newsone

को बन्ला एनआरएनए अध्यक्ष ?

newstwo को बन्ला एनआरएनए अध्यक्ष ?

काठमाडौं । आगामी दिनमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनमा अध्यक्ष पदमा भवन भट्ट र जमुना घले भिड्ने सम्भावना रहेको छ । यसअघि भवन भट्ट र कुमार पन्तको बीचमा प्रतिस्पर्धा हुने भन्ने चर्चा एकाएक बदलिएको छ । 
 
 अध्यक्ष पदमा भट्ट र कुमार पन्त उठ्ने चर्चा भए पनि त्यो सम्भावना टरेको छ । चर्चामा नआएकी घले उठ्ने सम्भावना बढेपछि पन्तले भट्टलाई समर्थन दिने चर्चा छ । 

जमुना घले आफ्नो उम्मेदवारीको बारेमा मतदाताको मन छाम्दै आज बुधवार दुबई आइपुग्दै छिन । यसअघि उनी क्यानडा पुगेकी थिइन । मतदाताको मन छामेपछि काठमाडौंमा आएर विभिन्न नेताहरुलाई भेटेर उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनी निकट स्रोतले बतायो ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको आगामी कार्यकाल ९२०१७—२०१९० का सर्वसम्मत हुने सम्भावना झिनो पनि नभएको एक पदाधिकारीले जनाए । 

शेष घलेको योजनाबद्ध चाल

धेरै अगाडिदेखि नै शेष घले आफ्नो रणनीतिमा प्रष्ट थिए। घलेले पहिलेदेखि नै चर्चामा रहेका भट्ट र पन्त दुवैका बारेमा औपचारिक रुपमा केही बोलेका थिएनन् । दुवै जनाले घलेको समर्थन पाइने विश्वास लिएका थिए ।  उनी पर्ख र हेरको अवस्थामा रहेको कतिपयले अनुमान गरेका थिए । केही एनसीसीको चुनावमा समेत उनले विशेष तरिकाको भूमिका निर्वाह गरेका थिए । जुन किन भइरहेको छ सार्वजनिक हुन सकेको थिएन । उनको भित्री योजना भट्ट र पन्तलाई भिडाएर श्रीमती जमुना घलेलाई अध्यक्षमा ल्याउने रहस्य खुलेको छ । 

गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशन आउन झण्डै एक महिना पनि बाँकी छैन् । अक्टोबर १४ देखि १७ तारेखमा काठमाडौंमा हुने विश्व सम्मेलन तथा महाधिवेशनको तयारी पनि शुरु भएको छ । केही महिनाअघि नै एनआरएनए आइसीसीले निर्वाचन समिति समेत गठन गरिसकेको छ । शिव रिजालको संयोजकत्वको समितिले अहिले काम गरिरहेको छ । तर, निर्वाचन कार्यतालिका भने अहिलेसम्म टुंगो लाग्न सकेको छैन् । विश्व सम्मेलन पहिले कि महाधिवेशन भन्ने कुराको पनि निष्कर्ष निस्केको छैन् । यसअघि भने महाधिवेशनपछि मात्र विश्व सम्मेलन भएको थियो । 

औपचारिक रुपमा केही सार्वजनिक नभए पनि एआरएनएका शीर्ष नेताहरु नयाँ नेतृत्वको विषयमा छलफल गर्न थालेका छन्  । भवन भट्टले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन भने कुमार पन्तले उम्मेदवारी दिनबाट पछि हट्ने संकेत देखाएका छन् । जमुना घलेको सम्भावित उम्मेदवारीको विरुद्ध भट्ट र पन्तले मोर्चा कस्ने संकेत देखिएको छ । 

जमुना उठने सम्भावना बढ्यो

औपचारिक रुपमा शेष घले पत्नी जमुनाले अहिलेसम्म अध्यक्षको दावेदारी प्रस्तुत गरेकी छैनन् । उनले पत्रकारहरुसँग पनि औपचारिक रुपमा नेतृत्वका लागि नलागेको बताउने गरेकी छिन् । तर, वर्तमान अध्यक्ष घलेका केही क्रियाकलाप र उनी निकट एनआरएनए नेताका भनाइले जमुना एनआरएनएको अध्यक्षको दौडमा छिन् भन्ने कुरा बुझ्न सजिलो हुन्छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिहरुमा घले आफैले आफू पक्षीयलाई लविङ्ग गरेका छन् । 

खासगरी सबैभन्दा धेरै सदस्य भएका अमेरिका, अष्टे«लिया, बेलायत र जापानमा उनले आफू पक्षीय नेतालाई जिताउनका लागि लविङ्ग गरेका छन् । एनआरएनए एनसीसी बेलायतमा उनले गुरुङ्ग र मगर समुदाय मिलाउनका लागि निर्देशन नै दिएको चर्चा छ । अमेरिका र अष्ट्रेलियमा पनि उनकै निर्देशन मान्नेहरु नेतृत्वमा आएका छन् । जापानमा पनि उनले आफ्नो प्रभावमा नेतृत्वका लागि पहल गरेको स्रोतको दावी छ  । 

संघका संस्थापकहरुले समेत नेतृत्व श्रीमती जमुनालाई सुम्पन घले लागिपरेको बुझेका छन् । संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायत अहिलेका अधिकांस पदाधिकारीले जमुनालाई अगाडि सार्न खोजेको भन्दै भित्रभित्रै मोर्चाबन्दी शुरु गरेका छन् । अध्यक्ष घलेले भिजन ट्वान्टी ट्वान्टी डकुमेन्ट ल्याएर अध्यक्ष बलियो बनाउने अभियान थालेका छन् । जमुनालाई अध्यक्ष बनाउनका लागि भिजन ट्वान्टी ट्वान्टी ल्याइएको भन्दै एनआरएनएको यूरोप बैठकमा पूर्व अध्यक्षसहितले त्यसको बिरोध गरेका थिए । सबैजसो औपचारिक कार्यक्रममा घलेले एनआरएनए भवन निर्माण सम्पन्न नभएको र लाप्राक बस्तीको निर्माण नभएको बताउँदा पनि पूर्व अध्यक्षसहितको टोलीलाई अबको नेतृत्वमा जमुना आउने भय छ । उनी नेतृत्वमा आएको अवस्थामा अरु कसैको पनि भूमिका हुने छैन् र उनले दुई कार्यकाल एनआरएनएको नेतृत्व गर्नेछिन् । त्यतिमात्र होइन काठमाडौंमा झण्डै ८ अर्बको लागतमा निर्माणाधीन होटल परियोजना लगायतका व्यक्तिगत कामका लागि पनि नेतृत्वमा रहिरहनुपर्ने उनले बुझेका छन् ।  

एनआरएनएका गतिविधिमा हिडेन भूमिका निर्वाह गर्ने जमुनाले पछिल्ला केही काममा अगाडि नै देखिएर काम गरिरहेकी छिन् । लाप्राक बस्ती निर्माण तथा एनआरएनए भवन निर्माण लगायतका कुराको उनले सार्वजनिक गरेरै नेतृत्व लिएकी छिन् । 

त्यसो त घले दम्पतीले एकआपसमा मिलेरै काम गर्ने गरेका छन् । पछिल्लो समय उनले सञ्चार माध्यममा पनि स्थान पाउन थालेकी छिन् । एक सञ्चार माध्यमसँगको कुराकानीमा उनले एनआरएनएको नेतृत्व बलियो हुनुपर्ने संकेत गरेकी छिन् । उनले भनेकी छिन् ‘कमर्सियल भेन्चर भएको भए हामीले उहिल्यै हात निकालेर निस्किसक्थ्यौं । तर, यो सोसियल भेन्चरमा त्यो गर्न नमिल्ने रहेछ । यसमा त डु अर डाइ हुँदो रहेछ ।’ 

उनको यो संकेत आगामी नेतृत्वप्रति केन्द्रित रहेको छ । त्यसैले गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अध्यक्षको उम्मेदवार जमुना बन्ने बलियो सम्भावना छ । यदि अध्यक्ष नहुने अवस्थामा वर्तमान अध्यक्ष घलेले आफू अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउने र जमुनालाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । 

भवन भट्ट र कुमार पन्तको भूमिका के हुन्छ ?

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अध्यक्षका लागि झण्डै एकवर्षदेखि लविङ्ग गर्दै आएका वर्तमान उपाध्यक्षद्वय भट्ट र पन्त जसरी हुन्छ आफू नेतृत्वमा पुग्ने प्रयासमा छन् । एक वर्षदेखि विभिन्न देशमा पुगेर उनीहरुले आफूलाई अध्यक्षको दरिलो उम्मेदवारका रुपमा प्रचार गरिरहेका छन् । दुवैले आआफ्नो समूह जस्तै बनाएर अध्यक्ष बन्ने दरिलो प्रयास गरिरहेका छन् । तर, पछिल्ला दिनमा भने उनीहरु दुवै जना त्यति उत्साही हुन सकेका छैनन् । जमुना घले अध्यक्ष बन्ने सम्भावनाले पहिले बोलचाल समेत खासै नहुने दुवै जनालाई एक ठाउँमा ल्याएको छ । उनीहरुले हङकङ भ्रमणमा नयाँ सहमति समेत गरेको एक सल्लाहकारले जानकारी दिएका छन् ।

आगामी अध्यक्षका लागि घलेले भट्टलाई साथ दिएर प्रचार गर्न भन्ने र जमुनाले कुमारलाई तयारीमा जुट्न भन्ने गरेका थिए । सम्भवतः शेष र जमुनाबीच मतभेद देखिएको यो नै पहिलो विषय हो । हरेक कुराहरु उनी दुईबीच छलफलका आधारमा हुने गरेको छ । त्यसैले यो विषयलाई भट्ट र पन्त दुवैले बुझेका छन् । आगामी दिनमा समेत नेतृत्वमा आउन गाह्रो हुने अवस्थामा यी दुईले अहिले भट्ट अध्यक्ष र पन्त उपाध्यक्ष बन्ने सहमति गरेका छन् । अर्को पटक भट्टले पन्तलाई अध्यक्ष बनाउने गरी पूर्व अध्यक्ष जीवा लामिछानेको पहलमा सहमति भएको स्रोतको दावी छ । तर, दोस्रो र तेस्रो तहको नेतृत्व मिलाउन भने समस्या परेको छ । जमुनालाई अध्यक्ष बन्नबाट रोक्नका लागि पूर्व अध्यक्ष लगायत वर्तमान कार्यसमितिका अधिकांस पदाधिकारी लागि परेका छन । 

एनआरएनएमा चुनाव जित्ने फ्याक्टर 

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनको विषयमा झन्झन् जटिल बन्दै गएको छ । पहिले पहिले नेतृत्वमा बस्न नमान्नेहरु अहिले लुछाचुँडीको अवस्थामा पुगेका छन् । 

एनआरएनएको नेतृत्व चयनका लागि विभिन्न फ्याक्टरले काम गर्छ । तीमध्ये तीन वटा फ्याक्टर निकै महत्वपूर्ण छन् । सबैभन्दा बलियो फ्याक्टर चुनाव जित्का लागि पैसा हो । मतदातालाई काठमाडौं ल्याउनुपर्ने, रजिष्टेशन शुल्क आफैंले दिनुपर्ने र कतिपयलाई गाँसबासको समेत व्यवस्था गर्नुपर्ने अवस्था उम्मेदवारलाई बाध्यता पर्ने गरेको छ । अझै कतिपय देशमा त एनसीसी चुनावका लागि समेत केन्द्रीय अध्यक्षका आकांक्षीले खर्च दिनुपर्ने अवस्था आएको छ । यी सबै कामका लागि करोडौं रकम खर्च गर्नुपर्ने अवस्था छ । त्यसैले पैसा खर्च गर्ने अवस्थाले पनि एनआरएनए नेतृत्व चयनमा कुनै न कुनै प्रभाव पार्ने छ । नेपालका राजनीतिक दलले समर्थनका लागि कसले कसरी सहयोग गर्नसक्ने भन्ने कुरालाई आधार बनाउने गरेका छन । 

अर्को फ्याक्टरको कुरा गर्दा गैरआवासीय नेपाली संघ एनआरएनएभित्र पछिल्लो समय राजनीति भित्रिएको छ । बर्मा गए कर्मसँगै भनेझै हरेक देशमा नेपालका मुख्य राजनीतिक दलका संगठन रहेका छन् । हरेक सदस्य कुनै न कुनै दलमा आवद्ध छन् । यस्तो अवस्थामा राजनीतिक दलको समर्थनले नेतृत्व चयनमा ठूलो अर्थ राख्नेछ । स्वदेशमा जस्तै विदेशमा पनि सबैभन्दा ठूलो संगठनको रुपमा नेपाली काँग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्रको प्रभाव छ  । 

राजनीतिसँगै एनआरएनएको चुनावका लागि पछिल्लो समय जातीय फ्याक्टर पनि महत्वपूर्ण भएको छ । एनआरएनए बेलायत लगायत यूरोपका विभिन्न देशमा देखिएको जातीय प्रतिस्पर्धाले एनआरएनभित्र जातीय फ्याक्टरले चुनावमा जीत हारको टुंगो लाग्ने देखिन्छ । अहिलेका चर्चामा रहेका तीन उम्मेदवारमध्ये जनजातिको अधिकांस भोट जमुनाको पक्षमा जानेछ । यसले उनलाई जीतका लागि सजिलो बनाउने छ भने जातीय फ्याक्टरमा समेत भट्ट र पन्त दुवै कमजोर देखिएका छन् । एनआरएनका पूर्व अध्यक्ष देवमान हिराचन, संरक्षक दिल गुरुङ्ग, अमेरिकाका संयोजक सोनम लामा लगायतले खुलेरै घलेको पक्षमा अभियानै चलाउने छन् । त्यस्तै भट्ट वा पन्तको पक्षमा भने पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने लगायत अहिलेका समितिमा रहेका अधिकांस पदाधिकारी हुनेछन । भट्ट र पन्त मिल्दा समिकरणमा फेरवदल हुनसक्छ । 

भट्ट र पन्तलाई टिम मिलाउन पनि समस्या 

अनौपचारिक रुपमा छलफल भइरहेको विषयले मुर्तरुप पाएमा भट्ट र पन्त मध्य दुवै जना मिलेर टिम बनाउने छन् । भट्ट अध्यक्ष र पन्त उपाध्यक्ष बनेको अवस्थामा पनि यो समूहमा लागेकालाई मिलाउन त्यति सजिलो देखिदैंन । अहिले पनि उपाध्यक्षमा खगेन्द्र जिसी, डाक्टर बद्री केसी, कूल आचार्य, त्रिलोक गुरुङ्ग लगायतले दावी गरेका छन् । जुन पन्त समूहका व्यक्ति हुन । अमेरिकाबाट सोनम लामा र अष्टे«लियाबाट रञ्जु थापा पनि उपाध्यक्ष बन्न लागि परेका छन् । महासचिवमा हिक्मत थापा, अर्जुन श्रेष्ठको दावी छ भने कोषाध्यक्षमा सपिला राजभण्डारीले दावी गरेकी छिन् । पदाधिकारीमा दावी गर्ने विभिन्न क्षेत्रबाट दर्जनौं छन् । यी सबैलाई मिलाएर थोरै पदमा लैजानका लागि भट्ट र पन्तलाई समस्या पर्नेछ । 

राजनीतिक हिसाबले हेर्दा पनि नेपाली काँग्रेसका तर्फबाट आधिकारिक व्यक्तिलाई पदाधिकारी उठाउनुपर्ने यी दुवै जनालाई बाध्यता हुनेछ । त्यसो गर्दा आफ्नो समूहमा भएका व्यक्ति घले खेमामा जाने सम्भावना पनि बलियो छ । 

पदाधिकारी दावी गर्ने पन्तसँगै बद्री केसी, अर्जुन श्रेष्ठ एमाले समर्थक हुन । नेकपा माओवादी निकट व्यक्तिलाई पनि पदाधिकारी नउठाउने अवस्थामा ती मत अर्को पक्षमा जाने देखिन्छ । तटस्थ व्यक्तिहरुले पनि विभिन्न पदमा दावी गरिरहेका छन् । उनीहरुलाई समेत मिलाएर जाँदा भुँइको टिप्न खोज्दा पोल्टाको पनि पोखियो भन्ने उखान पन्त र भट्टले सम्झिनेछन । 

एनआरएनए विगत र वर्तमान 

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन बाहेकका मुलुकमा रहेका नेपाली मुलका विदेशी नागरिक र विभिन्न कारणले गएका नेपाली नागरिकको संस्थाका रुपमा गैरआवासीय नेपाली संघ एनआरएनको स्थापना भएको हो । सन् २००४ मा स्थापना भएको एनआरएनएको संजाल झण्डै ७६ देशमा पुगिसकेको छ । 

गैरआवासीय नेपाली संघ एनआरएन स्थापना ताका एक पटकको नेपाली सधैंको नेपाली नारा नेपालीहरुमा निकै लोकप्रिय थियो । अहिले यो नारा लगभग हराएको छ । 

एनआरएनएमा राजनीतिक अधिकारसहितको नेपाली नागरिकता प्राप्ति, नेपालमा  लगानी गर्न पाउनु पर्ने, एनआरएनए कार्ड जारी गर्नुपर्ने लगायतका विषयलाई मुख्य सैद्धान्तिक मुद्दा बनाइएको थियो । एकपछि अर्को गर्दै यी माग आंशिक पूरा भएका छन् । 

नेपालको संविधानले राजनीतिक अधिकारबिहीन नागरिकता अर्थात् गैरआवासीय नागरिकता पाउने बाटो खोलेको छ  । अहिले एनआरएनएका नेताहरुलाई मुख्य उद्देश्य के हो भनेर सोध्दा फरकफरक उत्तर दिन्छन । किनकि निश्चित तथा साझा उद्देश्य एनआरएनएले प्रष्ट पार्न सकेको छैन् । 

एनआरएनएभित्र अबको नीतिगत अवस्था कस्तो हुने भन्ने बहस आवश्यक भए पनि हुन सकेको छैन् । वुद्धि, विवेक र ज्ञान भन्दा धन भन्ने खालको सोचको चपेटामा समग्र संघ नै परेको छ ।  चुनावअघिदेखि नेताहरुको धेरै पैसा खर्च गराइदिने, विभिन्न ठाउँमा लगानी गर्न लगाएर आफूले फाइदा लिने जस्ता सोंचले व्यापकता पाएको छ । सामूहिक लगानी, सामूहिक भावनाभन्दा पनि व्यक्तिगत व्यावसायिक हितमा केन्द्रित रहने खालको समस्या निम्तिन थालेको छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive