । एउटा प्रश्नको उत्तर नआए अर्को प्रश्न सोध्ने हो । पाहुनाले सबै प्रश्नको उत्तर दिनै पर्छ भन्ने छैन ।”


उनी लेख्छन्, “उपप्रधानमन्त्रीले पनि अलि भद्र, शालीन, धैर्य एवम् कूटनीतिक चातुर्यका उपायहरु अवलम्बन गरेर उत्तर दिनुपर्छ । आलोचनालाई शीरोधार्य गर्नुपर्छ । बिना तयारी टिभीमा मुख देखाउन पाइने भयो भनेर कुदिहाल्नु हुँदैन । यस कार्यक्रमका आधारमा पत्रकारको पक्षमा पनि लाग्न सकिएन । उपप्रधानमन्त्रीका पक्षमा पनि लाग्न सकिएन ।”


समाजवादी पार्टी नेपालका महासचिव गंगानारायण श्रेष्ठले पनि यो प्रकरणलाई सामाजिक सञ्जालमा चासो दिएका छन् । उनी लेख्छन्, “स्वतन्त्रताको अर्थ अशिष्ट, अराजक र अमर्यादित हुनु होइन । झन बढी शिष्ट, अनुशासित र मर्यादित हुनु हो । संचारकर्मी साथीहरूले संयमतापूर्वक विमर्श गर्ने हो कि ?”

यो अन्तर्वार्ता प्रकरणले आम नेपाली पत्रकारिता जनताकै शिर झुकाएको नेपाल पत्रकार महासंघका केही पदाधिकारीहरुले समाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । एक केन्द्रीय पदाधिकारी स्ट्याटसमा लेखिएको छ, “टीभीका कतिपय पत्रकार हिन्दी फिल्म ‘नायक’ को नक्कल गर्न खोज्नु भएको छ । फिल्मी शैलीको अन्तरवार्ताले नेपालको पत्रकारिता उभो लाग्दैन ।”


सोही सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराइले उपेन्द्र यादवको अन्तर्वार्तासहितको तस्वीर ट्वीटरमा पोष्ट गर्दै लेखेका छन्, केही मिडियार्मीको यस्तो अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने बिधेयकको बिरोध गर्नेहरु सबैलाई अप्ठेरोमा पार्छ है !”


नेपाली आमसञ्चार क्षेत्रमा पटकपटक दोहोरिइ रहने यी र यस्ता अनेकौ प्रकरणहरुको अन्त्यका लागि मिडियामा स्वनियमन हुन जरुरी छ । मिडिया क्षेत्रमा बनाइएको आचारसंहिता र कानूनी प्रावधानहरुको अक्षरस पालना गर्न सकेको खण्डमा संचारक्षेत्र मर्यादित, विश्वसनीय हुनेमा कुनै दुविधा र आशंका छैन । मिडिया र संचारकर्मी कानून र संविधान र देशभन्दा माथि छैनन् । पत्रकारका पनि आचरणहरु शुद्ध हुन सकेको खण्डमा लोकतन्त्र बलियो हुनेमा कसैको दुईमत छैन ।