वर्षमान निकट कार्यकर्ताहरुको थबाङमा भागदौड

वर्षमान निकट कार्यकर्ताहरुको थबाङमा भागदौड

वैशाख ८, लिबाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पा जिल्लाका नेता तथा वर्षमान पुन निकट भनिएर चिनिएका कार्यकर्ताहरुका थबाङमा भागदौड भएको छ ।

विप्लव नेतृत्वको पार्टीका रोल्पा जिल्ला इञ्चार्ज जयप्रकाश रोकाको ‘वक्तव्य बम’ ले उनीहरुको भागदौड सुरु भएको हो ।  

आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि वर्षमान पुनले प्रहरी लगाएर आतंक सिर्जना गरेको भन्दै आफूहरुलाई दुःख दिने वर्षमान र उनका कार्यकर्ताहरुलाई थबाङका जनताले ढिलोचाँडो कालामोसो दलेर स्वागत गर्ने भनेका छन् ।  

उनले आफ्नो वक्तव्यमा सत्तारुढ नेताहरु पञ्चायती शैलीमा टिक्न खोजेको, वैशाख ४ गते साँझ थबाङमा पनि मशाल जुलुश सम्पन्न गर्दा  सयौं प्रहरी तैनाथ गरी वर्षमान पुनले आतंक मच्चाउने काम गरेको, वर्षमान पुनको आदेशमा स्थानीयवासीको घरको ढोका तोडफोड गरेको, जनतालाई कुटपिट गरी लछारपछार गर्ने कार्य गरेकाले आफूहरु प्रतिवादमा उत्रिने जनाएका छन् ।  

प्रतिबन्ध लगाएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कामकाजमा अवरोध सिर्जना गर्न, जनप्रतिनिधिलाई दवाव दिएर राजीनामा दिन लगाउने कार्य आफ्नो प्रभाव क्षेत्रमा गरिरहेको छ । 

वैशाख ४ गते साँझ रोल्पा जिल्लाको थबाङ गापा २, ठूलोगाउँमा राति वर्षमान पुन बसेको ठाउँमा विप्लव नेतृत्वका कार्यकर्ताहरुले नाराबाजी गरे । 

विप्लव पार्टीको आक्रामकताका कारण पछि वर्षमान हेलिकोप्टर चढेर त्यस ठाउँ छाडेका थिए । उनी त्यसरी हिंडेपछि वर्षमान पुनलाई थबाङमा लैजान सक्रिय कार्यकर्ताहरुले पनि थबाङ छाडेका छन् । धेरैजसो सदरमुकाम लिबाङ र केही काठमाडौं छन् । 

यो पनि पढ्नुहोस

रोल्पामा विप्लव र वर्षमान आमने सामने

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका पदाधिकारी छ लाख बोकेर भारत भ्रमणमा, सेवाग्राही आक्रोसित