विषादीरहित तरकारी उत्पादनमा जोड

विषादीरहित तरकारी उत्पादनमा जोड

तरकारी खेतीमा विषादीको प्रयोग बढेका बेला पाल्पाका एक युवाले विषादीरहित तरकारीखेती शुरु गरेका छन्। मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले असर पार्न थालेपछि रामपुर नगरपालिका–१० धन्सारेका राजेन्द्र भण्डारीले अर्गानिक तरकारी खेती थालेका हुन् । 
 
कृषकले पर्याप्त आम्दानी लिन तरकारी बालीमा अन्धाधुन्ध विषादी प्रयोग गर्दा स्वास्थ्यमा असर पारिरहेको हुँदा विषादीरहित तरकारी लगाउन थालेको उनले बताए । “तरकारीको बोटले भुई छोड्न नभ्याउँदै विषादी प्रयोग गर्नेको सङ्ख्या धेरै छ्, यसले स्वास्थ्यमा असर पु¥याउने भए पनि जानी जानी विषादी प्रयोग भइरहेको छ”, भण्डारीले भन्नुभयो । उत्पादन न्यून भए पनि विषादी प्रयोग नगर्ने उनी बताउँछन् । घरायसी वस्तुलाई सङ्कलन गरी  झोल मल तयार गरेर भण्डारीले बोटबिरुवामा प्रयोग गर्दै आएका छन् ।
 
“गाउँमा खेर गएका वनमारा, तितेपाती, असुरोलगायत वनस्पतिबाट झोल मल तयार पारी बोटबिरुवामा छर्कने गरेको छु, यसले उत्पादन राम्रै भएको छ”, उनले भने । उनले विशेषगरी गोलभेँडा खेती गर्दै आउनुभएको छ । गोलभेँडाले बजार पाएकाले यसतर्फ जोड दिएको उनी बताउँछन् । गोलभेँडासँगै काँक्रा, करेला, घिरौला, सिमी, बोडीलगायत तरकारी समेत भण्डारीले  लगाएका छन् । 

अहिले दुई रोपनी क्षेत्रफलमा विषादीरहित गोलभेँडाको उत्पादन भइरहेको छ । विषादी प्रयोग नगर्दा उहाँको घरमा गोलभेँडा खरीद गर्न आउनेको सङ्ख्या अत्यधिक छ । भण्डारीले प्रतिकिलो गोलभेँडा घरबाटै रु ३५ मा बिक्री गर्दैआउनु आएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब, युनाइटेड अरब इमिरेट्स(युएई), कतार, बहराइन र बङ्गलादेशमा १३ वर्ष काम गरेर भण्डारी स्वदेश फर्किएका हुन् । “विदेशको मरुभूमिको सिकाइ गाउँघरमा काम लागेको छ”, उनले भने । 

रामपुर बजारदेखि टाढा भएकाले व्यवसाय गर्न समस्या भएको उनी बताउँछन्। स्थानीय बजारमा धेरै तरकारी खपत नहुने हुँदा व्यवसाय बढाउन समस्या भएको हो । प्रशस्त जग्गा भएको हुँदा ठूलो क्षेत्रफलमा अर्गानिक तरकारीखेती गरेर उनी नमूना व्यवसायीका रुपमा चिनिन चाहन्छन् ।