भेनेजुएलामा आक्रमण : सार्वभौम अधिकारमाथिको हस्तक्षेप

 

सार्वभौमसत्ता सम्पन्न देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अमेरिकी गुरुयोजनाको अर्काे पछिल्लो शृङ्खला हो भेनेजुएलाको अवैध सत्ता कब्जा ।
ल्याटिन अमेरिकाका आफ्ना पिछलग्गु शासकलाई साथ लिएर अमेरिकाले आफ्नो स्वार्थकेन्द्रित शासन पद्धतिलाई निर्यात गर्ने गरी भेनेजुएलामा नयाँ आतङ्कको खेती गरेको छ । दमनकारी फासिवादी तानाशाही सत्तालाई कायम गर्न हत्या, अपहरण, तोडफोडको क्रियाकलाप सञ्चालन गर्नु त अमेरिकाका लागि सामान्य हो । विभिन्न देशमा उसले यस्ता कार्य गर्न उकासिरहेको हुन्छ । पछिल्लो शिकार भेनेजुएला भएको छ ।  

अमेरिकाले भन्ने गरेकै जनताबाट निर्वाचित लोकतान्त्रिक सरकारलाई तानाशाह, निरङ्कुश, स्वेच्छाचारी पदावली अमेरिकी र उसका निकट मिडियाले प्रयोग गरेर सत्यतथ्यबाट विमुख हुँदै त्यसको विरोधमा विश्वव्यापी अभियान नै चलाएका छन् । 
ह्युगो चाभेज नेतृत्वको भेनेजुएलाको एकीकृत समाजवादी पार्टी र वर्तमानमा मदुरो नेतृत्वको एकीकृत समाजवादी पार्टीले त्यहाँका जनताको पक्षमा सकारात्मक काम गरेको विषय उनीहरु उल्लेख गर्न चाहँदैनन् ।

चरम गरीवीमा रहेका जनताको जीवनस्तर माथि उठाइएको छ । सन् १९९९ मा चार हजार एक सय पाँच अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय सन् २०१७ मा १२ हजार पाँच सय अमेरिकी डलरमा पुगेको थियो । साक्षरता दर ९१ प्रतिशतबाट ९७ प्रतिशत पुगेको छ । गजब त के छ भने तेलको मूल्यमा आएको गिरावट र विदेशीको संरक्षण पाएका विपक्षीको विध्वंशका बाबजुद पनि यो भेनेजुएलाले यो स्तरको प्रगति हासिल गरेको थियो ।

भेनेजुएलाका उच्च मध्यम वर्ग र कुलीन घरानाले यही देखिनसहेका हुन् । उनीहरुले समाजवादी नीति लागू गर्ने चाभेज र उनका पक्षधरलाई यसै कारण लखेट्न खोजेका हुन् । त्यहाँको समाजवादले तेलको राजस्वबाट प्राप्त आम्दानी सार्वजनिक जीवनमा वितरण गर्ने गरेको छ । त्यो पहिला हुँदैन थियो । भेनेजुएला विश्वमै सर्वाधिक तेल भण्डार रहेको देश हो ।   

विदेशी इशारामा उच्च मध्यम र कुलीन वर्गले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेका अस्पताललाई निजीकरण गर्न खोजेका छन् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा व्यापार गर्न खोजिरहेका छन् । 

सन् २०१६ देखि २०१८ सम्म भेनेजुएलाका प्रतिपक्षी र सत्तापक्षका बीचमा एक सय पटकभन्दा बढी वार्ता भयो । उनीहरुबीचमा समयपूर्व राष्ट्रपति निर्वाचन गराउने सहमतिमा वार्ता टुङ्गियो । अमेरिकाका विदेशमन्त्री रेक्स टिलेर्सनले भेनेजुएलाका पूर्व राष्ट्रियसभाका अध्यक्ष जुलियो बोर्गेसलाई त्यहाँका प्रतिपक्षलाई सो सम्झौतामा हस्ताक्षर नगर्न भन्न टेलिफोन गरेका थिए । 

प्रतिपक्षीलाई चुनावमा भाग नलिन अमेरिकाले किन भन्यो ? यो स्पष्ट छ, यदि उसले निर्वाचन लडेको भए हार्ने थियो । फेरि पनि प्रतिपक्षमा रहेका केही समूहले निर्वाचनमा भाग लिए । त्यो निर्वाचनमा मदुरोले जिते ।

अमेरिकाले विशेषगरी तेल भण्डार भएका देशमा किचलो मच्चाएर त्यहाँको तेल कब्जा गर्ने रणनीति लिंदै आएको छ । यसका लागि उसले देशभित्रकै राष्ट्रघातीलाई उपयोग गर्छ । उसले देशको सम्पत्ति बाहिर लैजानका लागि यस्ता खेल खेल्छ । आमजनताको हित विपरीत केही माफिया, कुलीनको हितमा अमेरिकाले तिनलाई सहयोग गर्ने गर्छ ।    

गत मे २० मा भेनेजुएलामा सम्पन्न निर्वाचनमा प्रतिपक्षीले सहभागिता नजनाएको भन्नु झुट्टो प्रचारमात्र हो । अझ मतदान प्रक्रियामा धाँधली भएको भन्नु आश्चर्यलाग्दो हो । विद्युतीय उपकरणबाट भएको मतदानमा धाँधली भयो भन्नु हार्ने गोरुको छेरुवा दाउ भनेजस्तै हो ।   

अमेरिकी समर्थन र योजनामा विपक्षी नेताले अहिले आफूलाई राष्ट्रपति भएको घोषणा गरेका छन् । अमेरिकी र उसका पिछलग्गू शासकले यो पनि बुझ्नु पर्छ कि जनताले गरेको मतदानबाट निर्वाचित राष्ट्रपति हुन्छ कि विदेशीको समर्थन र स्वार्थमा स्वघोषित व्यक्ति राष्ट्रपति हुन्छ ? पछिल्लो घटनाक्रमपछि अमेरिका र उसका पिछलग्गुको स्वार्थमा भेनेजुएला र त्यहाँका जनता यतिबेला पिल्सिएका छन् ।
 
भेनेजुएला सङ्कटको निहुँ

जब मदुरो सत्तामा आए उनले रुसबाट टियु–१६० बमवर्षक रणनीतिक जहाज किने । त्यहीँदेखि अमेरिका मदुरोसँग विच्किएको हो । रुसबाट खरीद गरिएको यो जहाजमा परमाणु अस्त्रसमेत राख्ने क्षमता भएको एयरक्राफ्ट पनि बनाइएको थियो । यो जहाज भेनेजुएलाको राजधानी काराकासमा उत्रिएपछि अमेरिकाले रुसको आलोचना गरेको थियो । रसियन हतियार भेनेजुएलामा उत्रिनासाथ पेण्टागनले विरोध जनायो । तर, एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकले जुनसुकै देशबाट हतियार किन्न स्वतन्त्र भएको भन्दै क्रेमलिनले अमेरिकी धारणालाई खारेज गरिदियो । भेनेजुएलाले आफ्नो सार्वभौमसत्ता प्रयोग गर्दा अमेरिकाले थोपरेको निहुँ यही हो ।

संसारकै सबैभन्दा बढी तेलको परिमाण भएको देशको स्रोत कब्जा गर्न भेनेजुएलामा उसले थोपरेको कथित गढबढी हो । तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकसम्बद्ध देशहरु इरान, इराक, कुवेत, सउदी अरेविया र भेनेजुएला हुन् । इरान र भेनेजुएलाबाहेक ओपेकमा अमेरिकाको कब्जा यसअघि नै भइसकेको हो । तर इरान र भेनेजुएलाले अमेरिकालाई ढिम्किन नदिएपछि भेनेजुएलामा पछिल्लो घटनाक्रम विकसित भएकोमा दुई मत छैन ।

दैनिक १ मिलियन ब्यारेल तेल उत्पादन गर्ने देशमाथि उसको आँखा लागिरहेको थियो । तर तेलको भाउमा आएको गिरावटका कारण भेनेजुएलाले व्यहोरिरहेको आर्थिक सङ्कटसँगै अमेरिकाले आक्रमण साँधेको हो । सन् १९९९ देखि २०१३ सम्मको ह्युगो चाभेजको शासन काललाई भेनेजुएलाको इतिहासमा स्वर्ण युग भन्न पश्चिमाहरु समेत बाध्य छन् । भेनेजुएलाको साक्षरता दर हेर्दा पनि त्यहाँको विकास र समृद्धिको मापन गर्न सकिन्छ । पछिल्लो पटक चीन र भारतलाई भेनेजुएलाले तेल विक्री गर्ने निर्णय गर्नासाथ अमेरिका अत्तालिएको हो । चीनलाई घेर्ने र भारतलाई हेर्ने तथा एसियाको भावी विकास र समृद्धिसँग आतङ्कित अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्नु अन्यथा अर्थमा लिनु बेकार छ ।  एजेन्सीको सहयोगमा