शेयरबजारमा उछाल , नयाँबर्षमा नयाँ उचाई चुम्ने आँकलन

शेयरबजारमा उछाल , नयाँबर्षमा नयाँ उचाई चुम्ने आँकलन

साताको पहिलो दिन आइतबार शेयर बजारमा उछाल आउँदै धेरैजसो कम्पनीहरुको शेयरको भाउ ह्वात्तै बढेको छ। शेयरबजारमा उछाल आउँदा बाणिज्य बैंकहरु चम्किन पुगेका छन् । यस क्रममा संस्थापक शेयर सहित ७ वटा वाणिज्य बैंकको शेयर मूल्यमा ब्यापक बृद्धि भएको छ। यसका अलावा २ वटा लघुवित्त र एउटा जलविद्युत कम्पनीको शेयरमूल्य अधिक बढेको देखिन्छ । शिर्ष १० कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको देखिन्छ। आज झण्डै ३२ अंकले बढेसँगै लगानीकर्तामा नयाँ बर्षसँगै शेयरले नयाँ रेकर्ड कायम राख्ने आशा जगाएको छ । 

बजार खुलेपछि नै तिब्र गतिमा उकालो लागेको बजारमा अधिक शेयर मूल्य बढ्ने शिर्ष १० कम्पनीमा वाणिज्य बैंकको दवदबा देखिएको हो। शेयर बजार परिसुचक नेप्सेमा झण्डै ३२ अंकको सुधार देखिँदा वाणिज्य बैंकहरुको शेयर मूल्य बढ्दै गर्दा कारोबार चाप पनि अधिक देखिएको हो।

११ सय विन्दु आसपासमा झरेको नेप्से आइतबार १२६४.२० विन्दुमा आइपुगेको छ । नेप्से आइतबार ३१.८९ अंकले बढेको हो । समग्रमा बजार २.५९ प्रतिशतले  उकालो लागेको छ । १७१ कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३३ लाख २७ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएका छन् । 

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ८ वटा समूहको सूचक माथि लागेको छ भने २ वटामा गिरावट आएको छ । सबैभन्दा धेरै वाणिज्य बैंक समूहको सूचक ४५.९४ अंकले बढेको छ । उत्पादनमूलक समूह भने ११.९२ अंकले तल झरेको छ ।

 
 
कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । यसको १४ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र एनसीसी बैंक परेका छन् ।