गृहमन्त्री अष्ट्रिया प्रस्थान

गृहमन्त्री अष्ट्रिया प्रस्थान


काठमाडौँ, २८ फागुन । गृहमन्त्री रामबहादुर थापा छ दिने भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान गरेका छन् ।

 मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी) को ६२ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन ।

उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागूऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गनिर्देशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागू औषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
 

यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।