नागरिकता ऐन संशोधनले तेस्रो लिङ्गी समाज चिन्तित

नागरिकता ऐन संशोधनले तेस्रो लिङ्गी समाज चिन्तित

नागरिकता ऐनमा हुन लागेको परिवर्तनले नेपालका समलिङगी, दुई लिङ्गी र लिङ्ग परिवर्तन गराएकाहरूको चिन्ता बढाइदिएको छ । उभयलिङ्गी वा तेस्रोलिङ्गी समुदायले नागरिकता ऐनमा हुन लागेको परिवर्तनबारे चिन्ता व्यक्त गरेको छ ।

नागरिकता बनाउन उनीहरूलाई तेस्रो लिङ्गी भएको प्रमाण पत्र पेश गर्नुपर्ने अनिवार्य प्रावधान नागरिकता ऐनमा थपिन लागेको विषयमा उनीहरूको चिन्ता रहेको छ ।

सरकारले ल्याउन लागेको यो प्रावधान गलत भएको ब्लु डाइमण्ड सोसाइटीका अध्यक्ष पिंकी गुरूङको भनाइ छ ।

महिला, पुरूष र तेस्रोलिङ्गीको प्रावधानमा तेस्रो लिङ्गीका लागि प्रमाण पत्रको आवश्यकता हुने प्रावधानले नागरिकता बनाउन कठिनाइ हुने गुरूङको भनाइ छ ।

अहिले व्यक्तिलाई कुन लिङ्ग भएको रोज्न पाउने प्रावधान छ ।

यससम्बन्धी सर्वोच्चको आदेशले नागरिकता बनाउँदा व्यक्तिले लिङ्ग निर्धारण गर्न पाउने आत्म निर्णयको अधिकारभित्र पर्ने भएको जनाउँछ । 

तर नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालजस्ता सांसदले कसैले महशुस गर्दैमा उनीहरूको लिङ्ग परिवर्तन गर्न नसकिने तर्क गर्छन् । त्यसका लागि चिकित्साशास्त्रको प्रामाणिकता आवश्यक पर्ने हुन्छ । त्यसैले कसैले म पुरूष भएँ, कसैले म महिला भएँ भन्दैमा उनीहरूको लिङ्ग परिर्वतन गर्न नहुने यस्ता सांसदहरूको तर्क छ ।