newsone

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

newstwo डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

 

त्रिपुराकोट । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । 

आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । 

अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १ गतेदेखिनै पाटन प्रवेशका लागि खुला गरिने निर्णय भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । 

यार्सागुम्बा पाटन संकलन इजाजत पत्र वितरणका लागि निकुञ्ज र सम्बन्धित मध्यवर्ती क्षेत्रका कर्मचारीलाई विभिन्न नाकामा पठाउने तयारी भइरहेको समेत चौधरीले जानकारी दिनुभयो । 

यार्सागुम्बा संकलनका लागि तीन प्रकारका संकलन इजाजत पत्र वितरण गरिने भएकाले मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि रु दुई हजार ५०० र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार ५०० रकम तिर्नुपर्ने निकुञ्जले जनाएको छ । 

डोल्पामा रहेका यार्सागुम्बा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्नका लागि रुकुम, जाजरकोट, सल्यानलगायतका विभिन्न जिल्लाबाट वर्षेनि दशौँ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन् । 

यार्सागुम्बा पाटन खुला गरिएको एक महिने अवधिका लागि मात्रै प्रवेश संकलन इजाजत पत्र वितरण गरिनेसमेत निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रहँदै आएको छ । रासस

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive