भक्तपुरको रानीपोखरी बुँताईँदै, यसरी गरियो सफाइ

भक्तपुरको रानीपोखरी बुँताईँदै, यसरी गरियो सफाइ

१५ वैशाख, भक्तपुर । भक्तपुर नगरपालिकाले आज  भक्तपुर नगरपालिका–१ सल्लाघारीमा नेपाली सेनाको व्यारेकभित्र रहेको ऐतिहासिक रानीपोखरी परिसरको सरसफाइ गरेको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अगुवाईमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र नेपाली सेनाको संयुक्त टोलीले  रानीपोखरीको सरसफाइ गरेको हो ।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो भक्तपुरको यस रानीपोखरी ऐतिहासिक रुपले महत्वपूर्ण रहेको बताए। उनले सम्पदा पुनःनिर्माण र संरक्षणमा अरु ठाउँमा भन्दा भक्तपुरमा व्यवस्थित र उल्लेखनीय कार्य भएको बताउँँदै भक्तपुरका ऐतिहासिक ठाउँहरूको मौलिक नामलाई बचाइ राख्नुपर्नेमा जोड दिए। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको रानीपोखरी जनताकै ठाउँ भएको र यो ठाउँको नाप नक्सा गरी पुराना भेटिएका तस्बीरका आधारमा पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । भक्तपुर नगरपालिकाले योसमेत स्थानीय जनता, टीम, क्लब, दाफा भजन, विद्यालय, सेना, प्रजापति समुदायका त गुठी, थिला गुठी, चुकु गुठी, न्हु गुठी, मारी गुठी र ख्वँ रे गुठीलगायतको सहयोगमा पोखरीको सफाइ गरिसकेको हो ।