प्रधानमन्त्री र गृहमन्त्रीको अर्काे सफलता, तराईको अर्काे सशस्त्र समूह पनि मूलधारको राजनीतिमा

प्रधानमन्त्री र गृहमन्त्रीको अर्काे सफलता, तराईको अर्काे सशस्त्र समूह पनि मूलधारको राजनीतिमा

जनकपुर, २४ बैशाख । प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्रीमा रामबहादुर थापा वादल आएपछि राजनीति र प्रशासनिक समायोजन गरेर अगाडि बढ्ने ‘केमेस्ट्री’ मिलेको छ । देशको विखण्डनको माग राखेर अगाडि बढेका डा. सी के राउतले आत्मसमर्पण गरेका छन् र राजनीतिको मूल धारमा समावेश भएका छन् । विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि वार्तामा आउन पार्टी र वाहिरबाट चर्काे दवाव परेको छ । उनीहरुलाई सम्माजनक संबोधन गरेमा वार्तामा आउने संकेत दिइरहेका छन् । 


यसै मेसोमा तराई मधेसमा सशस्त्र संघर्ष गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा अब मूलधारको राजनीतिमा सक्रिय भएको छ । 


मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति ‘विवेक’ ले एक प्रेस विज्ञप्ति जारी गर्दै मुद्दा एवं विचार मिल्ने राजनीतिक दल तथा सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने जनाएको छ । 


मोर्चाले आगामी भदौंको पहिलो साता काठमाडौंमा विशाल जनसभाको आयोजना गर्ने र त्यसका लागि राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय ‘संगठन परिचालन तथा व्यवस्थापन समिति’ पनि गठन गरेको विज्ञप्तिमा जनाइएको छ । समितिका सदस्यहरूमा दीपक सिंह ‘भास्कर मुक्ति’, लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह रहेका छन् ।
 

यस्तै संगठन विस्तार र निर्वाचन आयोगमा दल दर्ता गराउने सहितका निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । 


मोर्चाको केन्द्रीय सचिवालयको बैठकबाट नेपाल सरकार, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दल, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संगठन र नागरिक समाजका अगुवालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको जनाएको छ ।