कांग्रेस मधेस फकाउँदै छ कि ? गोहीको आँशु झार्दैछ ?

कांग्रेस मधेस फकाउँदै छ कि ? गोहीको आँशु झार्दैछ ?

१७ चैत्र, काठमाडौं । नेपाली कांग्रेस पार्टी यतिखेर खुबै पहिचान पक्षधर भएको प्रदर्शन गरिरहेको छ । केही समय अगाडि नेका सभापति शेरबहादुर देउवाले प्रदेश नं. २ को राजधानी जनकपुरमा पुगेर मधेसको समस्या समाधान गर्न संविधान संशोधन आवश्यक रहेको र संशोधनमा कांग्रेस प्रतिवद्ध रहेको जनाएका थिए । 

त्यसै समयमा देउवा भन्दा अगाडि बढेर नेका उपसभापति विमलेन्द्र निधीले प्रदेश नं. २ लाई ‘मिथिला–भोजपुरा’ राज्य नामाकरण गर्नुपर्ने र मिथिला भाषालाइ प्रदेशको कामकाजी भाषाको मान्यता दिनु पर्ने विचार व्यक्त गरेका थिए । 

त्यसप्रकारको विचार व्यक्त गरेको एकाध महिनापछि फेरि निधीले त्यही कुरा दोहो¥याएका छन् । प्रदेश २ को सरकार गठन भएको एक वर्ष वितिसक्दा पनि प्रदेशको नामाकरण, राजधानी र भाषा सम्बन्धी प्रस्तावसम्म नआउनु दुर्भाग्यपूर्ण भएको उनले सार्वजनिक कार्यक्रममा व्यक्त गरेका थिए । 

यो त्यही कांग्रेस पार्टी हो जसले प्रचलित भाषाको मधेसलाई कहिल्यै पहिचानको आधारमा सम्बोधन गर्न चाहेको थिएन । मिथिला–भोजपुराको नाम त सुन्न पनि चाहँदैनथ्यो । पहिलो संविधानसभाको विषयगत समिति राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पूर्व झापादेखि पश्चिम नारायणीसम्मको समथर भूभागलाई मिथिला–भोजपुरा–कोच–मधेस नामाकरण गरी राज्यको प्रस्ताव गरेको थियो । तर, त्यसबखत कांग्रेस र तत्कालीन एमालेको कारण नै समितिले प्रस्ताव गरेको प्रस्ताव तुहिएको थियो । 

त्यसपछि कांग्रेससहितको पार्टीको सहमतिमा बनेको ‘राज्य पुनर्संरचना आयोग’ले पनि त्यसै बमोजिमको प्रस्ताव ल्याएपछि कांग्रेसबाट प्रतिनिधित्व गरेको आयोगका सदस्यले फरक मत लेखेर प्रस्तावको बहिष्कार गरेका थिए । यदि कांग्रेसले मात्र पनि त्यो प्रस्तावलाई स्वीकारेको भए त्यतिखेर पहिचानसहितको १४ प्रदेश पारित हुने थियो । र, निधीहरुले यतिखेर प्रदेश २ को नामाकरणको विषयमा बेला न कु बेला ‘गाँड’ बजाइरहनु पर्दैन थियो । 

यसर्थ यतिखेर कांग्रेसले मधेस झर्ने बहानामा मिथिला–भोजपुराको कुरा उठाएकोमा शंका गर्नु पर्दैन । भर्खरै मिथिला राज्यको माग गरेको स्थानमा बम विस्फोट गराउनेहरुमाथि जन्म कैद गरेको प्रसंग पनि छ । त्यही प्रसंगमा मिथिला–भोजपुरा भाषीको भावनात्मक समर्थन लिने मनसाय निधीको हुनसक्छ । जनकपुरबाट पराजयको पीडा भोगेका निधीले आफ्नो निर्वाचन क्षेत्रलाई पुनः व्यवस्थित गर्न घरीघरी मिथिला–भोजपुराको बिती कथा हाल्नु कुनै अप्ठ्यारो पनि छैन् । प्रदेश नं. २ को प्रदेश सभामा कांग्रेसी प्रतिनिधिलाई प्रस्ताव गर्न नलगाउने तर, घरीघरी यो नाम लिनु पछाडिको रहस्य ‘लाटा’ले पनि बुझ्दछ भन्छन मिथिलावासीहरु । 

प्रदेश दुईमा नामाकरण, राजधानी लगायतको टुंगो लगाउन दुई तिहाइ आबश्यक पर्छ । त्यहाँ मधेस केन्द्रित दलसँग र अन्य दलसँग पनि दुई तिहाइ पुग्दैन । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा ‘मधेस’ नामाकरण गर्न सहमत छन् । तर प्रदेश सभामा उनीहरुको मत पुग्दैन । नेकपाभित्र पनि मतैक्यता छैन । यस्तो गणितीय समिकरणमा कांग्रेसले यस्तै हुन नसक्ने लोकप्रिय र मिथिला–भोजपुरा भाषीलाई कर्णप्रिय लाग्ने नारा उछाल्नु कुनै ठूलो कुरो होइन । कांग्रेसले गोहीको आँशु नझारेको हो भने पहिलो संविधानसभामा प्रस्तावित नामाकरणमा किन सहमति दिएन भन्ने प्रश्न उठ्दैन ? कांग्रेसले प्रायश्चित पनि गरेको होइन । नेपाली उखानमा भने जस्तो ‘आची गरिसके पछि दैलो देखेको’ हो भने अर्कै कुरा ।