नेकपाको संगठन सञ्चालनमा नौलो प्रयोग : जिल्ला अध्यक्षको कमाण्डमा केन्द्रीय सदस्य !

नेकपाको संगठन सञ्चालनमा नौलो प्रयोग : जिल्ला अध्यक्षको कमाण्डमा केन्द्रीय सदस्य !

 काठमाडौं ९ बैशाख । तत्कालीन एमाले र माओवादी एकतापछि निर्माण भएको नेकपामा तत्कालीन माओवादीका आठ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिवमा घटुवा गरिएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ  ।

केन्द्रीय सदस्य पद यथावत भई जिल्ला सचिव बन्नेहरुमा डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमरकट्टेल धादिङ र दधिराम न्यौपाने (रुपन्देही) हुन् । 

उनीहरुले आगामी दिनमा पार्टी वरियतामा पूर्व एमालेबाट जिल्ला अध्यक्ष पद पाएका र आफूहरुभन्दा पार्टी हैसियतमा तल रहेकाहरुको मातहत रहेर काम गर्नुपर्ने छ ।

अझ यसो भनौँ, अबका दिनमा जिल्ला अध्यक्षहरुले केन्द्रीय सदस्यहरुलाई कमाण्ड गर्ने दिनको नौलो सुरुआत नेकपा पार्टीमा सुरु भएको छ ।

तत्कालीन माओवादीलाई ३३ र एमालेलाई ४४ जिल्ला भागबण्डा गरी नेकपा जिल्ला अध्यक्ष चयन गर्दा तत्कालीन एमालेका जिल्ला अध्यक्षहरुलाई निरन्तरता दिने सन्दर्भमा सहमति भएअनुसार अध्यक्ष नपाएको जिल्लामा सचिवमा घटुवा गरिएको हो ।


सोमबार सार्बजनिक गरिएको सुची अनुसार केन्द्रीय सदस्यको मातहतमा सचिव हुने मोरङका गोपी अछामीमात्र छन् । मोरङको अध्यक्षमा पूर्व एमालेका तर्फबाट केन्द्रीय सदस्यसमेत रहेका बिनोद ढकाल पार्टी अध्यक्ष बनेका छन् ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय कमिटी सदस्य भए पनि पूर्व एमालेबाट जिल्ला अध्यक्ष बन्नेमा विनोद ढकाल र कृष्ण राईमात्र केन्द्रीय सदस्य हुन् । उनीहरु तत्कालीन जिल्ला अध्यक्ष भएकाले निरन्तता पाएका हुन ।

केन्द्रीय सदस्यहरु सचिवमात्र भएर बस्छन या राजीनामा दिएर केन्द्रीय सदस्य बनेर बस्छन ? या अलग पार्टी र अलग पृष्ठभूमि भन्दै संक्रमणकालीन संगठनात्मक विधि भनेर अगाडि बढ्छन ? यो भने हेर्न बाँकी छ । केहीले भने सामाजिक सञ्जालमार्फत् असन्तुस्टि व्यक्त गर्न थालिसकेका छन् ।