विन लादेन हुनबाट बचे सिके

विन लादेन हुनबाट बचे सिके

सन् १९७९ उत्तराद्र्धदेखि पूरै ८० को दशकमा ओसामा विन लादेनलाई सिँगारेर अमेरिकी अगुवाइमा नाटो शक्ति राष्ट्रहरुले मुजाहिद्धिन संगठनलाई अफगान युद्धमा धकेलिएको थियो । तत्कालीन सोभियत संघलाई अफगानिस्तानबाट हटाउन एउटा प्रोक्सी युद्ध गर्नु अमेरिकाको बाध्यता थियो । तर, जसै युद्ध भड्किदै गयो सोभियत संघ अफगान छोडेर गयो । तर, अमेरिकाले प्रायोजन गरेको युद्ध उसको कन्ट्रोलभित्र पनि रहेन ।

 

हिजोसम्म बफादार रहेका विन लादेन तालिवानको नाममा उदय भइसकेका थिए । यही तालिवान र विन लादेनपछि अमेरिकाको टाउको दुखाइको विषय भयो । ११ सेप्टेम्बरमा अमेरिकाको व्यावसायिक भवनहरु तालिवानको हमलामा ध्वस्त भएपछि अमेरिकाले विन लादेन र उसको संगठनलाई पनि तहसनहस बनायो । पाकिस्तानमा छिरेर अमेरिकी सेनाले लादेनलाई मृत्युको घाटमा पु¥याइ दियो । भर्खरै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई सम्झाउँदै भनेको एउटा वाक्य झैं युद्ध हुँदै गएपछि त्यो कसैको कन्ट्रोलमा हुँदैन भने झैं भयो । युद्धको पूर्वाधार बनाउन त सजिलै हुन्छ । तर, युद्धको दीर्घकालीन असर सकारात्मक रहन्छ भन्ने केही छैन या युद्ध प्रायोजकहरुकै कमाण्डमा रहँदैन भन्ने पनि यो उदाहरण हो ।

प्रसंग सिके राउतकै छ । सिके राउत ११ बुँदे सहमति गरेर खुल्ला राजनीतिमा आएका छन् । उनले नेपालको सार्वभौमिकतालाई स्वीकार गरेको सहमति गरेका छन । भलै सहमतिका भाष्यमा धेरैले प्रश्न उठाएका छन् । सिकेको तराई यात्रामा देखिएको प्रदर्शनले यस्तै प्रश्न उठ्नु अस्वाभाविक पनि हैन । तर सिके राउतको यो सहमति आत्मसमर्पणको नयाँ अध्याय हो । सिके राउतले विन लादेन, सद्धाम हुसेनको इतिहास र पतन पक्कै नपढेका छैनन् । महिनाको १५ लाख रुपैयाको जागिर छोडेर नेपाल आई तथाकथित स्वतन्त्र मधेसको नारा त्यसै उनले उछालेका हैनन् । जागिर भन्दा पनि राम्रो जिन्दगी जिउने महत्वाकांक्षा पनि पूरा हुने लोभमा पहिले उनी फसे । 

 

नेपाल जस्तो भू–राजनीति, सामाजिक, सांस्कृतिक विविधता र कुनै समुदाय पनि बहुसंख्यामा नरहेको जटिलता बुझेनन् । यस्तो अबस्थामा स्वतन्त्र मधेसको परिकल्पना फगत एउटा स्वैर कल्पना मात्र हुन्छ भन्ने थाहा पाएनन् । र, उनी पश्चिमा शक्तिको प्रायोजनमा रम्दै गए । तर जब उनी जमिनमा आइपुगे तब उनले थाहा पाए कि यो बाटो लादेन मार्ग नै हो, भलै लादेनको जस्तो सशस्त्र युद्धमा उनी गएका थिएनन् । सिकेको आत्मसमर्पणको शृङ्खला यहीँबाट सुरु भयो । तर, यतिले नै सिके सहमतिमा आएका भने होइनन् । उनलाई प्रायोजन गर्नेले पनि नेपालमा स्पेस पाउँदै गएको अर्थमा सहमति सम्भव भएको हो । इण्डो–प्रशान्त क्षेत्रीय रणनीतिलाई नेपालमा स्थापित गर्न सिकेको सहमति आवश्यक थियो । जसरी विम्स्टेक सम्मेलनपछि पुणेमा हुने भनिएको संयुक्त सैनिक अभ्यासमा नजाने निर्णय गर्नासाथ चीनले नेपाललाई रोजी नाका पुरस्कारस्वरुप दिएको थियो । कुनै दिन नेपाल यो रणनीतिको साझेदार बन्न पुग्यो भने यो परिघटनाको पटाक्षेप हुनेछ । यदि साझेदार बनेन भने अर्को सिकेको जन्म हुनेछ ।