नेप्सेमा हरियाली छायो, निरन्तर बढ्नुको कारण यस्तो !

नेप्सेमा हरियाली छायो, निरन्तर बढ्नुको कारण यस्तो !

काठमाडौं । पुँजी बजारमा हरियाली छाएको छ । नेप्से सूचकसँगै कारोबार रकममा समेत सुधार आएको छ । आजको सुधारसँगै लगानीकर्ताले  निरन्तर ओरालो लागेको बजारमा थोरै भएपनि राहत महसुस गरेका छन्। निरन्तरको बजार घटाईले राम्रा कम्पनीहरुको बजारभाउ समेत निक्कै तल आएकोले शेयरबजारमा सुधार आएको हो । सम्बद्ध निकायबाट सुधारको पहल हुनु, ब्याजदर नियन्त्रणमा आउनु र विग मर्जरको बजारमा हल्ला चल्नु पनि आजको बजार बढ्नुको कारण हो । 
 
नेप्से सूचक सोमबार १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १.२६ प्रतिशतले बढेको छ । १७१ कम्पनीको ४० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । १३ लाख ४७ हजार ४८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।  ११ वटा समूहको सेयर कारोबार भएकामा अन्य बाहेक बाँकी सबै समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ७९.७२ अंकले बढेको छ । बैंकिङ समूहमा पनि १७.१८ अंकको तेजी आएको छ । 
 
कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको २ करोड ८९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया र प्रभु बैंक परेका छन् ।