चौतर्फी दवावमा देउवा

चौतर्फी दवावमा देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको गत बिहीबारदेखि जारी केन्द्रीय समितिको बैठक सभापति शेरबहादुर देउवाका लागि निकै सकसपूर्ण बनेको छ । एकातिर सरकार सर्वसत्तावाद र अधिनयकबादतर्फ लम्केको भन्दै आन्दोलनमा उत्रन सभापति देउवामाथि दबाव सुरु भएको छ भने अर्कातिर पार्टीको आन्तरिक संगठन कमजोर भएको भन्दै सुदृढीकरणका लागि  दबाव बढेको छ ।

मुलतः केन्द्रीय समितिको आसन्न बैठक पार्टीका सांगठानिक संरचनालाई पूर्णता दिने प्रयोजनका लागि बोलाइएको हो । महासमितिको गत पुस ८ गते सम्पन्न महासमितिको बैठकले संशोधन गरेको विधानको संक्रमणकालीन व्यवस्था अनुसार नेपाली कांग्रेसले तत्काल प्रदेश समिति,   प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, पालिका कार्यसमिति तथा वडा कार्यसमिति गठन गर्नु पर्ने छ । तर, यही बेला डा. गोविन्द केसी प्रकरण लगायतका केही काण्ड सुरु भएकाले आन्दोलनमा होमिनुपर्ने वाध्यतामा नेपाली कांग्रेस पुगेको छ ।

भ्रातृ संगठनहरुलाई नेपाली कांग्रेसले आन्दोलनमा होमिसकेको छ भने आफै आन्दोलन कहिलेदेखि आरम्भ गर्ने ? त्यसको गृहकार्यमा जुटिरहेको छ । तर, आन्दोलन अघि बढाउनका लागि पार्टीलाई एक ढिक्का बनाउनु जरुरी छ । आन्दोलन सफल भएन भने आफूले ठूलो मूल्य चुकाउनु पर्ने सभापति देउवाले बुझेका छन् । तर, पार्टीलाई एक ढिक्का बनाउन  सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एकै ठाउँमा उभिएर वा त्यसमा कृष्णप्रसाद सिटौला तथा कोइराला परिवारको सहयोग लिएर मात्रै पुग्ने अवस्था छैन भन्ने कुरा पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।

माघ ८ गते मंगलबार मात्रै  वरिष्ठ नेता पौडेलको गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको संगठन फुटेर विशेष महाधिबेशनद्वारा समानान्तर जिल्ला कार्य समिति निर्माण गरिएको छ । यो विभाजन रोक्न आफ्नो बुताले नभेटेपछि वरिष्ठ नेता पौडेल गुहार माग्दै सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेका थिए ।  पौडेलको आग्रह अनुसार माघ ६ गते सभापति देउवा आफै तनहुँको दमौली पुगे तर उनले  जिल्ला संगठन विभाजन हुन नदिन गरेको भरमग्दुर प्रयास सफल हुन सकेन ।

विशेष जिल्ला अधिबेशनले डिल्लीराम अधिकारीको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिकारी तत्कालीन निर्वाचन क्षेत्र नं ३ का पूर्व सभापति हुन् । यसैगरी चिनु पोखरेल सचिव निर्वाचित भएकी छिन् । उनी नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । पूर्व महासमिति सदस्य बालकृष्ण पौडेल कोषध्यक्ष निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा ध्रुवकुमार श्रेष्ठ,  सुकुमलाल गुरुङ, नुरचन्द्र वाग्ले, नरेन्द्र थापा लगायतका नेताहरु निर्वाचित भएका छन् । जिल्ला कमिटी सर्वसम्मत रुपमा गठन भएको हो ।

विशेष जिल्ला अधिबेशनमा पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, पूर्व सांसद पार्वती (उर्मिला) थापा, शहीद पत्नी बालकुमारी लोहनी, जिल्ला कार्य समितिका पूर्व सचिव परशुराम गिरी, नेपाल बार एशोसिएसन तथा  नेपाल प्रेस युनियनका पूर्व जिल्ला अध्यक्ष ऋषिराम पोखरेल, नेपाल रेडक्रस जिल्ला अध्यक्ष कृष्णहरि वाग्ले, नेपाल शिक्षक संघका अध्यक्ष कमल पोखरेल, वीपी विचार समाजका अध्यक्ष हरिशरण वाग्ले, क्षेत्र नं १ का पूर्व सभापति परमेश्वर भट्टराई  लगायतको सहभागिता थियो ।

सभापति देउवाले जिल्ला कार्यलयमै करिव तीन घण्टा बसेर  कार्यकर्ताहरुसँग छलफल गरेका थिए ।  देउवाले गरेको यो पहल पछि केही नेताहरु भने विशेष अधिबेशनमा जानबाट रोकिए । समाचार स्रोतका अनुसार शुक्लगण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, भानू नगरिपालिकाका मेयर उदयराज गौली, आँबु खैरेनी गाउँपालिकाकी उपमेयर पूष्पा श्रेष्ठ (अधिकारी) लगायत स्थानीय तहका करिव दुई दर्जन जनप्रतिनिधिहरु भने सभापति देउवाले गरेको पहलपछि विशेष अधिबेशनमा सहभागी भएनन् । तर, उनीहरुको पनि भित्री समर्थन समानान्तर जिल्ला समितिलाई भएको समाचार स्रोतले जनाएको छ । 

यो समस्यालाई  तत्काल समाधान गर्न नसके आगामी निर्वाचनमा पनि नेपाली कांग्रेसलाई तनहुँ जिल्लामा निकै ठूलो क्षति पुग्ने विश्लेषण गरिएको छ । उता सभापति देउवाको गृह जिल्ला डडेलधुरामा समेत समस्या देखिएको छ । डडेलधुरा जिल्ला सभापति कर्ण मल्ल देउवाविरुद्ध हाकाहाकी प्रकट हुन थालेका छन् ।

यसैगरी नेपाली कांग्रेसका करिव दुई दर्जन युवा नेताहरुले शुद्धीकरण अभियानका नाममा पार्टी सभापति शेरबहादुर देउवालाई दबावमुलक ज्ञापन पत्र दिएका छन् । उनीहरुले घुमाउरो भाषामा सभापति देउवाको बहिर्गमनको माग गरेका छन् ।

गत १० गतेदेखि जारी केन्द्रीय समितिको बैठकमा उनीहरुले दिएको ज्ञापनपत्रमा भनिएको छ– ‘संसारभर नै उच्च नैतिक चरित्र भएको नेतृत्वले मात्रै लोकान्त्रिक मूल्यको रक्षा गरेको स्मरण गराउँदै जवाफदेही, नैतिकवान, त्यागी र भरोसायोग्य नेतृत्व निर्माणका लागि पार्टीको जिम्मेवार निकायलाई सजग गराउँछौं ।’

विमल संग्रौला संयोजक रहेको शुद्धीकरण अभियानमा विनोद कायस्थ, विष्णु पन्थी, विनोदकुमार केसी, नारायण भट्टराई, प्रदीपराज शर्मा, टेकराज पौडेल, वीरेन्द्रकुमार शर्मा, जगतप्रकाश जोशी, जनकराज  गिरी, रमेश महत, रामपल्टन शाह, कल्प पौडेल,  नवीन प्रसाईं, मिथिलेश मिश्र, यदुकुमार विष्ट, इन्दिरा तिवारी, इर्शाद अन्सरी, हरि आचार्य, जनार्दन अधिकारी, जीत शेरचन, मोहन ज्ञावली, प्रा डा धनेश्वर नेपाल, राम रोकाय लगायतका युवा नेताहरु संगठित भएका छन् । यी सबै संभावना बोकेका जुझारु युवा नेता हुन् ।

ज्ञापनपत्रमा उनीहरुले पार्टीमा योगदान पु¥याएका योग्य, इमान्दार, निष्ठावान कार्यकर्ताको उचित मूल्यांकन गरी  रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने,   लोभलालच, अवसरवाद र विलासितालाई निरुत्साहित गर्नुपर्ने, लोकप्रिय र जवाफदेही नेतृत्वका लागि सैद्धान्तिक, व्यावहारिक र संगठनिक प्रशिक्षण दिनु पर्ने, नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन र उपलव्धिहरुको व्यापक प्रचारप्रसार गरी पुनर्जागरणको अभियान सुरु गर्नुपर्ने  माग गरेका छन् ।   – समयबद्धबाट