श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना

श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना

श्रमिकहरूले यो वर्ष अंग्रेजी महिनाको मे महिनाको पहिलो दिन १३० औं विश्व मजदुर दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइरहेका छन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि मजदुरहरूले गरेको आन्दोलन र शहादतका लागि मजदुर नेताहरूले विश्वभर पहिलो मेको स्मरण गर्ने गर्छन् ।

विभिन्न ट्रेडयुनियनहरूले श्रमिकहरूको अधिकार सुरक्षा गर्न तिनको अधिकारका लगि लडन प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्ने गर्छन् । 

मे १का दिन  विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइरहँदा श्रमिकहरूका लागि नेपालमा भएका महत्वपूर्ण आन्दोलनहरूको स्मरण गर्दा  विक्रमसम्वत् २००३ सालमा विराटनगर जुट मिलबाट शुरू भएको श्रमिक आन्दोलनलाई महत्वपूर्ण स्थान प्राप्त भएको छ ।

मजदुरहरूको हक अधिकार सुरक्षित गर्ने गरी संघीय जनगणतन्त्र नेपालका लागि भएका १० वर्षे महान् जनयुद्ध र संघीय लोकतात्रिक गणतन्त्रका लागि भएको १९ दिने ऐतिहासिक जनआन्दोलन पनि महत्वपूर्ण घटनाक्रम हुन् ।

नेकपाका अध्यक्ष प्रचण्डले श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न भएका यी आन्दोलनहरूलाई महत्वपूर्ण मानेका छन् । उनले भने “ यसको  प्रतिफल नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र हो ।”

श्रमिकहरूको थप हक अधिकार सुरक्षित गर्ने बाटोको बारेमा अध्यक्ष प्रचण्ड भन्छन् “ परिवर्तन पछिको वर्तमान सरकार र हाम्रो पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ । श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ ।”

अबको लक्ष्य भनेको नै देशको समृद्धि नै भएको बताउँदै प्रचण्ड भन्छन् “ कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु हो । यो आफैंमा एउटा युगान्तकारी कार्य हो ।”

 मजदुरहरूलाई मे दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने “ विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पुरा गर्न संगठित रुपमा एकतावद्ध भई अगाडि बढ्ने विश्वासका साथ पुनः एकपटक श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बधाई ज्ञापन गर्दछु ।”