अबैध सुन र लागू औषधसहित दुई जना पक्राउ

 अबैध सुन र लागू औषधसहित दुई जना पक्राउ

सिरहा, २९ चैत । सिरहाको छुट्टाछुटै स्थानबाट प्रहरीको टोलीले अबैध सुन र लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । 


जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलबाट ५० ग्राम अबैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका २ निवासी २५ बर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो । 


चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ स. ६ प. ६८०१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राइनलाई अबैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता माधवराज खरेलले जानकारी दिए । 


यसैगरी प्रहरीले लहान नगरपालिका ३ स्थित ठाडी चोकबाट लागू औषधसहित उदयपुरको गढी गाउँपालिका ७ निवासी २६ बर्षीय भरत तामाङ्गलाई पक्राउ गरेको छ ।  


पक्राउ परेका तामाङ्गको साथबाट फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल,  डाइजिल्याब ६० एम्पुल र नाइट्रोजन ७५ चक्की बरामद् भएको लागू औषध बरामद् भएको प्रहरी नायब उपरिक्षक खरेलले बताए ।