सारा पञ्च एक्लाएक्लै एक्लो रुपचन्द्र हुलका हुल

सारा पञ्च एक्लाएक्लै एक्लो रुपचन्द्र हुलका हुल

भवानी बराल

‘हामी थोरै पूर्णकालीन कार्यकर्ता थियौं । हामी दलित बस्तीमा जाँदा गौरवको अनुभूति हुन्थ्यो । अन्तरजातीय विवाह गराउँदा गौरव हुन्थ्यो । झुपडीमा जाँदा बेग्लै आनन्द आउँथ्यो । असीम त्यागको अनुभूति हुन्थ्यो । अहिले हामी लाखौं कार्यकर्ता छौं । ठूलो शक्ति पनि छौं । तर, हिजोको निष्ठा कता छ, हामी कता छौं ? अहिले सोच्दा विचित्र लाग्छ । हिजो थोरै हुँदा दुनियाँ बदल्छौं भन्ने मनोबल अहिले कता पुग्यो ? यति ठूलो पार्टी हुँदा पनि हामी किन एक्लो महशुस गर्दैछौं ?

हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो । कसिलो हात मिलाइन्थ्यो । हृदयदेखि भावना जागृत हुन्थ्यो । आफ्नोपनको अनुभूति हुन्थ्यो । हामीले जतिसुकै ठूला दुःखकष्ट र चुनौति बिर्सन्थ्यौं । तर, अहिले किन त्यस्तो हुँदैन ? हिजो जङ्गलमा सुतियो । तर, जङ्गलको अनुभूति भएन । हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन । तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ । अहिले के विचित्र भइराखेको छ ?

हामी ६/७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पूँजीवाद परास्त गर्न सक्छौं । तर, हामी हिम्मत हार्दैछौं । किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ? हामीले संकल्प र समीक्षा गर्ने यही हो । हामीले माक्र्सबाट सिक्ने यहीँनेर हो । कार्लमार्क्सले जिन्दगीभर सङ्घर्ष गर्नुभयो । त्यहाँ गाडी थिएन, घर थिएन । जिन्दगीभर दुखकष्टको जिन्दगी बिताउनुभयो । हामीसँग अहिले घर छ, गाडी छ । तर, कता हरायौं, हाम्रो ऊर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीँनेर छ । समीक्षा यही गर्नुपर्छ ।’

नेकपाका अध्यक्ष प्रचण्डले कार्ल माक्र्स २०१ औं जन्मस्मृति कार्यक्रममा गत बैशाख २२ गते बोलेको हरफ हुन । यी हरफहरुका बारेमा व्यापक टिप्पणी पनि भएका छन् । तर यी हरफहरु पढिरहँदा त्यसको उत्तर खोज्न स्व. रुपचन्द्र विष्टको शिर्षकमा दिएको हरफको विश्लेषण गरे काफी हुन्छ । पञ्चायतकालमा विष्टले लेखेको शिर्षकमा दिइएको यो हरफको अन्तर्यले प्रचण्डको जवाफ तलब गर्छ । 

पञ्चायती व्यवस्था सञ्चालन गर्ने विभिन्न निकायहरु थिए । राष्ट्रिय पञ्चायत, अञ्चल पञ्चायत, जिल्ला पञ्चायतदेखि गाउँ/नगर पञ्चायतमा आइपुग्दा हजारौं संस्थाहरु गणितमा आउँछन् । गाउँ पञ्चायतमात्र करिव चारहजार थिए । नगर, जिल्ला, अञ्चल जोड्दा सय नाग्दथे । आधा दर्जन बढी जनवर्गीय संगठन थिए । गाउँफर्क राष्ट्रिय अभियान ०३६ सालको विद्यार्थी आन्दोलको प्रभावमा विघटन भएपछि पञ्चायत नीति तथा जाँचबुझ समिति बन्यो । विद्यार्थीलाई संगठित गर्न राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल थियो ।

यो संगठन पनि विद्यार्थी आन्दोलनका कारण प्रतिबन्द गर्न सरकार वाध्य भयो । राजा स्वयम् पञ्चायतको पक्षमा थिए । राजाले पञ्चायती व्यवस्थाको प्रत्यक्ष निर्देशन गर्दथे । गाउँदेखि राष्ट्रिय पञ्चायत र वर्गीय संगठनमा लाखौं कार्यकर्ताहरु थिए । जनमत संग्रहमा पञ्चायतको २४ लाख जनमत आएको थियो ।

पञ्चायती व्यवस्थालाई जोगाउन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सतिसाल झैं खडा गरिएको थियो । कर्मचारी, प्रहरी, सेना पञ्चायतको ढाल झैं खडा थिए । यति हुँदाहुँदै पनि ०३६ सालको विद्यार्थी आन्दोलनले व्यवस्थालाई चर्काइ दियो । जनमत संग्रहको घोषणा भयो । पञ्चायतले जितेको घोषणा गरियो । त्यसको १० वर्षपछि ०४६ सालमा कांग्रेस र बाममोर्चा सम्मिलित ५० दिने आन्दोलनले पञ्चायतलाई सदाको निम्ति खारेज गरिदियो । बलियो पञ्चायतको अवसान भयो । पञ्चहरुले गर्वसाथ आफुसंग चारलाख कार्यकर्ता भएको गौरव गर्दथे । तर पञ्चायत ढलेपछि चारलाख कार्यकर्ता चिल्लीविल्ली भए । प्रजातन्त्रको पुनस्र्थापना भएपछिको पञ्चायत समर्थकको पार्टीको शर्मनाक हार भयो । 

पञ्चायतकै समयमा रुपचन्द्र विष्टले लगातार राष्ट्रिय पञ्चायतमा जिते । उनीमात्र होइन पद्मरत्न तुलाधरले काठमाण्डौबाट ८५ हजार मत ल्याएर जिते । झापाबाट द्रोणाचार्य क्षेत्री, चितवनबाट जागृतप्रसाद भेटवालले जिते । पञ्चायतमा सरकारी उम्मेद्वारले मात्र जित्न पाउने व्यवस्था हुँदा पनि यिनले कसरी जिते होलान ? पछिल्लो पटक दोस्रो जनान्दोलन पछि नेकपा माओवादीले कसरी आउटपोष्ट कब्जा ग¥यो । दोस्रो संविधानसमा माओवादी कसरी खुम्चियो ? एमाले माओवादी एकता नभएको भए एमाले र माओवादीको हालत के हुन्थ्यो ? 

पहिलो जनान्दोलनपछि कांग्रेस, एमाले (माले+माक्र्सवादी)को संगठन उस्तो संस्थागत थिएन । तर उनीहरुले ०४६ सालअघिको पञ्चायती जनाधार, चारलाख कार्यकर्ताको पञ्चायती फुर्तिलाई एकै पटक धुलो चटाए । अलगधारको जनमोर्चा समेत राष्ट्रिय पार्टीको हैसियतमा तेस्रो ठूलो दल थियो । यो किन सम्भव भयो भने बहुदलवादी दलहरुसंग राजनैतिक मुद्धा थियो । उनीहरुले प्रजातान्त्रिक संविधान बनाएका थिए । सामन्ती राजतन्त्रलाई संवैधानिक दायरामा सीमित गरेका थिए । सीमितै सही जनतामा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, मानव तथा मौलिक अधिकार र प्रेस स्वतन्त्रता बहाल गरे । यी सबै नयाँ व्यवस्थामा लैजाने प्रण गरे जनताले पनि अपार जनसमर्थनसहित सार्वभौमिकता जिम्मा लगाए । पञ्चायतमा ९५ हजार मत लिएर जित्ने शेरे धनुषा हेमबहादुर मल्ल र ८५ हजार मतलिएर जितेकी उनकै श्रीमती शारदा मल्ललाई पनि दर किनार लगाई दिए । 

त्यतिखेर माथि प्रचण्डले पहिलो हरफमा भनेजस्तो कांग्रेस, एमालेमा पनि त्यो आदर्श थियो । यसर्थ जनताले उनीहरुलाई उत्साहपूर्वक घोडामा चढाएका थिए । त्याग तपस्याको परिणाम फल लागेको थियो । जनतन्त्र, जनजीविका, सामाजिक रुपान्तरण र प्रजातन्त्रको संस्थागत विकास गर्ने उनीहरुको लक्ष्य थियो । वास्तवमा उनीहरु जनताको मुक्ति गर्ने मुद्धा लिएर आएका थिए । तर एक दशक नवित्दै उनीहरुको कथनी र करणीमा फरक प¥यो जनताको मुद्धा छोडी दिए । र, संसदीय व्यवस्थाको कुरुप नमुना प्रस्तुत गरे ।

यसपछिको भीषण राजनैतिक संघर्षको कमाण्डर प्रचण्ड आफै हुन । यसर्थ यो प्रश्नको उत्तर प्रचण्डले माओवादी विद्रोहको जनादेशमा खोज्नु पर्छ । प्रश्न अनुत्तरित छैन । अहिले पनि गरी खाने वर्गको राजनीतिक लक्ष्य पूरा भएको छैन । यस्तो लक्ष्य किटान गर्ने हो भने पहिलो दोस्रो हरफमा उठाएको सबै प्रश्नको उत्तर आउँछ । यदि त्यसो गर्न सकिएन भने पञ्चायती नेताले उतिबेला भने जस्तै कार्यकर्ताको गणितमात्र बही खातामा भेटिने छ । अहिले विकल्प नभएकोलेमात्र नेकपालाई सहज भएको हो । कुनै पनि बेला विकल्प प्रस्तुत भयो भने परिणाम फरक हुनसक्छ । 

समृद्धि र समाजवादको अमूर्त रट लगाएर मात्र केही हुन्न । समाजवादको आदर्श गफले जनताको जीवन सुरक्षित अवतरण हुँदैन । होचि मिन्हले भने झैं जनताले रातो कितावमात्र हेरेर बस्दैनन् । जीवनको रंग हरियो हुन्छ, दर्शनको रंग खैरो हुन्छ । जनता सधैं हराभरा रंगको पक्षमा हुन्छन् । नेपालको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । जनताले जहिल्यै पनि परिवर्तनको आन्दोलनलाई साथ दिन्छन् । परिवर्तनको बाटो विराउँदा माथि बोलेको आदर्श प्राप्त हुन्छ । रुपचन्द्र एक्लै थिए तर हुलका हुल थिए । पञ्चहरु लाखौं थिए तर एक्ला एक्लै थिए । त्यसैले पञ्चहरुले हारे । रुपचन्द्रको जनमुखी विचारको आवश्यकता छँदैछ । बाँची रहेको छ । रुपचन्द्रको यो दार्शनिक वाक्यलाई विश्लेषण गर्ने हो भने प्रचण्डले उठाएको माथिका प्रश्नहरुको सहज उत्तर भेटिन्छ ।