newsone

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

newstwo तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

१५ भदौ , कञ्चनपुर । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गरे । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गरे । 

मजदुरी गरेर चौधरीले दैनिक रु २०० मात्रै कमाइ गर्थे। मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उनले व्यावसायिक तरकारीखेतीलाई अंगाल्नुभएको हो । “तरकारीखेती गरेर परिवार पाल्न सहज भएको छ,” उनले भने । 

थोरै जग्गा भएपछि उनले वार्षिक रु एक लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिनुभएको छ । तरकारीखेती गरेर उहाँले वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । 

बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आउनुभएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्नुहुन्छ । छजनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उनको भनाइ छ । 

पक्की घर निर्माणका लागि रु पाँच लाखभन्दा बढी रकम बैंकमा बचत गरेको चौधरीले बताए । “तरकारीखेतीकै रु एक लाख ६० रकम खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएर अतिरिक्त आम्दानी भएको छ”, उनले भने । 

यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । गरिबी निवारण कोषबाट पहिलो वर्ष रु तीस हजार तरकारीखेतीका लागि ऋण लिनुभएका चौधरीले रु दुई लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गरेका छन् । 

भूमि सुधार कार्यालयले पुनःस्थापन हँुदा उपलब्ध गराएको पाँच कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक रु १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उनले विस्तार गरेका हुन्। हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक रु दुई हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर रु एक हजार ५०० दैनिक कमाइ हुने गरेको छ । 

तरकारी बेचेको रकमले छजना परिवारको खर्च कटाएर वार्षिकरुपमा रु दुई लाख बैंकमा बचत गर्दै आएको उनले बताए। बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उनले बनाएका छन् । तरकारीखेतीमा संलग्न चौधरी बस्तीमै सबैभन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । बस्तीका प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । रासस 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive